
नेपालगन्ज ।
संघीय सरकारको भूमि व्यवस्था, सहकारी, सामान्य प्रशासन, आन्तरिक मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कात्तिक १६ गते सबै स्थानीय तहका नाममा एक परिपत्र जारी गरेको थियो । मन्त्रालयले लक्ष्य दिएको एक महिनाको समय पुग्न केही दिनमात्रै बाँकी रहँदा देशभरमा ३८ वटा स्थानीय तहले मात्रै भूमि सम्बन्धि सेवा सुरु गरेका छन् ।
सेवा सुरु गर्ने ३८ वटा स्थानीय तहमध्ये बाँके र बर्दियामा चारवटा स्थानीय तहहरू रहेका छन् । हालसम्म बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिका तथा बर्दियाको राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकाले भूमि प्रशासन सेवा सञ्चालनमा ल्याएका छन् । भूमि प्रशासन कार्यालय बाँकेका प्रमुख लक्ष्मीप्रसाद बाँस्कोटामा अनुसार बाँकेको नरैनापुर गाउँपालिकाले एक महिना अघिदेखि भूमि प्रशासन सेवाको सुरुवात गरेकोमा, खजुराले गाउँपालिकाले पनि सेवा सञ्चालनको तयारी पनि गरेको छ भने त्यहाँ सरकारले सेवा सञ्चालनका लागि दुईजना कर्मचारी पठाइसकेको छ ।
गाउँपालिकाले सेवा सञ्चालनका लागि ठाउँ पनि बनाइसकेको अवस्था छ । आफूले विभिन्न स्थानीय तहको अनुगमन पनि गरेको बताउँदै बाँस्कोटाले जानकी गाउँपालिकामा पनि कर्मचारीको अभाव रहेको पाइएको बताए । त्यसका लागि पनि माथिल्ला निकायमा जानकारी गराइसकिएको उनको भनाइ छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिकामा असार १७ गते भूमि प्रशासन सेवाको सुरुवात गरिएको थियो ।
जग्गा रजिस्ट्रेसन, नामसारी, कित्ताकाट, अद्यावधिक लगायतका सेवाहरू अहिले स्थानीय तहबाटै भइरहेको गाउँपालिकाका नापी अधिकृत सुभम सुवेदीले जानकारी दिए । अहिले गाउँपालिकाबाट प्रवाह भइरहेका सेवाहरू साविकको माल तथा नापीको अनलाइन प्रणालीमा प्रविष्ट भइसकेको विवरणमा आधारित रहेका उनले बताए ।
‘अहिले मूल विवरणहरू गाउँपालिकालाई हस्तान्तरण भएका छैनन् । अनलाइनमा नभएका र मुद्दामामिलाका लागि नागरिकहरू अहिले पनि नेपालगन्ज नै पुग्नुपर्छ । बाँकी सेवाहरू हामीले नै दिइरहेका छौँ,’ सुवेदीले भने ।
स्थानीय तहबाटै भूमिसम्बन्धी सेवा प्रवाह हुँदा सेवाग्राहीको समय र खर्च बचत भएको पनि उनले दाबी गरे । बर्दियाको दुईवटा पालिकामा सेवा सुरु भएको र थप एकवटा स्थानीय तहलेसेवा सञ्चालनका लागि तयारी गरिरहेको भूमि प्रशासन कार्यालय बर्दियाका प्रमुख धर्मराज विनाडीले बताए । सबै पालिकाको लागि एक एक जना फोकल पर्शन तोकेर सेवा हस्तान्तरण गर्न सहजीकरणका लागि खटाइएको उनको भनाइ छ । अहिले बारबर्दियामा सेवा सन्चालको अन्तिम तयारीमा रहेको उनले बताए ।
सेवा सञ्चालनका लागि कर्मचारीको व्यवस्था, भौतिक व्यवस्थापन लगायतका काम गर्नुपर्ने भएकोले केही ढिलाई भएपनि सेवा सबै स्थानीय तहमा हस्तान्तरण हुने उनको दाबी छ । बर्दियाको राजापुर नगरपालिकामै राजापुर र गेरुवा गाउँपालिका कार्यक्षेत्र रहेको भूमि प्रशासन कार्यालय सञ्चानलमै रहँदा पनि राजापुर नगरपालिकाले भने आफैँले भूमि प्रशासन सेवा दिन सुरु गरिसकेको छ । असोज १२ गतेबाट सुरु भएको उक्त सेवाले सेवाग्राहीको चाप बाँडिएर सहज भएको बिनाडीको भनाइ छ ।
स्थानीय तहले सेवा सञ्चालनका लागि नापीसम्बन्धी अधिकृत, अमिन र प्रशासनिक कर्मचारीहरू गरी कम्तीमा पाँच जनाको जनशक्ति आवश्यक पर्ने राप्ती सोनारी गाउँपालिकाका नापी अधिकृत सुवेदीले बताए । ‘कति चाँडो सेवा दिने भन्ने आधारमा कर्मचारी थप्न सकिन्छ । सुरुमा केही असहज भए पनि समयसँगै सेवा सहज हुँदै जाने रहेछ । स्थानीय तहका लागि यो सेवा सञ्चालन गर्नु अप्ठ्यारो काम होइन,’ सुवेदीले भने । अहिले स्थानीय तहबाट प्रदान हुने भूमिसम्बन्धि सेवाहरूमा जलेको श्रेस्ता कायम गर्ने, भूमिसुधार, रोक्का भएका र अनलाइनमा नभएका विवरणहरूमा आधारित कामहरूबाहेक सबै मालपोत सम्बन्धि कामहरू स्थानीय तहबाट दिने सरकारको लक्ष्य रहेको छ ।









प्रतिक्रिया दिनुहोस्