बाँकेमा एसपीका घुमुवाको आंतकः मध्यरातमा घुमुवाको उद्धार गर्न डिएसपीलाई सास्ती



बाँकेका एसपी ओमबहादुर रानाको प्रत्यक्ष निर्देशनमा परिचालन हुनेगरी खटेका दुई सादा पोशाकका प्रहरी जवान मध्यरातमा कोहलपुर बसपार्क नजिकैको एक घरमा पुगेका थिए । मदिरा सेवन गरेर पुगेका उनीहरुले जुवा खेलेको नभेटेपछि विभिन्न साग्रगीहरु तोडफोड गर्न उत्रिए । आफुसँग भएको पेस्तोल देखाउँदै कुर्सी लगायतका साना साम्रगीहरु तोडफोड गर्न थालेपछि ज्यान बचाउन घरधनी उनीहरुलाई घरभित्रै थुन्न बाध्य भए ।

कृष्ण ओली । कोहलपुर ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओम बहादुर रानाले खटाएका सादा पोशाकका प्रहरीले कोहलपुरमा आंतक मच्चाएका छन् ।

प्रहरी उपरीक्षक रानाले व्यक्तिगत रुपमा खटाएका दुई जना सादा पोशाकका प्रहरी जवानहरुले मदिरा सेवन गरेर शुक्रबार मध्यराती आंतक मच्चाएका हुन् ।

बसपार्क नजिकै रहेको अमृत गिरीको घरमा जुवा भइरहेको सूचनाको आधारमा एसपी रानाको निर्देशनमा शुक्रबार राती करिब साढे एक बजे त्यहाँ पुगेका थिए ।

जिल्लाबाट खटिएको सादा पोशाकको टोलीलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले सहयोग गरेको थियो । ढोका खोल्ने वित्तिकै घरभित्र पसेका सादा पोशाकका प्रहरीले सूचना पाएजस्तो कुनै कुराहरु भने पाएनन् ।

सूचना अनुसारको काम नभएपछि फर्किनुपर्ने उनीहरुले घरमा रहेका मानिसहरुसँग विवाद गर्न थाले । एसपी रानाले सादा पोशाकमा खटाएका प्रहरी जवान भिम बहादुर डाँगी र अर्जुन मगर मदिरा सेवन गरेर त्यहाँ पुगेका थिए ।

मदिरा समेत सेवन गरेका उनीहरुले बबाल मच्चाउन थालेपछि सुरक्षाको लागि उनीहरुलाई घरबेटीले घरभित्रै थुनेका हुन् । ‘मध्यरातमा मदिरा सेवन गरी पुगेका दुई सादा पोशाकका प्रहरीमध्ये एक जनाले त अती नै गरे’ सोही घरमा रहेका एक व्यक्तिले नाम नबनाउने सर्तमा भने, ‘आफ्नो काम गरेर फर्किएको भए यस्तो घटना हुने थिएन ।’

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले सामान्य घटना भएको बताए । ‘जुवा खेलाइरहेको सूचना आएपछि हाम्रो टोली त्यहाँको पुगेको रहेछ’ उनले भने, ‘काम गर्ने सिलसिलामा केही गल्ती भएको हुनसक्छ ।’

उनले बाहिर आएजस्तो प्रहरीको गल्ती नभएको दाबी गरे । ‘चाडपर्वमा जुवा तास भइरहेको सूचना आएपछि टोली पुगेको साँचो हो’ प्रहरी उपरीक्षक रानाले भने, ‘काम गर्ने क्रममा केही गल्ती भएका हुनसक्छन् ।’

तपाईले व्यक्तिगत रुपमा दुई जनालाई सादा पोशाकमा खटाउनुभएको रहेछ नी ? भन्ने मिसन टुडेको प्रश्नमा उनले कार्यालयबाट नै सूचना संकलनको लागि खटाइएको दाबी गरे ।

‘कार्यालयको आवश्यकताका लागि सूचना संकलनको लागि खटाइएको हो’ उनले भने, ‘मैले व्यक्तिगत रुपमा खटाएको भन्न मिल्दैन ।’

घरधनीले थुनेका सादा पोशाकका प्रहरीलाई साढे २ घण्टापछि इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले उद्धार गरेर जिल्ला प्रहरी कार्यालयमा पु¥याएका थिए । यसबारे प्रहरी नायब उपरीक्षक चन्दसँग बुझ्न खोज्दा फोनमा कुरा नगर्ने भन्दै कार्यालयमै आउन आग्रह गरे ।

‘यसबारे फोनमा धेरै कुरा नगरौं’ उनले भने, ‘नजिकै हुनुहुँदो रहेछ, यतै कार्यालय तिरै आउनुहोस् । थप कुरा यतै गरौला ।’ आरोपित प्रहरी जवान भिम बहादुर डाँगीले आफुहरुले माथिल्लो कमाण्डरको आदेश मात्र पालना गरेको बताए । ‘हामी त्यहाँ पुगेकै हो’ उनले भने, ‘त्यहाँ के भएको थियो भन्नेबारे माथिल्लो निकायलाई नै बुझ्नुहोला ।’

यो घटनाबारे जिल्ला प्रहरी कार्यालय बाँकेले लुम्बिनी प्रदेश प्रहरी कार्यालय तथा प्रहरी प्रधान कार्यालयमा आइतबार साँझसम्म जानकारी गराएको थिएन ।

यो घटनाबारे नबोल्न जिल्लाका अन्य प्रहरी अधिकारीहरुलाई समेत एसपी रानाले मौखिक निर्देशन नै दिएको बताइन्छ । शुक्रबार मध्यराती घटना भएपनि एसपी रानाकै योजना अनुसार घटनालाई आइतबार साँझसम्म गुपचुप राखिएको थियो ।

यो घटनामा एसपी रानाको नियत ठिक नदेखिने प्रहरी अधिकारी बताउँछन् । ‘सूचनाको आधारमा घरमा प्रहरी टोली पुग्नु कुनै नौलौं कुरा त होइन’ बाँके प्रहरीको प्रमुख भइसकेका एक प्रहरी अधिकारीले भने, ‘सादा पोशाकमा प्रहरी खटाउनेको नियत कस्तो थियो भन्ने बुझ्नुपर्छ ।

राम्रो नियत राखेको भए यस्तो घटना नहुन पनि सक्थ्यो ।’ यता लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी रवीन्द्र सिंह धानुकले घटनाबारे आफुलाई जानकारी नभएको बताए ।

‘जिल्लाले यसबारे हामीलाई कुनै जानकारी नै दिएको छैन’ उनले भने, ‘म घटनाबारे बुझ्न लगाउँछु । गल्ती देखिए सबैलाई कारबाही हुन्छ ।’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक कुवेर कडायतले पनि घटनाबारे जानकारी नभएको बताए ।

‘मलाई यस घटनाबारे जानकारी छैन’ उनले भने, ‘म यसबारे बाँकेको एसपीसँग जानकारी लिन्छु ।’ घटनामा दोषि पाइए संग्लन प्रहरीमाथि कारबाही हुने उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक १७ गते सोमबार