जिप दुर्घटनामा दुईको मृत्यु



दाङ ।

राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

जिपका चालक दाङको दंगीशरण गाउँपालिका–४ निवासी २२ वर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका–६ निवासी १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल ठकुरीले जानकारी दिए ।

सल्यानबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ज ८२२ नम्बरको बोलेरो जिप साततलेमा शनिबार बिहान सवा तीन बजेको समयमा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते सल्यान कपुरकोट गाउँपालिका वडा नं. ६ निवासी ३१ वर्षीय देवा ओली, उनका छोराहरू १३ वर्षीय महेश ओली र १० वर्षीय जीवन ओलीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको थियो ।

बोलेरो जिप सडकदेखि तीन सय मिटर तल खसेको तुलसीपुर प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै प्रहरी र स्थानीयहरू उद्दारमा खटिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक ११ गते आइतबार