
बाँके ।
लाइफ लाइन जनरल हस्पिटलले मिर्गौलाको डायलासिस सेवा दिन थालेको छ । नेपालगन्जमा रहेको अस्पतालले मिर्गौलाका बिरामीलाई डायलासिस सेवा दिन थालेको हो । मिर्गाैलाका बिरामीलाई अत्यावश्यक पर्ने डायलासिस सेवा सुरु गरिएको अस्पतालका व्यवस्थापक डा. प्रतीक श्रेष्ठले जानकारी दिए ।
डायलासिस सेवा दिने लाइफ लाइन जनरल अस्पताल निजी अस्पतालमध्ये बाँकेमा दोस्रो हो । यसअघि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले डायलासिस सेवा दिँदै आएको छ । सरकारी अस्पतालअन्तर्गत नेपालगन्जस्थित भेरी अस्पतालले पनि डायलासिस सेवा दिँदै आएको छ ।
‘निजी अस्पतालबाट डायलासिस सेवा दिने लाइफ लाइन नेपालगन्जको पहिलो अस्पताल भएको हो,’ उनले भने, ‘मिर्गौलाका बिरामीलाई सहजरुपमा सेवा दिनको लागि डायलासिस सेवा सुरु गरेका हौं ।’
मिर्गौलाका बिरामीको संख्या बढ्दै गएपछि भेरी अस्पताल र कोहलपुरस्थित मेडिकल कलेजले थेग्न नसकेका कारण बिरामीहरु डायलासिस सेवाबाट वञ्चित हुँदै आएको डा. प्रतीक बताउँछन् । लाइफ लाइनले दुईवटा उपकरणमार्फत डायलासिस सेवा दिँदै आएको उनले बताए । ‘उपकरण थप गरी चौबिसैँ घण्टा डायलासिस सेवा दिने तयारीमा छौँ,’ उनले भने, ‘कुनै पनि बिरामी डायलासिस सेवाबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो उद्देश्य छ ।’
कर्णाली र सुदूरपश्चिममा डायलासिस सेवा नहुँदा मिर्गौलाका बिरामीहरु बाँकेका अस्पतालमा निर्भर हुँदै आएका छन् ।
‘पर्याप्त संख्यामा डायलासिस मेसिन नहुँदा भेरी अस्पतालले बिरामीको चाप थेग्ने अवस्था छैन,’ भेरी अस्पतालका डायलासिस विभाग प्रमुख डा. पारस श्रेष्ठले भने । बिरामीले पालो नपाउँदा काठमाडौं र भारतको लखनऊ जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
लाइफ लाइन हस्पिटलमा डायलासिस सेवा सुरु भएपछि बिरामीलाई अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुने उनले बताए ।









प्रतिक्रिया दिनुहोस्