कोहलपुर नगरपालिका वडा नम्बर २ तेह्र बिघास्थित तेह्र बिघा मैदानमा निर्माण हुने फुटबल रंगशालाको शिलान्यास गरिएको छ । कोहलपुर नगरपालिकाकी कार्यवाहक नगरप्रमुख संगीता सुवेदी र वडा नम्बर २ का वडाअध्यक्ष हरि कठायतले संयुक्तरूपमा शिलान्यास गरेका हुन् । फुटबल रंगशाला निर्माण सम्पन्न गर्न कूल २२ करोड ७५ लाख ५४ हजार २ सय ७२ रूपैयाँँ २३ पैसा लागत लाग्ने नगरपालिकाले जनाएको छ ।
कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ तेह्र बिघास्थित खुला मैदानलाई अत्याधुनिक सुविधासहितको फुटबल रंगशाला निर्माण गर्ने कार्य सुरु भएको छ । शनिबार एक कार्यक्रमकाबीच अत्याधुनिक सुविधासहितको फुटबल रंगशाला निर्माणका लागि शिलान्यास भएसँगै निर्माण कार्य सुरु भएको हो । उक्त फुटबल रंगशाला निर्माण कार्यको कोहलपुर नगरपालिका कार्यवाहक नगरप्रमुख संगीता सुवेदी र कोहलपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष हरि कठायतले संयुक्तरूपमा धार्मिक विधिअनुरुप शिलान्यास गरेका थिए ।
तेह्र बिघा मैदानलाई पश्चिम क्षेत्रकै स्तरीय आधुनिक फुटबल रंगशाला निर्माणमा परिणत गर्ने उद्देश्यअनुसार यसअघि डीपीआरसमेत तयार गरिसकिएको छ । डीपीआर तयार भएपछि नगरपालिकाले गत वैशाख महिनामा स्तरीय र आधुनिक रंगशाला निर्माण कार्यका लागि बोलपत्र आह्वान गरेको थियो । पहिलो चरणमा रंगशालाको प्याराफिट निर्माण गरिनेछ । कूल सात करोड रूपैयाँँ लागतमा रंगशालाको प्याराफिट निर्माण हुने कोहलपुर नगरपालिकाले जनाएको छ ।
प्रतिस्पर्धामार्फत रंगशाला निर्माणको जिम्मा कोहलपुर–२ स्थित शुभ आर्शीवाद– श्री वि.जी.जे.भीले लिएको छ । रंगशाला निर्माणका कार्यका लागि नगरपालिका र निर्माण व्यवसायीबीच एक वर्षे सम्झौतासमेत भइसकेको छ । दुवैपक्षबीच रंगशाला निर्माण कार्यका लागि २०८२ साउन २२ गते सम्झौता भएको निर्माण व्यवसायी अमृत खत्रीले बताए । उनका अनुसार सम्झौतामा २०८३ असार मसान्तभित्र प्याराफिट निर्माण गरिसक्नुपर्ने उल्लेख छ । निर्माण व्यवसायी खत्रीले निर्धारित समयमै योजना सम्पन्न गर्नेगरी छिट्टै काम सुरु गर्ने बताए ।
शिलान्यास कार्यक्रममा बोल्दै कार्यवाहक नगरप्रमुख संगीता सुवेदीले रंगशाला कोहलपुर नगरपालिकाको गौरवको आयोजना भएको बताइन् ।उनका अनुसार नगरपालिकाले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकता दिएको छ । सोहीअनुसार नगरपालिकाले आफ्नै लगानीमा पश्चिम क्षेत्रकै अत्याधुनिक सुविधासहितको रंगशाला निर्माण कार्य सुरु गर्न लागेको हो । ‘रंगशाला शिलान्यास भएको छ । नगरपालिका आफैँले निर्माण गर्न लागेको हो । समयमै सम्पन्न गर्न म निर्माण व्यवसायीलाई आग्रह गर्दछु । यो नगरपालिकाको गौरवको आयोजना हो,’ उनले भनिन् ।
लामो समयको प्रयासपछि फुटबल रंगशाला निर्माण कार्य औपचारिक रूपमा सुरु भएको कोहलपुर–२ का वडाध्यक्ष हरि कठायतले बताए ।उनका अनुसार अहिलेसम्म नगरपालिकामा कुनै सुविधासम्पन्न रंगशाला छैन । कोहलपुरलाई खेलकुदको हब बनाउने उद्देश्यअनुसार तेह्र बिघा मैदानलाई रंगशालामा परिणत गर्न लागिएको वडाध्यक्ष कठायतले बताए । पहिलो चरणमा नगरपालिकाले आफैँ सुरु गरेको र प्रदेश र संघीय सरकारसँग पनि थप बजेट माग गरिएको छ ।
रंगशाला निर्माणका लागि कोहलपुर नगरपालिकाले ब्रिक कन्सल्टेन्ट प्रालिसँग मिलेर तयार गरेको विस्तृत परियोजना प्रतिवेदन तयार गरेको थियो । डीपीआरअनुसार फुटबल रंगशाला निर्माणका लागि २२ करोड लागत लाग्नेछ । फुटबल रंगशाला निर्माण सम्पन्न गर्न कूल २२ करोड ७५ लाख ५४ हजार २ सय ७२ रूपैयाँँ २३ पैसा लागत लाग्ने डीपीआरमा उल्लेख छ । उक्त रकम लगानीमा रंगशालामा चारैतर्फ सुविधासम्पन्न प्याराफिट निर्माण गरिनेछ ।
यस्तै बाउन्ड्री वाल, होस्टेल ब्लक, चौशालय, पार्किङ स्थल लगायतका संरचना निर्माण हुनेछन् । यस मैदानमा तीन वर्षदेखि लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो धनराशीको फुटबल प्रतियोगिता मुख्यमन्त्री कोहलपुर गोल्डकप सञ्चालन हुँदै आएको छ । कोहलपुर–२ स्थित कोहलपुर रेसिङ साहारा क्लबको आयोजना प्रतियोगिता सञ्चालन हुँदै आएको हो । यही मैदानमा गोल्डकपको चौथो संस्करण सञ्चालन गर्ने तयारीसमेत भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्