काठमाडौँ ।
आइतबारदेखि पश्चिमी वायुको प्रभाव बढ्ने र त्यसका कारण देशका पश्चिमी क्षेत्रका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ । विभागकी प्रवक्ता विभूति पोखरेलका आज शनिबार देशभरको मौसम सामान्यतया सफा रहनेछ । योबेला दिन पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि ठूलो मौसमी परिवर्तनको सम्भावना छैन ।
तर आइतबारदेखि पश्चिमी वायुको प्रभावका कारण मौसममा परिवर्तन आउने उनले बताइन् । विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षा र हिमपात हुन सक्ने छ । यसको प्रभाव गण्डकी प्रदेशसम्म फैलिन सक्ने अनुमान छ । त्यस्तै, बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि छिटपुट वर्षा हुन सक्ने सम्भावना रहेको उनले जानकारी दिइन् । वर्षासँगै केही स्थानमा मेघगर्जन, चट्याङ र असिना पनि पर्न सक्ने भएकाले किसानलाई विशेष सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।
अहिले खेतमा काट्न बाँकी रहेको धानबाली र काटेर सुकाउन राखिएको धान तथा परालमा वर्षा र असिनाले क्षति पु¥याउन सक्ने भएकाले सुरक्षित राख्नुपर्ने पोखरेलले बताइन् । ‘आइतबारदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएकाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । वर्षासँगै केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासमेत पर्न सक्छ,’ पोखरेलले भनिन्, ‘धानबाली काट्न बाँकी रहेका किसानले मौसमको अवस्था हेरेर बाली भित्र्याउन र काटिसकेको धान तथा पराल सुरक्षित राख्न आवश्यक सावधानी अपनाउनुपर्छ ।’
पोखरेलका अनुसार अहिले देखिएको मौसमी प्रणाली ठूलो र व्यापक प्रभाव पार्ने खालको छैन । त्यसैले भारी वर्षाको सम्भावना नरहे पनि पहाडी क्षेत्रमा मध्यमसम्म वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमसम्म हिमपात हुन सक्छ । पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा हिउँदमा पनि वर्षा र हिमपात हुने गर्छ । यस्तो वर्षाले हिउँदे बालीका लागि आवश्यक चिस्यान उपलब्ध गराउने भएकाले कृषि उत्पादनका दृष्टिले लाभदायकसमेत हुन सक्ने मौसमविद्को भनाइ छ ।
उनका अनुसार पश्चिमी वायुबाट विकसित हुने न्यूनचापीय प्रणाली सामान्यतया छिटो एक ठाउँबाट अर्को ठाउँमा सर्ने प्रकृतिको हुन्छ । त्यसैले यसले कुनै स्थानमा केही समय वर्षा गराएर प्रभाव पार्ने गर्छ । असिना पनि सबै क्षेत्रमा नभई निश्चित स्थानमा मात्रै पर्ने सम्भावना हुन्छ । यस वर्ष मनसुनका बेला एल निनोको प्रभावका कारण कम वर्षा हुन सक्ने आकलन गरिए पनि नेपालमा अपेक्षाकृत नियमित वर्षा भएको पोखरेलले बताइन् ।
तर मनसुन र हिउँदमा एल निनोको प्रभाव फरक हुने भएकाले मनसुनमा कम वर्षा भयो भन्दैमा हिउँदमा पनि सुक्खा हुन्छ भन्ने निष्कर्ष निकाल्न नमिल्ने उनको भनाइ छ । ‘हिउँदमा एल निनोको प्रभाव मनसुनको तुलनामा फरक हुने भएकाले यसले वर्षालाई अनिवार्य रूपमा घटाउँछ भन्ने हुँदैन । पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा हिउँदे वर्षा र हिमपात हुन सक्छ,’ उनले भनिन् ।









प्रतिक्रिया दिनुहोस्