आइसोलेसन र क्वारेन्टिन निर्माणको विरोध



कोहलपुर ।

बाँकेको कोहलपुरमा आइसोलेसन र क्वारेन्टिन बनाउन खोजिएपछि स्थानीय विरोध जनाएका छन् । कोहलपुरस्थित कृषि विकास बैंकको क्षेत्रीय तालिम केन्द्रमा आइसोलेसन र बागेश्वरी बहुमुखी क्याम्पसमा क्वारेन्टिन बनाउन खोजिएको थियो । तालिम केन्द्रमा आइसोलेसन बनाएर कोरोना संक्रमित बिरामीहरु ल्याउन लागेको भन्दै पिपिरीका केही स्थानीयहरुले विरोध गरेका थिए । तालिम केन्द्रको गेष्ट हाउसलाई आइसोलेसन अस्पतालको रुपमा रुपान्तरण गरेर कोरोना संक्रमित उपचार गर्ने निर्णय गरिएको थियो । सोही अनुसार सोमबार नरैनापुरका कोरोना पुष्टी भएका केहीलाई ल्याउने तयारी भएपछि स्थानीयहरुले ल्याउन नदिने भन्दै विरोध जनाएका हुन् ।

खबर पाउने बित्तिकै केही स्थानीय तालिम केन्द्रको गेटमा पुगेर विरोध प्रर्दशन गरेका थिए । कोहलपुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष रेशम बहादुर खत्रीले वडा सरकारलाई समन्वय नगरेर गरिएको निर्णय मान्य नहुने बताए । ‘यहाँबाट भन्दा सुविधासम्पन्न अस्पताल रहेका नेपालगञ्जलाई छोडेर तालिम केन्द्रको गेष्ट हाउसमा कोरोना संक्रमितहरु राख्ने कुरा मान्य हुँदैन’ उनले भने, ‘सुविधा लिदा नेपालगञ्जले लिने कोरोनाका बिरामी चाही गाउँ कोहलपुरमा पठाउने ।’ पुर्वाधार समेत नभएको तालिम केन्द्रमा आइसोलेसन बनाएर कोरोना संक्रमितहरु राख्न लागिएको भन्दै मंगलबार अबेर रातीसम्मै स्थानीयहरु धर्नामा बसेका थिए ।

‘कोरोना संक्रमित ल्याउने भनेपछि स्थानीयबासीमा त्रास छाएको छ’ वडाध्यक्ष खत्रीले भने, ‘स्थानीय स्तरमा समन्वय नगरेर जिल्लाले नै निर्णय गर्दा समस्या आएको हो ।’ स्थानीयहरु कोरोना संक्रमित भाग्न सक्ने भएकाले पुरै गाउँलाई नै संक्रमणको जोखिम हुने भएकाले विरोध गरिएको बताउँछन् । यसअघि नै भारतबाट फर्केका २५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु वडा न. ८ र ९ का हुन् । क्वारेन्टाइनमा बसेका उनीहरुलाई बागेश्वरी बहुमुखी क्याम्पसमा सार्ने र नरैनापुरमा रहेका संक्रमितहरुलाई तालिम केन्द्रमा व्यवस्थापन गर्ने स्थानीय प्रशासनले निर्णय गरेको थियो । नरैनापुरमा आइसोलेसन नभएका कारण संक्रमितलाई त्यहाँबाट सार्न खोजिएको हो ।

कृषि तालिम केन्द्रबाट अन्यत्र सार्न खोजिएको भन्दै पहिल्यैदेखि केन्द्रमा बसिरहेका २५ जनाले पनि विरोध जनाएका थिए । क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई बागेश्वरी बहुमुखी क्याम्पसमा ल्याउन थालेको खबर पाएपछि आसपासका स्थानीयहरुले कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतलाई घेराउ गरेका थिए । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलचन्द्र चन्दले नरैनापुरबाट कोरोना संक्रमित व्यक्तिहरुलाई ल्याउन लागेको भन्दै स्थानीयहरु सडकमा उत्रिएको बताए । ‘बागेश्वरी बहुमुखी क्याम्पसमा राख्न खोज्यो त्यही विरोध ।

राम माविमा राख्न खोज्यो त्यही विरोध भइरहेको छ,’ उनले भने, ‘यस्तो संकटका बेला स्थानीयले विरोध गर्दा काम गर्न असहज भइरहेको छ ।’ खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालको आइसोलेसन वार्ड भरिएपछि समस्या भएको हो । मंगलबार बसेको सुरक्षा बैठकले नेपालगञ्जस्थित लायन्स डेन्टल अस्पताल र कोहलपुर नगरपालिकास्थित कृषि विकास बैंकको तालिम कक्षमा आइसोलेसन वार्ड बनाएर उनीहरुलाई ल्याउने निर्णय गरेको थियो । यो समाचार तयार पार्दासम्म कृषि विकास बैंकको तालिम केन्द्रमा कोरोना संक्रमितहरु ल्याइएको थिएन । स्थानीयबासीहरु पनि समाचार तयार पार्दासम्म समेत तालिम केन्द्रको गेट र सडकमा स्थानीयबासीहरुले धर्ना दिइरहेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ७ गते बुधबार