कोहलपुर ।
बाँकेको कोहलपुरबाट दुर्लभ बन्यजन्तु रेडपाण्डाको छालासहित तीन जना पक्राउ परेका छन् । लुम्बिनी प्रदेश प्रहरी ब्यूरो नेपालगन्जबाट खटिएको टोलीले बुधबार दुई थान रेडपाण्डाको छालासहित तीन जनालाई पक्राउ गरेको हो । ब्यूरो टोलीले कोहलपुर नगरपालिका, १२ चप्परगौंडीस्थित एक होटलबाट दुई थान छालासहित तीन जनालाई नियन्त्रणमा लिएको थियो ।
दुर्लभ बन्यजन्तु रेडपाण्डाको छालाको कारोबारीहरुलाई नियन्त्रणमा लिनको लागि ब्यूरो टोली ग्राहक बनेर कारोबारीसम्म पुगेको थियो । ग्राहक बनेर दैलेखी होटलको ११३ नम्बर कोठामा पुगेको प्रहरी टोलीले दुई थान रेडपाण्डाको छालासहित तीन जनालाई नियन्त्रणमा लिएको थियो । ब्यूरो टोलीले बरामद छालासहित तीनै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका मुद्दा फाँट इन्चार्ज प्रहरी निरीक्षक सुबराज बमका अनुसार पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका, १० का ४० वर्षीय दलबहादुर शाही, जाजरकोट जुनिचाँदी गाउँपालिका, ११ का ४२ वर्षीय धनबहादुर शाही र सल्यान कुपिण्डेदह नगरपालिका ४ का ३३ वर्षीय भरतबहादुर पुन रहेका छन् ।
‘झोलामा लुकाई राखेको अवस्थामा २ थान रेडपाण्डाको छाला बरामद भएको थियो’ उनले भने, ‘उनीमाथि थप अनुसन्धान भइरहेको छ ।’ प्रारम्भिक अनुसन्धानबाट उनीहरुले रेडपाण्डाको छाला जाजरकोटबाट ल्याएको खुल्न आएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनीहरुको साथ प्रहरीले करिब २० हजार रुपैयाँ समेत बरामद गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्