रास्वपाले कर्णालीबाट प्रदेशस्तरीय प्रशिक्षण सुरु गर्दै



वीरेन्द्रनगर ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशबाट प्रदेशस्तरीय प्रशिक्षण अभियान सुरु गर्ने भएको छ । संगठन विस्तारसँगै पार्टीको वैचारिक आधार स्पष्ट पार्ने र नेतृत्व विकास गर्ने उद्देश्यसहित रास्वपाले कर्णालीलाई प्रशिक्षण अभियानको प्रारम्भिक केन्द्र बनाएको हो । रास्वपाका कर्णाली प्रदेश महामन्त्री ललित चन्दका अनुसार आगामी निर्वाचनका लागि राजनीतिक तथा सांगठनिक तयारीलाई तीव्र बनाउने तयारी छ । प्रशिक्षणमा पार्टी सभापति रवी लामिछाने, उपसभापति स्वर्णीम वाग्ले, नेतृ सोबिता गौतमलगायत केन्द्रीय तहका शीर्ष नेताहरूको सहभागितामा रहने उनले बताए ।

सुुर्खेतको वीरेन्द्रनगरमा हुुने दुईदिने प्रशिक्षणका लागि शुक्रबार नै पार्टीका शीर्ष नेताहरू वीरेन्द्रनगर आइपुग्ने र शनिबार तथा आइतबार प्रशिक्षण कार्यक्रम सञ्चालन हुने पार्टीको तयारी छ । गत निर्वाचनमा अपेक्षाकृत कमजोर उपस्थिति देखिएको प्रदेशमा संगठनलाई पुनर्जीवित गर्ने, कार्यकर्ताको राजनीतिक बुझाइमा एकरूपता ल्याउने र स्थानीय तहसम्म पार्टीको प्रभाव विस्तार गर्ने रणनीति अपनाइएको छ ।

‘पार्टीले कर्णालीलाई विशेष प्राथमिकतामा राखेर प्रशिक्षण अभियानको सुरुवात गर्न लागेको हो’ उनले भने, ‘राजनीतिक प्रतिनिधित्वका सवालमा कर्णालीले भोग्दै आएका चुनौतीलाई ध्यानमा राखेर पार्टीले यहाँबाट अभियान सुरु गर्ने तयारी गरेको छ ।’ उनका अनुसार कर्णालीलाई अहिले रास्वपाले विशेष तरिकाले हेरेको छ । रास्वपाले कर्णालीलाई प्रशिक्षणको पहिलो केन्द्र बनाउनुको पछाडि निर्वाचनमा देखिएको कमजोर राजनीतिक उपस्थितिलाई सुधार्ने प्रयास रहेको उनले बताए ।

राष्ट्रिय राजनीतिमा नयाँ शक्तिका रूपमा उदाएको रास्वपाले कर्णालीमा भने अपेक्षित संगठनात्मक प्रभाव विस्तार गर्न सकेको छैन । भौगोलिक विकटता, स्थानीय राजनीतिक सम्बन्ध र परम्परागत दलहरूको लामो समयदेखिको प्रभाव कर्णालीमा नयाँ राजनीतिक शक्तिका लागि चुनौतीका रूपमा छन् । त्यसैले रास्वपाले अब संगठनको तल्लो तहसम्म राजनीतिक प्रशिक्षण, नेतृत्व विकास र कार्यकर्ताको सक्रियता बढाउने रणनीति अघि सारेको हो ।

प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, सांगठनिक संरचना तथा नेतृत्व विकासका विषय समेटिने रास्वपा कर्णालीले जनाएको छ । पार्टीले अघि सारेका ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ सम्बन्धी अवधारणाबारे पनि प्रशिक्षण दिइनेछ । यसले पार्टीभित्र राजनीतिक रूपमा प्रशिक्षित कार्यकर्ता उत्पादन गर्ने र स्थानीय तहमा पार्टीको प्रतिनिधित्व गर्न सक्ने नेतृत्व तयार पार्ने अपेक्षा छ ।

वीरेन्द्रनगरस्थित कौशीक गार्डेनमा सञ्चालन हुने प्रशिक्षणमा कर्णाली प्रदेशका जिल्ला, प्रदेश तथा स्थानीय तहका गरी करिब तीन सय नेता तथा कार्यकर्ता सहभागी हुनेछन् । प्रदेश उपसभापति तुलाराज शाहीका अनुसार प्रशिक्षणमा संगठनका विभिन्न तहमा जिम्मेवारी सम्हालिरहेका नेता तथा कार्यकर्तालाई सहभागी गराइनेछ ।
उनका अनुसार प्रशिक्षणमा सहभागी हुन पार्टी सभापति लामिछाने, उपसभापति वाग्ले, सोबिता गौतम, महामन्त्री विपिन आचार्य, नेता शिशिर खनाल, संगठन विभाग प्रमुख प्रमोद न्यौपाने, मुख्य सचेतक कविन्द्र बुर्लाकोटीलगायत नेताहरू वीरेन्द्रनगर पुगेका छन् । नेता हरि ढकाललगायतको पनि सहभागिता रहने बताइएको छ ।

शीर्ष नेतृत्वको सामूहिक उपस्थितिले प्रदेश संगठनलाई राजनीतिक सन्देश दिनुका साथै केन्द्रीय नेतृत्व र स्थानीय कार्यकर्ताबीच प्रत्यक्ष संवादको अवसरसमेत सिर्जना गर्ने अपेक्षा गरिएको छ । प्रशिक्षणको अर्को महत्वपूर्ण पक्ष आगामी निर्वाचनका लागि उम्मेदवार छनोट र पार्टीभित्रको अनुशासनसँग सम्बन्धित छ । पार्टीभित्र उम्मेदवार बन्ने आकांक्षा राख्नेहरू सामाजिक सञ्जालमार्फत आफूलाई सम्भावित उम्मेदवारका रूपमा प्रस्तुत गर्न थालेपछि रास्वपाले त्यसलाई नियन्त्रण गर्ने जनाएको छ । सहमहामन्त्री राजबहादुर शाहका अनुसार सामाजिक सञ्जालमा ‘म नै उम्मेदवार हुँ’ भन्दै प्रचार गर्ने प्रवृत्तिमाथि पार्टीले कारबाही गर्नेछ ।

रास्वपाले कर्णाली प्रदेशका दश जिल्लामध्ये आठ जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ । डोल्पा र हुम्लामा भने अधिवेशन हुन बाँकी छ । रास्वपाले कर्णालीबाट सुरु हुने प्रशिक्षणलाई प्रदेशव्यापी अभियानका रूपमा विस्तार गर्ने तयारी गरेको छ । कर्णालीको दुईदिने कार्यक्रम सम्पन्न भएपछि क्रमशः अन्य प्रदेशमा पनि यस्तै प्रशिक्षण सञ्चालन गरिने महामन्त्री चन्दले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर १३ गते शनिबार