बाँसगढी नगरपालिका–७ डेउढास्थित भट्टराई कोल्डस्टोरमा राखिएको किसानको प्याज कुहिएर नष्ट भएको छ भने नकुहिएको प्याज पनि सबै उम्रिएको अवस्थामा पाइएको छ । दसैँअघि कोल्डस्टोरमा प्याज लिन पुगेका किसान सबै कुहिएको पाइएपछि बोराका बोरा प्याज त्यहीँ फालेर फर्किन बाध्य भएका थिए ।

सनत सापकोटा । बाँसगढी ।
बाँसगढी नगरपालिका–८ का दीपक थापाले गएको सिजनमा घरमै दुई क्विन्टलजति प्याज फलाए ।
त्यो प्याज घरमा लामो समय सुरक्षित राख्न कठिन हुने भएपछि उनले १२ सय रुपैयाँ तिरेर बाँसगढी नगरपालिका–७ स्थित भट्टराई कोल्डस्टोरमा लगेर राखे । दसैँ तिहारका बेला आफूले पनि उपयोेग गर्ने र बचेको प्याज बजारमा लगेर बेच्ने उनको सोच थियो । तर दसैँअघि प्याज लिन जाँदा उनी छाँगाबाट खसेजस्ता भए । कारण, कोल्डस्टोरमा राखेको प्याज प्रायः सबै कुहिएर नष्ट भएको थियो ।
कोल्डस्टोरमा राखेको चार बोरा (करिब २ क्विन्टल) प्याजमध्ये तीन बोरा प्याज कुहिएर पूर्णरूपमा नष्ट भएको उनले बताए । ‘दुई बोरा प्याज त त्यहीँ नै फालेर आएको हुँ,’ उनले मिसन टुडेसँग भने, ‘दुई बोरा घरमा ल्याएको थिएँ त्यसमा पनि एक बोरा कुहिएर काम लागेन । प्याज गन्हाउने भएर घरमै बसिनसक्नु भयो ।’ प्लास्टिकको बोरामा राखिएको एक बोरा प्याज भने उम्रे पनि जसोतसो उपयोगमा ल्याइएको उनको भनाइ छ ।
‘घरमा भन्दा कोल्डस्टोरमा सुरक्षित होला भनेर त्यहाँ राखेको तर त्यहाँ पनि झन् सबै प्याज कुहिएर काम नलाग्ने भयो,’ थापाले भने, ‘त्योभन्दा बरु घरमै राखेको भए सुरक्षित हुन्थ्यो होला । कोल्डस्टोरले लापरबाही गरिदियो ।’ थापाको मात्र होइन, भट्टराई कोल्डस्टोरमा राखिएको किसानको करिब आधा प्याज कुहिएर नष्ट भएको छ भने नकुहिएको प्याज पनि सबै उम्रिएको अवस्थामा पाइएको छ । दसैँअघि कोल्डस्टोरमा प्याज लिन पुगेका किसान सबै प्याज कुहिएको पाइएपछि बोराका बोरा प्याज त्यहीँ फालेर घर फर्किन बाध्य भएका थिए ।
बाँसगढी नगरपालिका–८ कै पवित्रि अधिकारीले कोल्डस्टोरमा राखिएको आफूहरूको ४० किलो प्याज एक गेडा पनि काम नलागेको बताइन् । ‘खै के कारणले यस्तो भयो थाहा भएन,’ उनले भनिन्, ‘दसैँअघि लिन जाँदा कुहिएर काम नलाग्ने भएपछि बाबू (छोरा)ले उतै फालेर आएछन् ।’ यसबारे कोल्डस्टोरका सञ्चालकसँग गुनासो गर्दा दसैँमा खान भन्दै एकदुई किलो प्याज पठाइदिएको उनले जानकारी दिइन् ।
त्यस्तै, बाँसगढी नगरपालिका–९ माछागढका किसानले सोही कोल्डस्टोरमा राखेको ७/८ बोरा प्याज कुहिएर पूर्णरूपमा नष्ट भएपछि उनीहरूले त्यो प्याज बोरासहित त्यहीँ फालेर आएका थिए । आफूले मेहेनत गरेर उब्जाएको बाली कोल्डस्टोर सञ्चालकको लापरबाहीका कारण नष्ट भएपछि किसान आक्रोशित भएका छन् ।
सो कोल्डस्टोरमा प्याज मात्र होइन आलु पनि कुहिएको पाइएको छ । आफूले बीउका लागि भन्दै कोल्डस्टोरमा राखेको आलु लिन बिहीबार कोल्डस्टोर पुगेका बाँसगढी नगरपालिका–४ का हुमबहादुर आलेले बोरामा केही आलु कुहिएको पाइएको बताए ।
कोल्डस्टोरको चरम लापरबाहीकै कारण किसानले मेहेनत गरेर उब्जाएको बाली कुहिएको भेटिएको छ । कोल्डस्टोरले चिस्यानका लागि आवश्यकताअनुसार एसी नचलाएकाले यसरी किसानको आलु, प्याज कुहिएको पाइएको छ ।
‘यस वर्ष प्याज थोरै भएकाले हामीले प्याजका लागि मेसिन चलाएनौँ,’ कोल्डस्टोरका कर्मचारी पुलिसबहादुर चौधरीले भने, ‘जतिन्जेल राख्न सकिन्छ राख्ने र बिग्रिन थाल्यो भने किसानलाई फिर्ता गर्ने हिसाबले राखेका थियौँ तर प्रायः
जुटको बोरामा भएकाले प्याज कुहिन्जेलसम्म पनि थाहै पाइएन ।’ थोरै प्याजका लागि एसी चलाउँदा महँगो पर्ने भएकाले मेसिन नचलाइएको उनको भनाइ छ । ३०/४० बोरा किसानको प्याजमा करिब आधाआधी कुहेर नष्ट भएको उनले स्वीकार गरे ।
‘जुटका साना ७/८ बोरा र ठूला ५/६ बोरा प्याज कुहिएर फालिएको हो,’ पुलिसबहादुरले मिसन टुडेसँग भने, ‘प्लास्टिकका बोरामा भएका अन्य प्याज पनि पूरै उम्रिएका थिए ।’ तर काम लाग्ला कि भनेर घर लगेको प्याज पनि कुहिएर फाल्नुपरेको किसानले बताएका छन् ।
किसानसँग पैसा लिएर आलु, प्याज कोल्डस्टोरमा राख्ने गरिएको छ । पुलिसबहादुरका अनुसार कोल्डस्टोरले आलु प्रतिबोरा २ सय ५० र प्याज प्रतिबोरा ३ सय रुपैयाँका दरले किसानसँग शुल्क लिँदै आएको छ । मेहेनत गरेर फलाएको बाली शुल्क तिरेर कोल्डस्टोरमा राख्दा पनि सुरक्षित नभएपछि यहाँका किसान यतिबेला चिन्तित छन् ।
कोल्डस्टोरको लापरबाहीका कारण आफ्नो मेहेनत खेरा गएपछि यस क्षेत्रका किसान आक्रोशित बनेका छन् । उनीहरूले कोल्डस्टोरले आफूहरूलाई उचित क्षतिपूर्ति दिनुपर्ने मागसमेत गर्दै आएका छन् । ‘को ल्डस्टोरले किसानलाई या त अहिलेको मूल्य अनुसारको प्याजको पैसा दिनुपर्र्छ,’ किसान थापाले भने, ‘या त हामीलाई त्यत्तिकैै परिमाणमा प्याज नै उपलब्ध गराउनुपर्छ ।’ तर कोल्डस्टोरले आफूहरूको मागको सुनुवाइ नगरेको उनको गुनासो छ ।
कोल्डस्टोरका सञ्चालक खेमराज भट्टराईले भने किसानले आलु भने र जुट का बोरामा प्याज राखेकाले प्याज कुहिएको बताए । कोल्डस्टोरमा आलुमात्र राख्ने सूचना गरिएको भए पनि किसानले लुकाएर प्याज राखे को उनको आरोप छ ।
‘पोहोरमात्र मैले आफ्नै एक करोडको प्याज बिग्रिएर माटोमा गाडेको हुँ,’ सञ्चालक भट्टराईले भने, ‘त्यति हुँदाहुँदै मैले कुहाउनका लागि किसानको प्याज किन राख्थेँ !’ उनले आलु र प्याजको तापक्रम नमिल्ने भएकाले प्याज नराख्ने निष्कर्षमा आफूहरू पुगेको बताए । ‘आलुलाई जिरो डिग्री तापक्रम चाहिन्छ,’ उनले भने, ‘तर प्याजलाई भने २–३ डिग्रीको तापक्रम नभई हुँदैन ।’
किसानको प्याज कुहिनुमा आफ्नो कुनै कसुर नभएको दाबी गर्दै उनले क्षतिपूर्तिको प्रश्नै नउठ्ने बताए । ‘हामीले आलुको इन्स्योरेन्स गरेका छौँ, यदि इन्स्योरेन्स कम्पनी क्लेम लिन तयार हुन्छ भने किसानले क्षतिपूर्ति पाउँछन्,’ उनले भने, ‘होइन भने हामीले क्षतिपूर्ति दिने कुरै आउँदैन ।’ उनले किसानलाई क्षतिपूर्ति दिने कुरा सरासर अस्वीकार गरे ।
सञ्चालक भट्टराईले किसानले प्याज राखेको बारे आफूलाई जानकारी नभएको बताए पनि कोल्डस्टोरले प्याज राखेबापतको बिल काटेर किसानलाई दिएको भेटिएको छ । कोल्डस्टोरकै कर्मचारी पुलिसबहादुरका अनुसार पनि ३०/४० बोरा प्याज कोल्डस्टोरमा राखेको देखिन्छ । फेरि कतिपय प्लास्टिकका पारदर्शी बोरामा प्याज राखिएकाले आलु हो कि प्याज भन्ने पहिचान गर्न गाह्रो हुँदैन ।
२०७६ सालदेखि निजी तवरबाट सञ्चालन हुँदै आएको सो कोल्डस्टोरमा यस क्षेत्रका किसानले आफूले उत्पादन गरेका आलु, प्याज राख्दै आएका छन् । लुम्बिनी प्रदेश कृषि मन्त्रालयको १ करोड ३० लाख अनुदान सहयोगसहित भट्टराईको निजी लगानीमा सो कोल्डस्टोर निर्माण भएको थियो ।









प्रतिक्रिया दिनुहोस्