टिप्परमा टाइम कार्ड कार्यान्वयनमा अल्झन



बाँके ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले टिप्परमा लागू गरेको टाइम कार्ड योजना असफल भएको छ । ट्राफिकले गत चैत २२ गतेबाट जिल्लाका राजमार्गमा टिप्पर गुडाउँदा तीव्र गति नियन्त्रण गर्न भन्दै टाइम कार्ड लागू गरेको थियो । नियम कार्यान्वयन गर्नुको साटो आफैँ ट्राफिक प्रहरी विभिन्न प्रलोभनमा भुलेपछि टाइम कार्ड योजना फेल भएको आरोप छ ।

जिल्ला ट्राफिक कार्यालय बाँके मातहत रहेका विभिन्न ट्राफिक युनिटमा कार्यरत ट्राफिकले नै नियम कार्यान्वयनमा चासो देखाएका छैनन् । मातहतका बिटमा खटिएका ट्राफिकले असहयोग गर्दा जिल्ला ट्राफिक कार्यालय बाँकेले अगाडि सारेको योजना असफल भएको हो ।

गतिभन्दा बढी गतिमा टिप्पर गुडाएको पाइएमा कारबाही गर्न मातहतलाई जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले निर्देशन दिएको थियो । नेपालगन्ज र डुडुवावासीको चर्को विरोध तथा राँझा चोकमा तीव्र गतिमा रहेको टिप्परले एकजनाको ज्यान लिएपछि ट्राफिकले टिप्परमा टाइम कार्ड योजना लागू गर्नुपरेको थियो

। खासगरी नेपालगन्ज क्षेत्रमा रहेका ट्राफिक युनिटहरुले नियम कार्यान्वयनमा खासै चासो देखाएका छैनन् । बाँकेका राप्ती खोला, शमशेरगन्ज, सम्झना, खजुरा र चिसापानीबाट टिप्परका चालकले अनिवार्यरुपमा टाइम कार्ड लिनुपर्ने नियम बनाएको थियो । खासगरी कम्दी, नेपालगन्ज हुँदै गनापुरमा नदीजन्य पदार्थ ल्याएर आउने टिप्परहरुको गति तीव्र हुने गरेको छ ।

यो सडकखण्डमा टिप्परका कारण दुई पांग्रे सवारी चलाउन डर लाग्ने गरेको डुडुवाका सकिल अहमदले जानकारी दिए । ‘तीव्र गतिमा पानी चुहाउँदै टिप्परहरु चल्ने गर्दछन्,’ उनले भने, ‘अफिस जाँदा र घर फर्किँदा कपडा त बिग्रिसकेको हुन्छ नै, कतिबेला ठक्कर दिन्छन् भन्ने थाहै हुँदैन ।’ नेपालगन्जको फुटेक्रा, बसपार्क, काँरकाँदो र गनापुर ट्राफिक प्रहरी रातिसम्मै ड्युटीमा रहने भए पनि टिप्पर कारबाहीमा पर्दैनन् ।

टिप्पर मालिकले ट्राफिकलाई विभिन्न प्रलोभनमा पारेका कारण तीव्र गतिमा पानी चुहाउँदै आएका टिप्परलाई देखे पनि नदेखेको जस्तै गर्ने गरेका छन् । बिहीबार दिउँसो गनापुर, बसपार्कमा रहेका ट्राफिक प्रहरीले तीव्र गतिमा पानी चुहाउँदै आएका टिप्परलाई कारबाही साटो नदेखेको झै गरेका थिए । स्रोतका अनुसार यो सडकखण्डमा रहेका ट्राफिक र नेपाल प्रहरीले मोटो रकम पाउने गरेका छन् ।

नदीजन्य पदार्थ गनापुर क्षेत्रका क्रेसर उद्योगमा ल्याउने क्रममा टाइम कार्डअनुसार सञ्चालन भए कम टिप लाग्ने गरेको छ । त्यसैले उनीहरुले ट्राफिक प्रहरीलाई प्रलोभनमा पारेर धेरै टिप लगाउने गरी टिप्पर तीव्र गतिमा चलाउने गरेका छन् । नेपालगन्जका स्थानीय गिरीराज भुषालले टिप्परको आतंक अझै रोकिन नसकेको बताउँछन् । ‘टाइम कार्ड लागू भएको मैले पनि सुनेको थिए,’ उनले भने, ‘टिप्परको गति पनि अहिले उस्तै छ । सडकमा सवारी चलाउनसमेत डर लाग्छ ।’ सडकमा विभिन्न क्षेत्रमा नेपाल र ट्राफिक प्रहरी हुने भए पनि उनीहरु विभिन्न प्रलोभनमा परेको उनले दाबी गरे ।

‘ट्राफिकले कारबाही गर्नुको साटो उल्टै उनीहरुकै संरक्षण गर्छ,’ गिरीले भने, ‘कार्यान्यवन गराउने निकाय आफैँ नै बिकेपछि हामीले त के नै गर्न सक्छौं ।’ यस्ता जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका ट्राफिक प्रहरी निरीक्षक हिमालय शाहले टिप्परबाट हुने घटना रोक्नको लागि टाइम कार्ड लागू गरेर निगरानीको पोष्ट इञ्चार्ज तोकिएको बताउँछन् ।

‘हामीले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिरहेका छौं । कार्यान्वयनको चरणमा केही कमजोरी भएका होलान् । त्यस्तालाई कारबाहीसमेत गरिएको छ,’ उनले भने, ‘यसमा हामी मात्रै होइन, चालकसमेत सचेत हुनुपर्ने देखिन्छ । पहिलाको भन्दा केही कम भएको छ ।’ कही कतै नियम पालना भएको छैन भने सबैले हामीलाई सूचना दिनुभयो भने प्रभावकारीरुपमा काम गर्न सजिलो हुने शाहले बताए । ‘मातहतका इञ्चार्जहरुले हप्ताको रिपोर्ट बुझाउँछन् । सोहीअनुसार हामी अघि बढ्छौं । समस्या देखिएका क्षेत्रमा हामी सुधार गर्छौ ।’ उनले भने ।

प्रवेशमा ट्रक रोक

नेपालगन्ज बजार क्षेत्रमा पिक आवरको समयमा ट्रक प्रवेशमा रोक लगाएको छ । पिक आवर समयमा बजार क्षेत्रमा ट्रक सञ्चालन हुँदा ट्राफिक जामको समस्या देखिएको रोक लगाइएको हो ।

बिहान ९ बजेदेखि ११ बजेसम्म दिउँसो ३ बजेदेखि ५ बजेसम्म बजार क्षेत्रमा ट्रक प्रवेशमा रोक लगाइएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

नेपालगन्जको तरकारी मन्डी क्षेत्रमा एक-एक गरी तरकारी लोड अनलोड गर्ने व्यवस्था गरिएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका प्रमुख ट्राफिक प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए । ‘खासगरी नेपालगन्ज क्षेत्रमा पिक आवर टाइममा ट्रक प्रवेशमा रोक लगाएका छौं,’ उनले भने, ‘यसले नेपालगन्जको ट्राफिक व्यवस्थापनमा केही सहज भएको छ ।’

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख १० गते शनिबार