दाङ ।
दाङका वादी तथा गन्धर्व महिला तरकारीखेतीबाट आत्मनिर्भर बन्न थालेका छन् । उनीहरूले गरे के हँुदैन भन्ने उदाहरण गन्धर्व समुदायलाई सिकाएका छन् । अर्काकोमा मजदुरीमा सीमित यहाँका वादी तथा गन्धर्व महिलाले आफ्नै किसानी काम गरेपछि हाताभरि पैसा थाप्न सकिन्छ भन्ने उदाहरण अन्य दिदीबहिनीलाई सिकाएका हुन् ।
यसको पछिल्लो उदाहरण यहाँका महिलाले गरेको तरकारीखेतीले पुष्टि गरेको छ । उहाँहरूले यतिखेर काक्रा, टमाटर, प्याज, भान्टा, भिन्डी, धनियालगायतको तरकारीखेती गरेका छन् । तरकारी बिक्रीबाट आम्दानी बटुल्न थालेपछि मजदुरी होइन, उद्यमी बन्दा प्राप्त हुने प्रतिफलले जीवनमा सकारात्मक परिवर्तन आउँदोरहेछ भन्ने अनुभूति भएको बबई गाउँपालिकाकी शारदा गन्धर्वले बताइन् ।
इन्द्रेणी कृषि समूह गठन गरी तरकारीखेतीको सुरुवात गरेका बबईका महिलाले विगत चार वर्षदेखि इन्टिग्रेटेट पेष्ट मेनेजमेन्ट (आइपिएम) प्रविधिबाट तरकारीखेती गर्न थालेका हुन् । अहिले शारदासँगै त्यहाँका अतिविपन्न १० जना महिला उनीसँगै तरकारीखेतीमा व्यस्त छन् । शारदा गन्धर्वले भनिन्, ‘सरकारले घर बनाइदियो । तर, गरिखाने अवस्था भएन । सुरुमा अर्काको जग्गा भाडामा लिएर तरकारीखेती गरेँ । आम्दानी भयो, त्यो देखेर अरु १० दिदीबहिनी पनि मसँगै तरकारीखेती गर्न आए ।’
अहिले १० जना गन्धर्व महिलाले स्थानीयको दुई बिघा जग्गा मासिक रु ३० हजार भाडामा लिएर मौसमी र बेमौसमी तरकारीखेती गर्दै आएका छन् । उनीहरूले उत्पादन गरेका तरकारी केही बारीबाट केही हापुरे तथा तुलसीपुर बजारमा बिक्री गर्दै आएका छन् । त्यसैगरी, सोही ठाउँमा तरकारीखेती गरेकी ४५ वर्षीया वसन्ती गन्धर्वले तरकारीखेतीले आफ्नो जीवनमा नयाँ परिवर्तन ल्याएको बताइन् ।
उनले भनिन्, ‘यसअघि हाम्रो घरबास त थियो, तर दैनिक रूपमा जीवन चलाउनका लागि कुनै माध्यम थिएन । तरकारीखेतीले जीवन सहज भएको छ ।’ यहाँ गरेको तरकारीखेती अवलोकन गर्न विभिन्न संघसंस्था तथा सरकारी निकायका प्रतिनिधि आउने गरेको पनि उनले बताइन् । समाजमा अतिविपन्न तथा पछिडिएका महिलाले उत्पादनमा देखाएको उत्साहले अरुलाई थप प्रेरण मिलेको यहाँका उद्यमीहरूले बताउँदै आएका छन् ।









प्रतिक्रिया दिनुहोस्