राप्ती स्वास्थ्य विज्ञानमा सिकलसेलको छुट्टै वार्ड स्थापना



दाङ ।

थारू समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेलको उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना गरिएको छ । आइतबारबाट प्रतिष्ठानमा भर्ना हुनेका लागि १० बेड र दिवा उपचारका लागि ५ बेडसहितको वार्ड स्थापना गरिएको प्रतिष्ठानका उपकुलपति विकास लामिछानेले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत कात्तिक २० गते मन्त्रीस्तरीय निर्णय गर्दै भेरी अस्पताल नेपालगन्जमा बेग्लै वार्ड स्थापना गरेका थिए । यसलगत्तै थारू बहुल क्षेत्र दाङको घोराहीमा समेत सिकलसेल उपचारका लागि बेग्लै वार्ड स्थापना गरिएको हो ।

मन्त्री पौडेलले एक समुदायकै प्रमुख स्वास्थ्य समस्यासँग जुध्नका लागि आवश्यक सबै विकल्प अपनाइने बताएको एक महिनाकै बीचमा थप अर्को ठूलो सरकारी अस्पतालले वार्ड स्थापना गरेको हो ।

यससँगै थारू समुदायमा वंशाणुगत समस्याका रूपमा रहेको सिकलसेल उपचारका लागि उनीहरूको बसोबास रहेका प्रमुख दुवै क्षेत्रमा बेग्लै वार्डमार्फत उपचार सुरु भएको हो ।

मन्त्रालयका अनुसार सिकलसेलबाट समुदायका झन्डै १२ प्रतिशत नागरिक प्रभावित पाइएको छ । यसअघि दिउँसो मात्र उपचार गर्ने गरिएकोमा भर्नाका लागि पर्याप्त व्यवस्था गरिएकाले अब प्रतिष्ठानबाट उपचार सहज हुने उपकुलपति देवकोटाले जानकारी दिए ।

यस्तै मन्त्री पौडेलले सिकलसेलको औषधिसमेत निःशुल्क उपलब्ध गराउने गरी तयारी भइरहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

विपन्न समुदायका नागरिक धेरै प्रभावित भएको सिकलसेलका लागि औषधि नै उपलब्ध गराउने योजनाअन्र्तगत काम भइरहेको उनले बताएका थिए ।

हाल लाक्षणिक आधारमा सिकलसेलको उपचार हुँदै आइरहेको छ । औषधि वितरण गर्ने सरकारको योजनालाई समर्थन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत औषधि निःशुल्क हुने बताएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ मंसिर ३ गते सोमबार