दिव्य सहकारीको वार्षिक साधारण सभा सम्पन्न



कोहलपुर ।

केही बदनामी सञ्चालक र सहकारीका कारण समग्र सहकारीप्रति समाजले हेर्ने दृष्टिकोण फेरिएको सहकारी क्षेत्रका अगुवाहरूले बताएका छन् । कोहलपुर शनिबार दिव्य बहुउद्देश्यीय सहकारी संस्थाको १६औँ वार्षिक साधारण सभामा बोल्ने सहकारी अगुवाहरूले सो कुरा जोड दिएका हुन् ।

जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेमप्रसाद सुवेदीले अहिले पनि हाम्रो समाजमा राम्रा र उदाहरणीय सहकारी रहेको भन्दै केही सहकारीका कारण सबै बदनाम हुनुपरेको बताए । केही सहकारीको बदनामीले समग्र सहकारीप्रति नकारात्मक असर पारेको उनको भनाइ रहेको थियो ।

‘जुन संस्थामा व्यक्ति हावी हुन्छ त्यस संस्थामा बचत अपचलन हिनामिना र समस्या सिर्जना भएका छन्,’ उनले भने, ‘त्यसैले बचत गर्दा सहकारी संस्थाको समग्र कुराहरू बुझेर मात्रै सदस्य बन्ने र बचत गर्ने गर्नुहोस् ।’

साधारण सभामा मात्र नभई अन्य समयमा संस्थाको आर्थिक अवस्थाबारे सदस्य, बचतकर्ता र सेयर सदस्यहरूले बेलाबखत बुझ्ने गरे अझ प्रभावकारी रूपमा संस्था अघि बढ्ने उनको भनाइ थियो ।

दिव्य बहुउद्देश्यीय सहकारी संस्थाका इन्द्रमण्ी धितालले अनेकैं आरोह अवरोह पार गर्दै १६औँ वार्षिक साधारण सभा मनाउन सफल भएको बताए । आर्थिक विकासको मेरुदण्डको रूपमा सहकारी पनि एक खम्बाको रूपमा रहेको उनले जानकारी दिए ।

कोहलपुरमा रहेका अन्य सहकारी भन्दा दिव्य फरक र भिन्न रहेको उनले दाबी गरे । ‘हरेक दृष्टिकोणले हामी फरक छौँ,’ उनले भने, ‘त्यो काम गरेर पनि विश्वसनीयता कायम गरिसकेका छौँ ।’

साधारण सभाको अवसरमा सहकारीका सचिव शिवप्रसाद रेग्मीले प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । साथै उत्कृष्ट बचतकर्ता, सेयर सदस्य, ऋणी लगायतलाई सम्मान गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक ११ गते आइतबार