बाँकेमा २३ वर्षीया महिलाको शंकास्पद मृत्यु



अहेबलाई बोलाउँदासम्म करिब २० मिनेट भइसकेको थियो । त्यतिञ्जेलसम्म गोल्डीको सास चलिरहेकै थियो । करिब १५ मिनेटपछि एम्बुलेन्स बोलाइयो । करिब २० मिनेटसम्म सास चलिरहेको मान्छेलाई अस्पताल पु¥याउन नसक्दा गोल्डीले ज्यान गुमाएको देखिन्छ ।

  • गोल्डीका पिता पेशकार बर्माका अनुसार ज्वाई निराजन बर्मा मादक पदार्थ र लागुऔषध दुव्र्यसनी थिए । उनले गोल्डीलाई शारीरिक तथा मानसिक यातना दिँदै आएका थिए । उनलै छोरीको हत्या गरेर फरार भएको पेशकारको आशंका छ ।
  • भाइहरु छुट्टिँदा उनले पाएको करिब १८ कठ्टा जमिन बेचेर सिध्याइसकेका उनले घर भएको जमिन र घर पनि बैंकमा राखेको गिरवल बताउँछन् । गाउँघरमा पनि निराजनले धेरै मानिसलाई फसाउँदै आएको उनकी आमा नै बताउँछिन् ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

जानकी गाउँपालिकामा एक २३ वर्षीया महिलाको शंकास्पद मृत्यु भएको छ । मृतक महिलाका पति उनको मृत्यु भएको दिनदेखि फरार छन् । परिवारले ती महिलाले आत्महत्या गरेको दाबी गरिरहेको छ । माइति पक्षले ती महिलाका श्रीमान्ले नै हत्या गरेको दाबी गरिरहेको छ । मृतक नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ लग्दहवा माइति घर भएकी २३ वर्षीया गोल्डी बर्मा हुन् ।

घटना असोज १ गतेको हो । साँझ करिब ९ बजेतिर गोल्डीको आइडीबाट आमा लक्ष्मी बर्माको आइडीमा भिडियो कल आयो । भिडियोकलमा गोल्डी नभइ उनका ५ वर्षीय छोरा देखिए । तर, रुँदै गरेको अवस्थामा । ‘आत्तिएर उसले आमा मरिहाली । बुवाले मारिदियो भन्दै थियो,’ गोल्डीकी आमाले त्यस दिनको घटना सुनाउँदै भनिन् । खाना खाइरहेकी गोल्डीकी आमा लक्ष्मी आत्तिइन् ।

खाइरहेको थाल त्यसै छोडेर उनी श्रीमान्लाई लिएर गुरुवा गाउँ जान हिँडिन् । तर, बाटोमै मोटरसाइकलमा तेल सकियो । रातिको समयमा पेट्रोल पम्प बन्द थिए । संयोगवश एकजना चिनेको मान्छे भेटिए र उनले आफ्नो मोटरसाइकल दिएपछि उनीहरु गुरुवागाउँ पुगे । छोरीको घरमा पुग्दा छोरी ओछ्यानमा मृत अवस्थामा पल्टिएकी थिइन् । मानिसहरु भेला भइसकेका थिए । मृतकका ससुराले गोल्डीले आत्महत्या प्रयास गरेको र आफूले बचाउन खोज्दा खोज्दै मृत्यु भएको बताइरहेका थिए ।

गोल्डीका पिता पेशकार बर्माका अनुसार ज्वाई निराजन बर्मा मादक पदार्थ र लागुऔषध दुव्र्यसनी थिए । उनले गोल्डीलाई शारीरिक तथा मानसिक यातना दिँदै आएका थिए । उनलै छोरीको हत्या गरेर फरार भएको पेशकारको आशंका छ । पेशकारका अनुसार ज्वाई घटना भएको दिन आफूहरु पुग्दासम्म घटनास्थलमै थिए । आफूहरु पुगिसकेपछि उनी त्यहाँबाट फरार भए । यो समाचार तयार पार्दासम्म फरार उनी सम्पर्कमा आएका छैनन् ।

माइती पक्षले ज्वाईले नै छोरीको हत्या गरेको दाबी गरिरहेको छ । नभए उनी फरार हुनुपर्ने कुनै कारण नभएको पेशकार बताउँछन् । प्रहरीमा ज्वाईमाथि छोरीको हत्या अभियोगमा मुद्दा दायर गर्न लागेको उनले बताए । यता प्रहरीले आफ्नोतर्फबाट घटनास्थलको मुचुल्का लिएर अनुसन्धानको प्रक्रियामा राखेको बताउँछ । तर, माइती पक्षका अनुसार घटनास्थलको मुचुल्का तत्काल गर्नुपर्नेमा लाशलाई अस्पताल पु¥याइसकेपछि मात्रै गरियो । प्रहरीले घटनालाई सुरुदेखि नै कमजोर बनाउँदै लगेको माइती पक्षको आशंका छ ।

आरोपित निराजनको खराब आचारण

मृतक गोल्डीका श्रीमान् निराजनका तीन भाइ छन् । २८ वर्षीय निराजन कान्छो हुन् । जेठो र माइलो छोरा बुवासँगै एकै घरमा बस्छन् भने निराजनको अलग्गै घर छ । जेठो र माइलो बस्ने घरको माथिल्लो तला निर्माणाधीन छ । निराजनको परिवारका सदस्यसँग राम्रो सम्बन्ध छैन । उनी मदिरा र लागुऔषधमा फसेको, भएको सम्पत्ति बेचेर सकेको, सम्झाउँदा झगडा गर्ने गरेको उनकै पिता गिरवल बर्मा बताउँछन् । बुहारीलाई पनि विभिन्न बाहनामा कुटपिट गर्ने गरेको उनको भनाइ छ ।

भाइहरु छुट्टिँदा उनले पाएको करिब १८ कठ्टा जमिन बेचेर सिध्याइसकेका उनले घर भएको जमिन र घर पनि बैंकमा राखेको गिरवल बताउँछन् । गाउँघरमा पनि निराजनले धेरै मानिसलाई फसाउँदै आएको उनकी आमा नै बताउँछिन् । १६ वर्षकै उमेरमा निराजनसँग विवाह गर्न बाध्य बनाइएकी गोल्डी अन्ततः श्रीमान्को यातनाकै कारण अल्पायुमै मृत्युवरण गर्न पुगेकी छन् ।

त्यो शंकास्पद घटना…

गोल्डीका ससुरा गिरवल बर्माका अनुसार उनी असार १ गते साँझ माथिल्लो निर्माणाधीन तलमा गएका थिए । एक्कासी निराजनको घरबाट उनका छोरा रुँदै कराएको आवाज आयो । गिरवलका अनुसार नातीले ‘आमा मरिहाली’ भन्दै कराइरहेको सुनेपछि उनी आत्तिएर एक्लै निराजनको घरतिर गए । सधैंझै निराजनले श्रीमतिलाई पिट्दै होलान् भन्ने अनुमान उनले गरे ।

तर, मुल गेटमा भित्रपट्टिबाट चुकुल लगाइएको थियो । गिरवलले नातीलाई चुकुल खोल्न लगाए र भित्र पसे । भित्र पसिसकेपछि उनका अनुसार बुहारी ढोकामाथिको सरियामा झुन्डिएको अवस्थामा छट्पटाइरहेकी थिइन् । उनले हत्तपत्त बुहारीलाई सारीको पासोबाट निकाले र ओछ्यानमा राखे । त्यतिञ्जेल गोल्डीको सास चलिरहेको थियो ।

त्यसपछि नजिकै औषधि पसल सञ्चालन गरिरहेका अहेबलाई बोलाउँदासम्म करिब २० मिनेट भइसकेको थियो । त्यतिञ्जेलसम्म गोल्डीको सास चलिरहेकै थियो । करिब १५ मिनेटपछि एम्बुलेन्स बोलाइयो । तर, अहेबले गोल्डीको मृत्यु भइसकेको बताएपछि एम्बुलेन्सलाई बाटैबाट फिर्ता पठाइयो । करिब २० मिनेटसम्म सास चलिरहेको मान्छेलाई अस्पताल पु¥याउन नसक्दा गोल्डीले ज्यान गुमाएको देखिन्छ । चेकजाँच गर्न बोलाइएका अहेब गोल्डीले आत्महत्या प्रयास गरेको आफूलाई सुरुमा जानकारी नदिइएको बताउँछन् ।

माइती पक्षको आशंका र आक्रोश

पेशकार बर्मा (गोल्डीका पिता)

गोल्डीको माइती पक्ष उनका श्रीमान् निराजनले नै घाँटीमा डोरीले कसेर हत्या गरेको र पछि परिवारले उनलाई भगाएको आशंका गर्छ । गोल्डीका पिता पेशकार भन्छन्, ‘सारीको पासोले घाँटी कसिएको भए मोटो दाग हुनुपथ्र्याे । तर, छोरीको घाँटीमा मसिनो दाग छ । अनि हामी पुग्दा त झुन्डिएको देखिने कुनै अवस्था नै थिएन । ससुराबाहेक कसैले पनि छोरी झुन्डिएको अवस्थामा देखेका छैनन् ।’ पेशकारका अनुसार प्रहरीलाई पनि उनी आफैँले बोलाएका हुन् ।

पेशकार आफ्नी ज्वाईले यदी गल्ती गरेका छैनन् भने उनी भागेर सम्पर्कविहीन हुनुपर्ने कुनै कारण नरहेको बताउँछन् । ज्वाईले पहिलेदेखि नै छोरीलाई यातना दिँदै आएको आमा लक्ष्मी बताउँछिन् । केही दिनअघि परेको नातीको जन्मदिन मनाउन छोरीको घरमा गएको बेला पनि ज्वाईले आफ्नैअघि छोरीलाई पिटेको उनको भनाइ छ ।

आफूहरुको अघि नै कुटपिट गर्ने ज्वाईले अरुबेला झनै यातना दिएको र अन्तमा हत्या गरेको हुनसक्ने उनको आशंका छ । प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरेर ज्वाईलाई हदैसम्मको सजाय दिनुपर्ने उनको माग छ । उनी भन्छिन्, ‘मेरो छोरीलाई जसरी हत्या गरियो त्यसैगरी उसलाई पनि मृत्युको सजाय दिनुपर्छ ।

‘आत्तिएर उस (नाति) ले आमा मरिहाली । बुवाले मारिदियो भन्दै थियो,’
लक्ष्मी बर्मा (गोल्डीकी आमा)

ज्वाई निराजन मादक पदार्थ र लागुऔषध दुव्र्यसनी थिए । उनले गोल्डीलाई शारीरिक तथा मानसिक यातना दिँदै आएका थिए । उनलै छोरीको हत्या गरेर फरार भए ।

 

प्रकाशित मिति : २०७९ असोज ५ गते बुधबार