उद्देश्यअनुसार सरकारले काम गर्न सकेन : नेतृृ संग्रौला



बुटवल ।

कांग्रेस नेतृ डा. डिला संग्रौलाले सरकारप्रति जनता सन्तुष्ट नभएको बताइन् । दुई ठूला पार्टीको सरकारले सोचे जस्तो काम नगरेपछि जनता असन्तुष्ट भएको उनको भनाइ छ । रिपोर्टस् क्लब नेपाल लुम्बिनी प्रदेशले बुटबलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै कांगे्रस केन्द्रीय सदस्य नेतृ संग्रौलाले भनिन्, ‘जुन उद्देश्यले सरकार गठन भएको थियो, त्यो अनुसार सरकारले काम गर्न सकेन ।’

सरकार असफल भएको बताउँदै उनले तत्काल संविधान संशोधनकोे प्रक्रिया अगाडि बढाउन सरकारलाई सुझाव दिइन् । कांग्रेसले सञ्चालन गरेको सयदिने अभियानको क्रममा जनतासँग पुग्दा जनताले विकासको अनुभुति नगरेको, सरकार सञ्चालनमा भएका नेताहरू अलमलमा परेको गुनासो जनताले गरेको उनले बताइन् ।

उनले वर्तमान सत्ता गठबन्धन सत्ताका लागि मात्र नभएर अस्थिरताको अन्त्यसँगै संविधान संशोधनका लागि बनेको उनको भनाइ छ । कांग्रेस र एमालेको सरकार बने पनि सोचेअनुसार कुनै काम नभएको भन्दै उनले सरकारको आालोचना गरिन् ।

पूर्वसांसदसमेत रहेकी नेतृ संग्रौलाले कांग्रेसको आगामी निर्वाचनमा पार्टीको नेतृत्वका लागि उत्तराधिकारी कसैको कोही नहुने बताउँदै भिजन र मिसन भएको व्यक्तिले पार्टीको नेतृत्व गर्ने तर्क गरिन् ।

सरकारको आलोचनात्मक टिप्पणी गरे पनि नेतृ संग्रौलाले सहमतिअनुसार सरकार चल्ने र चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने दाबी गरिन् । रिपोर्टस क्लब, लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महिला उपाध्यक्षमा निर्वाचित बुटवलकी मीना ढकाललाई सम्मान गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस ११ गते बिहीबार