बर्दियामा देउसी खेल्न रोक



बर्दिया ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले तिहारमा देउसी दैलो खेल्न रोक लगाएको छ । प्रशासनले एक सूचना जारी जिल्लाबासीलाई तिहारमा देउसी दैलो नखेल्न र भिडभाड नगर्न आग्रह गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कायमै रहेकोले आफु रहेकै स्थानमा घरपरिवारका सदस्यहरु बीचमा मात्र तिहार, छठ मनाउन जिल्ला प्रशासनले सबैमा अपिल गरेको छ ।

मंगलबार बसेको जिल्ला सुरक्षा सुरक्षा समिति बर्दियाको बैठकले कुनै साँस्कृतिक कार्यक्रम, सभा, सम्मेलन, खेलकुद तथा मेला महोत्सव जस्ता कार्यक्रम पनि आयोजना गर्न नदिने निर्णय गरेको थियो ।

समुहमा देउसी भैलो खेल्दा कोरोना संक्रमणको जोखिम बढी हुनसक्ने भएकाले रोक लगाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी जानकारी दिए ।

‘अहिले विगतका वर्षजस्तो अनुकुल समय छैन । त्यसैले तिहारमा देउसी भैलो नखेल्न सबैलाई अनुरोध गरेका छौं’ उनले भने, ‘अन्य भिडभाड, मेला, महोत्सव लगाउने जस्ता गतिविधी समेत गर्न पाइने छैन ।

प्रशासन कार्यालयले आतसबाजी, पटाका, झिरझिरे, भुईचम्पा लगायतका विस्फोटजन्य पदार्थहरुको ओसारपसार, बिक्रि वितरण एवम् प्रयोग नगर्न र नगराउन आग्रह गरेको छ ।

निर्णयहरु कार्यान्वयन गराउनको लागि सम्बन्धित पालिकाहरु, संघसस्थाहरु, राजनितिक दल, नागरिक समाज लगायतलाई प्रजिअ अधिकारीले अनुरोध गरे ।

तोकिएका कार्यहरु उल्लंघन गर्नेहरुलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय बर्दियाले चेतावनी दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक २७ गते बिहीबार