ओलम्पिक टर्च बालेर सुरु भो ट्रफी टुर



नन्दराम जैशी ।
सुर्खेत ।

कर्णाली प्रदेशमा आयोजित दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार तथा खेलकुदको उत्साह देशभर फैलाउने उद्देश्यले ओलम्पिक टर्च र ट्रफी टुर सुरु गरिएको छ । दैलेखको धार्मिक तथा पर्यटकीयस्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी शुक्रबार ट्रफी टुरको औपचारिक शुभारम्भ गरिएको हो ।
श्रीस्थानको अखण्ड ज्वालाबाट प्रज्वलित टर्चलाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन्द्र चन्दले म्याराथन धावक हरिबहादुर रोकायालाई हस्तान्तरण गरेका थिए । रोकायाले टर्च ग्रहण गरेसँगै दैलेखबाट ट्रफी टुरको यात्रा सुरु भएको हो ।

ट्रफी टुरलाई मुख्य खेलस्थल वीरेन्द्रनगरबाट कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्यसचिव रामचरित्र मेहता, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमाल र सदस्यसचिव रविन्द्र चन्दले बिदाइ गरेका थिए । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सुरु भएको टर्च तथा ट्रफी टुरले प्रतियोगिताको प्रचारप्रसारसँगै कर्णालीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । श्रीस्थानको प्राकृतिक ज्वालाबाट प्रज्वलित टर्चलाई कर्णालीको खेलकुद यात्राको प्रतीकका रूपमा अघि बढाइएको आयोजकले जनाएको छ ।

टर्च तथा ट्रफी टुर दैलेखबाट कालीकोट हुँदै जुम्लासम्म पुग्ने कार्यक्रम छ । टुरमा ओलम्पियन दीपक विष्ट, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाय, ओलम्पियन देबु थापा तथा कराते खेलाडी मण्डेकाजी श्रेष्ठलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडी सहभागी छन् । जुम्लामा चर्चित अल्ट्रा धाविका सुनमाया बुढासमेत टोलीमा सहभागी हुने कार्यक्रम रहेको छ । कालीकोट र जुम्लामा ट्रफी तथा टर्चसहित नगर परिक्रमा गराइने आयोजकले जनाएको छ । टुरले स्थानीयस्तरमा खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै प्रतियोगिताको वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

ट्रफी टुर सम्पन्न भएपछि मंसिर १५ गते कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विशेष समारोहबीच टुर टोलीको स्वागत गर्ने तथा ट्रफी अनावरण गर्ने कार्यक्रम छ । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ गतेदेखि कर्णाली प्रदेशमा औपचारिक रूपमा सुरु हुँदैछ । प्रतियोगिताअन्तर्गतका ३२ खेलमध्ये १० खेल भने मंसिर ८ गतेदेखि नै सञ्चालनमा आइसकेका छन् । लामो समयदेखि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने प्रतीक्षामा रहेको कर्णालीमा प्रतियोगिताको तयारीसँगै खेलकुद गतिविधि र उत्साहसमेत बढ्दै गएको छ ।

आर्मी र एपीएफ सेमिफाइनलमा (बक्स)

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेटतर्फ त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । सहआयोजक कर्णाली प्रदेश दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । शुक्रबार वीरेन्द्रनगर रंगशालामा भएको खेलमा आर्मीले कर्णालीलाई ९७ रनको अन्तरले हरायो । टस जितेर ब्याटिङ गरेको आर्मीले चार विकेटको क्षतिमा १३८ रन बनायो । राष्ट्रिय टोलीकी सदस्य सम्झना खड्काले ५८ बलमा १० चौकासहित सर्वाधिक ६२ रन बनाइन् । जवाफमा कर्णाली ४१ रनमै अलआउट भयो ।

आर्मीकी मनिषा उपाध्यायले १० रन खर्चेर चार विकेट लिइन् भने यमुना थारुले तीन विकेट लिइन् । सम्झना प्लेयर अफ द म्याच घोषित भइन् ।
अर्को खेलमा एपीएफले मधेश प्रदेशलाई ८० रनले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको एपीएफले ६ विकेटमा १४३ रन बनायो । इन्दु बर्माले ५६ र रोमा थापाले नटआउट ४४ रन बनाए, दुईबीच ९५ रनको साझेदारी भयो । लक्ष्य पछ्याएको मधेश ७ विकेटमा ६३ रनमै सीमित भयो । सुमन विष्ट र राजमती ऐरीले दुई–दुई विकेट लिए ।

पुरुष क्रिकेटमा एपीएफ र मधेश विजयी

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा एपीएफ क्लब र मधेश प्रदेश विजयी भएका छन् । शुक्रबार वीरेन्द्रनगरको कालुन्चोक मैदानमा भएको खेलमा एपीएफले कोशी प्रदेशलाई ११ रनले पराजित ग¥यो । एपीएफले दिएको १५५ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो । एपीएफका दीपक बोहराले सर्वाधिक ५७ रन बनाए भने अमर सिंह रौतेलाले तीन विकेट लिए ।

यस्तै, मधेश प्रदेशले नेपाल पुलिस क्लबलाई २९ रनले हरायो । पहिले ब्याटिङ गरेको मधेशले चार विकेट गुमाएर १६६ रन बनाएको थियो । जवाफमा पुलिसले निर्धारित ओभरमा लक्ष्य भेट्टाउन सकेन । मधेशका सन्तोष कार्कीले ६० र विवेककुमार यादवले अविजित ३७ रन बनाए । पुलिसका राशिद खानले सर्वाधिक ४१ रन जोडे ।

पुरुष फुटबलतर्फ आर्मीको लगातार दोस्रो जीत

दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबारको खेलमा आर्मीले बागमतीलाई २–० गोलले हरायो । पहिलो हाफ गोलरहित बराबरी रहेको खेलमा ६४औँ मिनेटमा लाकेन लिम्बुले आर्मीलाई अग्रता दिलाए भने अतिरिक्त खेलाडीका रूपमा मैदान छिरेका नवयुग श्रेष्ठले ९७औँ मिनेटमा दोस्रो गोल गरे ।

खेलमा आर्मीका तीन र बागमतीका दुई गरी पाँच खेलाडीले पहेँलो कार्ड पाए । लुम्बिनीलाई पहिलो खेलमा हराएको आर्मीको अहिले ६ अंक भएको छ भने कोशीसँग बराबरी खेलेको बागमतीसँग एक अंक मात्र छ । अर्को खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई ४–१ ले पराजित ग¥यो । कोशीका लागि मिलन राईले दुई गोल (१२औँ र ३२औँ मिनेट) गरे भने अमित सन सतार (१४औँ) र सौरभ लिम्बु (६४औँ) ले एक–एक गोल गरे । लुम्बिनीको एक मात्र गोल ५९औँ मिनेटमा फागुराम चौधरीले गरे ।

५८औँ मिनेटमा रातो कार्ड पाएका कोशीका प्रकाश भुजेलले आगामी एक खेल प्रतिबन्ध खेप्नुपर्नेछ । चौधरीले पनि दोस्रो पहेँलो कार्ड पाएकाले एक खेल निलम्बित भएका छन् । जितपछि कोशीको ४ अंक पुगेको छ भने लुम्बिनी अंकविहीन छ ।

महिला बास्केटबलतर्फ आठ टिम सेमिफाइनलमा

कर्णालीमा जारी दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला बास्केटबलतर्फ दुवै विधामा गरी आठ टिम सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलबाट अन्य आठ टिम बाहिरिएका छन् । फूल कोर्ट ५×५ तर्फ एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान बनाएका छन् । ३×३ तर्फ नेपाल आर्मी, बागमती प्रदेश, एपीएफ क्लब र कर्णाली प्रदेश सेमिफाइनल पुगेका छन् । बास्केटबलका राष्ट्रिय सिनियर रेफ्रि राजेश महर्जनले जानकारी दिए ।
फूल कोर्टमा एपीएफ क्लबले गण्डकी प्रदेशलाई ७९–१२ ले हरायो । सुदूरपश्चिमले लुम्बीनीलाई ३९–१६ ले, नेपाल पुलिसले कोशीलाई ५५–४० ले र नेपाल आर्मीले बागमतीलाई ६७–२० ले पराजित गरे । ३×३ मा त्रिभुवन आर्मीले गण्डकीलाई १९–६, बागमतीले लुम्बीनीलाई १४–१०, एपीएफले सुदूरपश्चिमलाई १३–७ र कर्णालीले नेपाल पुलिसलाई १७–८ ले हराए ।

शारीरिक सुगठन प्रतियोगिता सुरु

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत रूकुम पश्चिमको चौरजहारीमा शारीरिक सुगठन प्रतियोगिता सुरु भएको छ । शुक्रबार कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री मिलन खड्काले प्रतियोगिताको उद्घाटन गरिन । चौरजहारी नगरपालिका–२ स्थित कभर्डहलमा सञ्चालित प्रतियोगितामा १०४ महिला तथा पुरुष खेलाडी सहभागी छन् । उद्घाटन गर्दै मन्त्री खड्काले प्रतियोगिताले कर्णालीको खेलकुदलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पु¥याउने बताइन । प्रतियोगिताका खेलहरू सञ्चालन भइरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर १३ गते शनिबार