कर्णाली प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारसँग भएको सात बुँदे सहमति कार्यान्वयनको जानकारी माग्दै संसद् अवरुद्ध
गरेको छ । उक्त सहमति कार्यान्वयनको जानकारी माग्दै प्रदेशसभाको नवौँ अधिवेशनको दशौँ बैठक सोमबार अवरुद्ध पारेको हो ।
एमालेका प्रमुख सचेतक गुलावजंग शाहले यसअघि प्रदेश सरकारसँग भएको सात बुँदे सहमति कार्यान्वयन नभएको भन्दै जानकारी माग गरेका थिए ।
उनले संसद् बैठकको सुरुमा विपक्षी दलको नेताले बोल्न पाउनुपर्ने भन्दै प्रक्रियाका बारेसमेत स्मरण गराएका थिए । संसद्मा जानकारी नभएसम्म बैठक अगाडि बढ्न नसक्ने भन्दै एमालेले संसद् अवरुद्ध गरेको हो ।
‘पहिलोपटक विपक्षी दलको नेताको धारणा राख्ने र अरु प्रक्रिया हुने चलन थियो । बीचमा छुटेको जस्तो लाग्छ,’ उनले भने, ‘यसअघि संसद्मा धेरै उठाउँदै आएको, सरकारसँग भएको सात बुँदे सम्झौता, हामीले बारम्बार उठाउँदै आएको विषयमा अहिलेसम्म लिखित प्रतिबद्धता वा जानकारी नभएकाले आज पनि भन्छौं कि त्यो कारबाहीको बारेमा जानकारी सदनमा नआएसम्म, यो कुरा कसरी अगाडि बढ्न सक्छ ? यही अगाडि उठेर जानकारी माग्न चाहान्छौँ ।’
एमालेको अवरोधका कारण सभामुख राजबहादुर शाहीले बैठक स्थगित गरेका छन् । यसअघि प्रमुख प्रतिपक्षी एमाले र कर्णाली सरकारबीच गत माघ १८ गते सात बुँदे सहमति भएको थियो ।
उक्त सहमतिअनुसार प्रतिपक्षले सरकारलाई रचनात्मक सुझाव दिँदै संसद् सञ्चालनमा सहयोग गर्नुपर्ने भनिए पनि लिखित धारणा नआएको भन्दै संसद् अवरुद्ध गरिएको एमालेले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्