जनताको भरोसा अभिवृद्धि गर्ने गरी काम गर्न आइजिपी केसीको निर्देशन



काठमाडौँ ।

प्रहरी महानिरीक्षक (आइजिपी) डा. मनोजकुमार केसीले नागरिकमैत्री, पारदर्शी र प्रभावकारी सेवा प्रवाह गरी जनताको भरोसा अभिवृद्धि गर्ने गरी कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन् । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा हालै सरुवा भई विभिन्न कार्यक्षेत्रमा जान लागेका प्रहरी उपरीक्षक (एसपी) हरूलाई निर्देशन सम्बोधन गर्दै उनले छिटोछरितो र नागरिकप्रति उत्तरदायी सेवा प्रवाहमा जोड दिएका हुन् । प्रहरी प्रधान कार्यालयले ६० जना एसपीको एकसाथ सरूवा गरेको थियो ।

प्रहरी महानिरीक्षक केसीले आ–आफ्नो कार्यक्षेत्रका सम्भावित सुरक्षा चुनौती पहिचान तथा विश्लेषण गरी आवश्यकताअनुसार सुरक्षा योजना र रणनीति अवलम्बन गर्न निर्देशन दिए । योजनाबद्ध रूपमा प्रहरी परिचालन गरी प्रभावकारी कार्यसम्पादन गर्नुपर्ने उनको भनाइ थियो । उनले साइबर अपराध, सीमा अपराध, तस्करी नियन्त्रण, हातहतियार बरामद तथा फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राख्न निर्देशन दिए । प्रहरी कर्मचारी थप व्यावसायिक, अनुशासित, निष्ठावान् र इमानदार भएर काम गर्नुपर्ने उनले बताए ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अल्पसंख्यकप्रति थप संवेदनशील हुनुपर्नेमा जोड दिँदै उनले पीडितका गुनासो उचित रूपमा सम्बोधन गर्न र प्रहरी कार्यालयबाट प्रदान गरिने सेवालाई सहज तथा सरल बनाउन निर्देशन दिए । त्यस्तै, आधारभूत तहका प्रहरी कर्मचारीका गुनासोलाई विशेष प्राथमिकतामा राखेर सम्बोधन गर्नुपर्ने उनले बताए । सामूहिक भावना र नवीनतम सोचका साथ प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा सम्पादन गर्न पनि उनले प्रहरी अधिकृतहरूलाई निर्देशन दिए ।

कार्यालय व्यवस्थापनलाई थप उत्कृष्ट बनाउनुपर्ने उल्लेख गर्दै उनले भिड नियन्त्रणका क्रममा बल प्रयोगसम्बन्धी सिद्धान्त अवलम्बन गरी संवेदनशीलताका साथ काम गर्नुपर्ने बताए । आफ्नो कार्यक्षेत्रमा शान्तिसुव्यवस्था कायम गर्न तथा अपराध नियन्त्रणका लागि स्थानीय तह र अन्य सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य गरेर काम गर्न पनि उनले निर्देशन दिएका छन् । कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेसहित वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर १३ गते शनिबार