खस्किदै बाँकेको सुरक्षाः नेपालगन्जमै सुरक्षाकर्मीको विभत्स हत्या



नेपालगन्ज ।

बाँकेको नेपालगन्ज बजारभित्रै एक सुरक्षाकर्मीको विभत्स तरिकाले हत्या भएको छ । राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत एक जना सहायक सूचकको हत्या भएको हो । नेपालगन्ज १८ लग्दहवास्थित तोरीबारीमा सहायक सूचकको हत्या गरि फालिएको अवस्थामा शुक्रबार विहान ११ बजेतिर शव भेटिएको थियो ।

सोही वडामै घर भएका राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक २७ वर्षिय प्रविण थापाको हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए ।

‘राष्ट्रिय अनुसन्धानमा कार्यरत एक सुरक्षाकर्मीको हत्या भएको अवस्थामा शव भेटिएको हो’ उनले शुक्रबार राती मिसन टुडेसँग कुरा गर्दै उनले भने, ‘अन्य कुरा केही खुल्न सकेको छैन । हामीले अनुसन्धान अगाडि बढाइसकेका छौं ।’

हत्या गरिएका प्रविण नेकपा बाँकेका नेता डम्बर थापाका छोरा हुन् । राष्ट्रिय अनुसन्धान कार्यालय बाँके स्रोतका अनुसार उनी बिहीबार अपरान्ह सवा पाँच बजेसम्म कार्यालयकै सम्पर्कमा थिए ।

हत्या गरिएका प्रविणको टाउकोका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेको जस्तो घाउ, शरिरभरी निलडाम रहेको प्रहरी स्रोतले जनाएको छ । उनले प्रयोग गर्ने मोटरसाइकल घटनास्थल नजिकै आँप बगियामा फेला परेको थियो ।

नेपालगन्ज बजारभित्रै राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत एक सुरक्षाकर्मीको विभित्स तरिकाले हत्या भएको हो । सुरक्षाकर्मीहरुको बलियो उपस्थिती रहने स्थानमा नै सुरक्षाकर्मीको हत्या भएपछि बाँकेबासी त्रसित बनेका छन् । नेपालगन्ज १८ काँरकादो चोकदेखि करिब १५ मिटर पुर्वको तोरीबारीमा हत्या गरि फालिएको अवस्थामा राष्ट्रिय अनुसन्धानमा कार्यरत सहायक सूचकको शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले घटनाबारे सुक्ष्म रुपमा अनुसन्धान अगाडि बढाइएको जानकारी दिए । ‘घटनास्थलको क्राइम सिन हेर्दा कसैले कर्तव्य गरेको जस्तो नै देखिन्छ’ उनले भने, ‘केही मानिसहरुलाई ल्याएर सोधपुछ गरिरहेका छौं ।

तर अहिलेसम्म केही खुल्न सकेको छैन । चाँडै नै दोषिलाई नियन्त्रणमा लिन्छौं ।’ बाँके प्रहरीले घटनालगत्तै विभिन्न टोली बनाएर अनुसन्धानको लागि सादा पोशाकमा ठूलो संख्यामा परिचालन गरेको छ ।

घटनास्थलमा प्रहरीले तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको थियो । कुकुर घटनास्थलबाट एक किलोमिटर उत्तरतिर पुगेर रोकिएको प्रहरी उपरीक्षक रानाले जानकारी दिए ।

‘अनुसन्धानको लागि हामीले घटनास्थलमा तालिमप्राप्त कुकुरको पनि प्रयोग गरेका थियौं’ उनले भने, ‘मृतक प्रयोग गर्ने मोटरसाइकल भेटिएको आँप बगियामा पुगेर कुकुर रोकियो । यही बाटो भएर हत्याराहरु भागेको हुनसक्ने देखिन्छ ।’

घटनास्थलमा बाँकेका प्रहरी प्रमुख रामबहादुर कुरुम्बाङ, प्रहरी प्रमुख प्रहरी उपरीक्षक राना लगायतका अन्य सुरक्षा निकायका प्रमुखहरु समेत पुगेका थिए ।

यसैबीच बाँकेको जानकी गाउँपालिका २ मा शुक्रबार नै एक पुरुषको शवं भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पहिचान खुल्न नसकेका एक पुरुषको शव सडक छेउको नालामा भेटिएको हो ।

उनको शवलाई प्रहरी पोस्टमार्टमको लागि नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याएको छ । अन्दाजी ५५ वर्षिया पहिचान नखुलेका पुरुषको हत्या वा अन्य कारणले मृत्यु भएको हो या होइन भन्नेबारे केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ ३ गते शनिबार