बाँकेको कोहलपुर नगरपालिकाका सबै वडामा तिहार लगत्तै अपांगता भएका व्यक्तिहरुलाई डिजिटल परिचयपत्र वडाबाटै वितरण गरिने भएको छ ।
बाँकेमै पहिलो पटक २०७२ देखि महिला तथा बालबालिका शाखाबाट वितरण गरिदै आएकोमा तिहार लगत्तै वडाबाटै वितरण गरिने भएको हो ।
कोहलपुरमा अहिले पनि अपांगता भएका व्यक्तिहरुलाई डिजिटल परिचय वितरण गरिदै आएको छ । नगरपालिकामा रहेका अपांगता समन्वय समितिले अपांगता भएका व्यक्तिहरुको समस्यालाई मध्यनजर गर्दै अबदेखि वडाबाट वितरण गरिने जनाएको छ ।
कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जुकुमारी चौधरीले पनि कोरोनाका कारण बीचमा रोकिएको डिजिटल परिचयपत्र वितरण गर्ने सुरु भएको भन्दै अब भने वडामा गएर वितरण गरिने बताइन् ।
उनका अनुसार अपांगता भएका व्यक्तिलाई डिजिटल परिचयपत्र वितरण गर्ने कोहलपुर पहिलो स्थानीय तह हो । व्यक्तिको सम्पूर्ण विवरणसहितको राम्रो गुणस्तरको पानीमा खस्दासमेत नबिग्रने किसिमको परिचयपत्र वितरण गर्न सुरु भइसकेको उनले जानकारी
दिइन् । अपांगता समन्वय समितिको मंगलबार बसेको बैठकले पनि वडाबाटै परिचय वितरण गर्ने निर्णय गरेको थियो ।
‘केही समय बन्द रहेको सेवा खुलेको छ । अब अपांगता भएका व्यक्तिहरुको सहजताका लागि वडाबाटै वितरण गर्दैछौं । तिहार लगत्तै सुरु हुन्छ ।’ उपप्रमुख चौधरीले भनिन् । नगरस्तरीय महिला तथा बालबालिका शाखाका महिला विकास अधिकृत रिना थापाका अनुसार मंगलबार १५ जनालाई डिजिटल पत्र वितरण गरिएको छ ।
उनले ७ महिला र ८ पुरुषलाई कार्यालयमा परिचय पत्र वितरण गरिएको जानकारी दिइन् । उनले अहिले पाँच सयको हाराहारीमा परिचय पत्र वितरण भइसकेको जानकारी दिइन् ।
यस्तै अपांग नवजीवन केन्द्र बाँकेका अध्यक्ष दयाराम अधिकारी अपांगता व्यक्तिलाई डिजिटल प्रमाणपत्र वितरण गर्ने कार्य स्वागतयोग्य रहेको बताए । उनका अनुसार कोहलपुर नगरपालिकाको महिला तथा बालबालिका शाखामा हेल्प डेक्स समेत स्थापना गरेको छ ।
त्यहाँ कार्यालयमा सेवा लिन आएका अपांगता भएका व्यक्तिहरुलाई सुलभ सेवा प्रदान गरिने उनको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्