कोहलपुर/ धेरै जसो मानिसहरुलाई पढेपछि जागिर खानैपर्छ भन्ने मान्यता र सोच रहेको हुन्छ तर पछिल्लो समयमा कतिपय शिक्षित युवाहरु भने व्यवसायिक कृषि पेशामा लागेर उदाहरणीय काम गरिरहेका छन् ।
त्यस्तै युवाहरु मध्यका एक हुन राप्तीसोनारी –८ शम्शेरगञ्जका स्नातकोत्तर उतिर्ण गरेका युवा मेघराज वली । जसले निकै सर्घषका साथ अहिले कृषि पेशामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।
वलीले विगत १ वर्षदेखि श्रीराम लाईभ स्टक एग्रोटुरिजम प्रालीको नामबाट करिब रु १३ लाखको लागतमा बाख्रापालन व्यवसाय सुरु गरेको बताउछँन् ।
सुरुमा २४ वटा बाख्रापालन उनीसँग हाल सानाठुला गरी ८२ वटा जमुनापारी, तराईलोकल र बारबरी जातका बाख्राहरु रहेका छन् । उनले बाखपलन व्यवसायबाट वार्षिक करिब रु ७ लाखसम्म आम्दानी हुने गर्ने गरेको बताउँछन् ।
स्नातकोत्तर उर्तिण गरिसकेपछि शम्शेरगञ्ज ई.मी.स्कुलका संस्थापक रहेका उनीले केही समयमा अध्यापनमा समेत विताएका थिए । तर उनीलाई कृषि पेशा प्रतिको मोहले भने छाडेको थिएन ।
त्यसपछि विद्यालय अर्कैलाई हस्तातरण गरी व्यवसायिक कषि पेशामा लागेको बताउँछन् । सानो पुँजीबाट पनि कृषि व्यवसायमा सफल र स्वतन्त्र उद्यमी बन्ने सकिने हुँदा विद्यालय छोडेर कषि पेशामा लागेको वलीले भने ।
उनले बाख्रापालन मात्र नभएर व्यवसायिक कुखुरापालन र तरकारी खेती समेत गरिरहेका छन् । कृषि पेशामा रमाउने स्वभाव भएका ३६ वर्षिया वलीले २६ कोठाको आधुनिक बाख्राको खोर निमार्ण गरी उन्नत जातका बाख्रा तथा नश्ल सुधारका लागि व्यवसायिक बाख्रापालनलाई जोड दिएका छन् ।
बाख्रापालन व्यवसायबाट उनीले स्थानीय ३ जनालाई रोजगारी समेत दिएका छन् । उनले करिब ३० कठ्ठा जग्गामा मकैचरी, उखुघाँस, इपिल लगायतका डालेघाँस समेत लागाएका छन् ।
बाख्रापालन व्यवसायको बजारीकरण समेत राम्रो भएको भएता पनि युवाहरुले गरेको व्यवसायलाइ कसैले पनि प्रोत्साहन नगरेको उनको गुनासो छ । युवाहरुको व्यवसायलाई प्रोत्साहन गरी स्थानीय सरकारले अनुदानका कार्यक्रम सञ्चालन गर्नुपर्ने वलीको माग रहेको छ ।
स्नातकोत्तर उतिर्ण गरेर आफू कृषि व्यवसायमा लागेपछि परिवार भने अझै असन्तुष्ट रहेको बताउदै युवाहरुलाई वैदेशिक रोजगारी र जागिरमा भन्दा कृषि उद्यमशिलतामा लाग्न समाज परिवार राष्ट्रले युवाहरुलाई प्ररित गर्नुपर्ने युवा उद्यमी वलीको भनाई छ ।
राप्तीसोनारी गाउँपालिकाका पशु शाखा प्रमुख जय बहादुर कार्कीले मेघराज वलीले गरेको बाख्रापालन कार्यक्रम निकै राम्रो भएको बताए । साथै उनी जस्ता युवाहरुका लागि आगामी वर्षका लागि करिब रु २९ लाखको पशु अनुदानका कार्यक्रमको गाउँसभामा पेश गरिएको र पशुपालक युवाहरुलाई प्रोत्साहन गर्न अनुदानका कार्यक्रमहरु सञ्चालन गरिने बताए ।









प्रतिक्रिया दिनुहोस्