कोहलपुरमा ध्यान,योग र उत्सवका माध्यमबाट तनाव व्यवस्थापन सम्बन्धि कार्यशाला



कोहलपुर : मानव जीवनमा तनाव व्यवस्थापनको लागि ध्यान,योग र उत्सव आवश्यक रहेकोमा जोड दिइएको छ । संसारकै सर्वोत्कृष्ट प्राणीको रुपमा रहेको सिंगो मानव समुदाय नाम, पद र पैसाका लागि समय व्यवस्थापन गर्न नसकेर शान्त र सन्तुष्ट हुन नसकेको भन्दै ध्यान, योग र उत्सव आवश्यक रहेकोमा जोड दिइएको हो ।

कोहलपुरमा शनिबार कोहलपुर ओशो समुहको आयोजनामा ध्यान, योग र उत्सवका लागि तनाव व्यवस्थापन कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा मुख्य प्रशिक्षकका रुपमा रहेका ओशो तपोवनका स्वामी आनन्द अर्हत्ले योग र ध्यानले मानिसलाई शान्त र सन्तुष्ट बनाउने बताए ।
उनका अनुसार कुनै पनि व्यक्ति सुखी र दुःखी आफ्नै कारण हुन्छ । दुःखको कारण तनाव रहेको उनको भनाइ थियो । खुसी र आनन्दित हुने कारण पनि स्वयम् व्यक्ति नै हो । यस्तै समय व्यवस्थापन समेत आवश्यक रहेको उनले बताए । ‘हरेक व्यक्तिले दैनिक ध्यान र योग गर्न आवश्यक छ । यसले मानिसलाई चलायमान बनाउँछ । आफ्नो स्वास्थ्यको लागि आफैले ध्यान दिन जरुरी छ ।’ स्वामी आनन्द अर्हत्ले भने ।


कार्यक्रम समापनका क्रममा बोल्दै कोहलपुर ११ का वडाअध्यक्ष कल्पना शर्माले व्यस्त दैनिकीका बाबुजत कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताइन् । उनले सम्पूर्णलाई कार्यक्रममा सिकेका कुरामा व्यवहारमा लागू गर्न पनि आग्रह गरिन् । वडाअध्यक्ष शर्माका अनुसार ध्यान,योग लगायतका महत्वपूर्ण कामका लागि स्थानीय सरकार सहयोग गर्न तयार छ । कोहलपुर ओशो समुहका प्रवक्ता कुमार उपे्रतीले दुई महिना अघि मात्रै समुह संस्थागत रुपमा कोहलपुरमा क्रियाशिल भएको बताए ।


उनले समुहको आयोजनामा गरिएको यो कार्यक्रम दोस्रोपटक हो । पहिलोपटक गुरु पूर्णिमाका दिन कार्यक्रम आयोजना गरिएको थियो । आगामी दिनमा कोहलपुरमा ध्यान र योग सम्बन्धि तीन दिने कार्यक्रम आयोजना गर्ने योजना रहेको सुनाए । कोहलपुर ओशो समुहका सचिव रविन कुमार शर्माका अनुसार कार्यक्रमा बाँके र बर्दियाका ५५ जना सहभागी थिए ।

कार्यक्रम सञ्चालन गर्न कोहलपुर नगरपालिका र दर्पण कम्प्युटर सेन्टरले सहयोग गरेको उनले बताए । यसको मुख्य कार्यालय काठमाडौँमा रहेको छ । आशो तपोवनमा अहिलेसम्म ८२ देशका नागरिकले ध्यान र योग लिइसकेका छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ साउन २९ गते आइतबार