कोहलपुर ।
कोहलपुर नगरपालिकाका कर्मचारीहरूले नगर शिक्षा शाखा प्रमुख रामबहादुर हमाललाई घेराउ गरिएको विषयलाई लिएर आपत्ति जनाएका छन् ।
कोहलपुर नगरपालिकास्थित एक विद्यालयकी छात्रामाथि आफ्नै शिक्षकद्वारा सामाजिक सञ्जालमार्फत यौनजन्य हिंसा गरेकाले उनीमाथि कारबाही गरिनुपर्ने माग गर्दै हालै युवाहरूको एक समूहले नगर शिक्षा शाखा प्रमुख हमाललाई घेराउ गरेको घेराउप्रति कर्मचारीहरूले आपत्ति जनाएका हुन् ।
शुक्रबार संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै नगरपालिकाका कर्मचारीहरूले कानुनी प्रक्रिया अबलम्बन नगरी सामाजिक सञ्जालमा आएको खबरकै भरमा कसैमाथि कारबाही गर्नुपर्ने धम्की दिँदै नगर शिक्षा शाखा प्रमुखमाथि दुव्र्यवहार तथा अपमानजनक व्यवहार गरिनु उपयुक्त नभएको जनाएका छन् ।
‘पत्रकारिताको मूल्य मान्यता विपरीत विभिन्न सञ्चार माध्यम तथा विद्यार्थी संगठनका नाममा शाखा प्रमुख रामबहादुर हमालप्रति गरिएको अमानवीय, अराजक र गैरकानुनी गतिविधिप्रति घोर भत्र्सना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
त्रिभुवन माविका एक शिक्षकले फोन तथा सामाजिक सञ्जालमा आफ्नै एक छात्राविरुद्ध यौन हिंसाजन्य व्यवहार गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा राखिएको स्क्रिन सर्टका आधारमा केही युवाहरूले नगर शिक्षा शाखा प्रमुख हमाललाई घेराउ गरेका थिए ।
उनीहरूले ती शिक्षकमाथि तत्काल कारबाही गर्न नगर शिक्षा शाखा प्रमुख हमाललाई दबाब दिएका थिए । यो भिडियो एउटा फेसबुक पेजमा प्रशारित भएको थियो ।
तर सो विषयमा कुनै कानुनी आधार नभएकाले सामाजिक सञ्जालको खबरकै भरमा आफूले केही पनि गर्न नसक्ने र आफूले यस विषयमा केही बोल्न नमिल्ने हमालले स्पष्ट पारेका थिए ।









प्रतिक्रिया दिनुहोस्