जलवायु परिवर्तनको मारमा स्थानीय



डिल्ली कामी 

जुम्ला तातोपानी गाउँपालिका–६, हियाखोलामा पानीका प्राकृतिक स्रोतहरू दिनानुदिन सुक्दै गएका छन् । गाउँको प्रमुख जलस्रोत मानिएका मूलहरू हराउँदै जाँदा स्थानीय जनजीवन मात्र होइन, खेतीपाती र पशुपालनमा समेत ठूलो संकटमा परेको छ । जलवायु परिवर्तन, अनियमित वर्षा र बढ्दो वन फँडानीलाई यसको मुख्य कारकका रूपमा देखाइएको छ ।

वन फँडानी र यातायात विस्तारको असरको रूपमा रहेका छन् । हियाँखोलाका स्थानीय हरिबहादुर कामीका अनुसार पछिल्ला वर्षहरूमा गाउँ वरिपरिको वनक्षेत्रमा भइरहेको तीव्र फँडानीले पानीका मुहान सुक्ने समस्या देखिएको हो । उनले भने, ‘यातायात र सडक विस्तारसँगै वन फँडानी बढेको छ । फलस्वरूप भूमिगत पानीका स्रोतहरू क्रमश ः हराउँदै गएका छन् ।

अर्गानिक खेतीयोग्य जमिनमा समेत उत्पादन घट्दै गएको छ, जसले स्थानीयको खाद्य सुरक्षामै प्रश्न खडा गरेको छ ।’ वन फँडानीले माटो संरक्षण कमजोर बनाउँछ र वर्षा भए पनि पानी जमिनभित्र जाने अवसर नपाई सतहमै बग्ने भएकाले मूलहरू सुक्दै जाने तथ्यलाई विज्ञहरूले समेत पुष्टि गर्दै आएका छन् ।

अनियमित वर्षा र हिउँ नपर्ने समस्या

त्यस्तै, स्थानीय कृष्ण रोकायाले मौसमीय चक्रमा आएको असामान्य परिवर्तनलाई मूल सुक्ने अर्काे कारणका रूपमा देखाएका छन् । उनले भने, ‘पहिलाजस्तो हिउँदमा हिउँ पर्दैन, बर्खामा पनि समयमा वर्षा हुँदैन । हिउँ पानीको ठूलो स्रोत मानिन्थ्यो तर अहिले त्यो हराउँदै गएको छ । वर्षा ढिलो हुनु वा अत्यधिक हुनु दुवै अवस्थामा खेतीमा असर परेको छ ।’ अनियमित वर्षाका कारण एकातिर बाली सुक्ने, अर्कोतिर असिनापानी र पहिरो जस्ता विपत्तिले जनधन र सम्पत्तिमा क्षति पु¥याइरहेको स्थानीयको अनुभव छ ।

स्थानीय सरकारको दृष्टिकोण

तातोपानी गाउँपालिका–६ का वडा अध्यक्ष बिशाल खड्काले विश्वव्यापी जलवायु परिवर्तनकै असर स्थानीयस्तरमा स्पष्टरूपमा देखिएको बताए। उनका अनुसार पानीका स्रोत सुक्नु, खेतीमा उत्पादन घट्नु, वातावरणीय सन्तुलन बिग्रनु जस्ता समस्याहरू जलवायु संकटकै प्रत्यक्ष परिणाम हुन् । उनले भने, ‘यसबाट बच्न समुदाय आफैँ अग्रसर भएर वन संरक्षण र वृक्षारोपणमा ध्यान दिनुपर्छ । जलवायु परिवर्तनसँग लड्न बाहिरी सहयोग मात्रै पर्याप्त हुँदैन, स्थानीयस्तरको पहल अनिवार्य छ ।’

युवामुखी सचेतना कार्यक्रम

जलवायु परिवर्तनका असरबाट बच्न र अनुकूलन उपायलाई समुदायमा फैलाउन सेभ द चिल्ड्रेन र सहयात्रा तेस्रो परियोजनाले स्थानीय युवालाई लक्षित गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । परियोजनाका दिपेश आचार्यका अनुसार, युवालाई सचेत बनाए जलवायु संकटविरुद्ध लामो समयसम्मको प्रभावकारी पहल गर्न सकिन्छ ।

उनले भने, ‘समुदायस्तरमा अभिमुखीकरण, प्रशिक्षण र सचेतना कार्यक्रम सञ्चालन गरेर युवालाई नेतृत्व दिने उद्देश्य लिइएको छ । यदि अहिलेबाटै सचेत हुन सकियो भने भविष्यमा केही हदसम्म सुधार सम्भव छ ।’

भविष्यप्रतिको चिन्ता

हियाखोलाका पानीका स्रोत सुक्दै जानु केवल प्राकृतिक समस्या मात्र नभई सामाजिक र आर्थिक संकटसमेत हो । खानेपानीको अभाव, खेतीमा गिरावट र पशुपालनमा देखिएको चुनौतीले यहाँको जीवनयापन थप कठिन बनाएको छ । यदि समयमै संरक्षणका उपाय अपनाइएन भने गाउँमा पानीको ठूलो संकट देखापर्ने र स्थानीयलाई बसाइँसराइ गर्न बाध्य पार्ने अवस्था आउन सक्ने स्थानीयको भनाइ छ ।

निष्कर्ष ः

तातोपानी गाउँपालिका–६, हियाखोलामा पानीका मूल सुक्नु जलवायु परिवर्तनकै प्रत्यक्ष परिणाम हो । वन फँडानी नियन्त्रण, वृक्षारोपण, पानीका स्रोत संरक्षण र सचेतनामूलक अभियानलाई अझ प्रभावकारी बनाउन सकेमा भने यस समस्यामा केही हदसम्म कमी ल्याउन सकिने विश्वास गरिएको छ । युवाको सक्रियता, स्थानीय सरकारको योजना र समुदायको एकताबद्ध प्रयासमार्फत मात्र हियाखोलाका सुक्दै गएका पानीका मूलहरूलाई जोगाउन सकिने देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ ३१ गते मंगलबार