
युवराज पौडेल, अध्यक्ष पदका उम्मेदवार भेरी शीतभण्डार सहकारी संस्था
भेरी शीतभण्डार सहकारी संस्थाको अध्यक्ष पदमा तपाईँको उम्मेदवारी किन र के का लागि ?
भेरी शीतभण्डार सहकारी संस्था जुन उद्देश्यले स्थपना भएको थियो । त्यसका केही उद्देश्यहरू आजका दिनसम्म पूरा भए पनि धेरै कुराहरू अझै अधुरै रहेका छन् । किसानको उत्पादन सुरक्षित भण्डारण गर्नुका साथै संस्थाको स्थापनाकालदेखिका लक्ष्यहरू पूरा गर्न अध्यक्ष पदमा मेरो उम्मेदावरी हो । यदि मेरो नेतृत्वमा रहेको टिम निर्वाचित भयो भने किसानलाई पहिलो प्रथामिकतामा राखेर काम गर्नेछौँ । त्यसले किसानहरूले आफ्नो संस्था रहेको महसुस गर्न पाउने गरेर काम गर्नेछौँ । यति मात्र नभई मैले गर्ने कामहरूको प्रतिबद्धता जाहेर गरिसकेको छु ।
भेरी शीतभण्डार सहकारी संस्थाको जुन उद्देश्य र लक्ष्य राखेर स्थापना भएको थियो । त्यो पूरा भएको पाउनु भएको छ कि छैन् ?
हाम्रा अग्रजहरूले किसानहरूबाट उत्पादित भएका कृषिजन्य वस्तुहरूलाई संकलन गरेर सुरक्षित भण्डारण गर्नका लागि भेरी शीतभण्डारको स्थापना गरेका थिए । तत्कालीन नगर विकास समितिले एक बिघा जमिन उपलब्ध गरायो । र, त्यहाँ हाम्रा अग्रजहरूले संस्थाको भवन निर्माण पनि गरे । विगतका समितिहरू र वर्तमान समितिहरूले पनि सकेसम्म भेरी शीतभण्डारको लक्ष्य प्राप्तिका लागि क्रियाशिल रहेर काम गरे । तर, जति हुनुपर्ने थियो त्यो हुन सकेको छैन् । त्यसलाई समधान गर्न मैले उम्मेदवारी दिएको छु ।
भेरी शीतभण्डार सहकारी संस्थामा अहिले ३८ सय सेयर सदस्य छन् । उनीहरूको सपना र परिकल्पना विगतका समितिहरूले पूरा गर्न सकेका छन कि छैनन् ?
सर्वप्रथम के जानकारी गराउन चाहन्छु भने भेरी शीतभण्डार स्थापना गर्दा तत्कालीन समितिले सहकारी बोर्डमार्फत अनुदानमा केही रकम ल्याएको थियो । जबकी नेपाल सरकारले वाषर््िाक बजेट कार्यक्रममा समेत भेरी शीतभण्डारलाई अनुदानको रूपमा दिने भनिए पनि रकम पछि उल्टो त्यसलाई सहकारी बोर्डले ऋणमा कन्भर्ट गरिदिएको छ । अहिले सहकारी विकास बोर्ड नै खारेज भइसकेको छ । त्यो ऋण होइन् अनुदान हो भनेर हामीले सरकारलाई पटक पटक ध्यानाकर्षणदेखि ज्ञापनपत्र बुझायौँ । तर, त्यो अहिले पनि ऋण कै रूपमा छ । जुन उद्देश्यले संस्थाको स्थापना भयो । त्यो उद्देश्यहरू पूरा भएका छैनन् । त्यही पूरा गर्नका लागि र सुरक्षित कृषिजन्य वस्तु भण्डारणका लागि मेरो उम्मेदवारी हो । मेरो नेतृत्वको टिम विजयी भए हामीले त्यसलाई अनुदानमा रुपान्तरण गर्न अहिलेको वर्तमान सरकारसँग सहकार्य र समन्वय गर्छाैँ । अहिलेको आधुनिक समयमा पनि शीतभण्डारमा बोरा बोकेर भण्डारण गर्नुपर्ने बाध्यता छ । त्यसलाई अन्त्य गर्नका लागि आधुनिक प्रविधि लिफ्ट जडान गर्ने लगायतका थुप्रै योजनाहरू लिएर हामी मैदानमा उभिएका छौँ ।
नेपाली किसानहरूलाई उत्पादनमा जोड्न कसरी प्रोत्साहन गर्नुहुन्छ र शीतभण्डारमा भण्डारण गर्न कसरी उत्पे्ररणा जगाउनु हुन्छ?
नेपाली किसानहरूलाई प्रोत्साहन गर्न हामीले मात्रै चाहेर सम्भव छैन् । अहिलेको वर्तमान सरकारले जसरी खुला सीमा नाकामा कडाइ गरेपश्चात् स्वदेशी किसानको उत्पादनले बजार पाएको छ । भन्सारमा कडाइ गरे कृषकहरू उत्पादनमा लाग्छन् र उनीहरूको मूल्यले बजार पाउनेमा म विश्वस्त छु । किसानहरूलाई समयमै मल, बीउ उपलब्ध गराउने दायित्व सरकारको हो । यदि मेरो नेतृत्वको टोली निर्वाचित भए किसानको मलखादको व्यवस्थापन, भण्डार र बजारको व्यवस्थापन गर्न पहल गर्छाैँ । नेपालमा प्राप्त मात्रामा उत्पादन भए हामीले पहिलो प्रथामिकता दिनेछौँ । त्यसमा पनि स्थानीय उत्पादनलाई जोड दिएर हामी अघि बढ्छौँ ।
जुम्ला, हुम्ला लगायतका कृषकहरूको स्याउ शीतभण्डारमा राख्दा केही बिग्रिएको भन्ने कुराहरू थिए । त्यस्तो हुन नदिन तपाईँले के र कस्ता योजना ल्याउनु भएको छ ?
तपाईँले भन्नुभएको कुरा गलत हो । ल्याउँदा गाडीमा लोड गर्दा र झार्दा बिग्रेको अवस्था भए हामीलाई थाहा भएन । नत्र त्यहाँ भण्डारण गरे त्यस्तो समस्या आउँदैन । त्यहाँ स्याउ, आलु, प्याज लगायतका स्टोर गर्ने ठाउँ फरक छन् । विगतमा हामीले कृषि ज्ञान केन्द्रहरूसँग समन्वय गरेर सुरक्षित भण्डारण गर्ने गरेका छौँ । किसानहरूले शीतभण्डारबाट पाउनुपर्ने सुविधा दिन हामी प्रतिबद्ध छौँ ।
भेरी शीतभण्डारको उपाध्यक्षका रूपमा काम गर्दै आउनु भएको छ । तपाईँले त्यहाँ रहेर कसरी र के काम गर्नु भएको छ ?
म संस्थाको निर्माण तथा खरिद व्यवस्थापन समितिको सदस्य हुँ । मैले प्रक्रियागत रूपमा ठूला काम गर्दा कोटेशन र साना काम गर्दा बील र भरपाईको आधारमा खरिद तथा भुक्तानी गर्ने गरेका छौँ । अर्काे कुरा शीतभण्डारलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न दलगत विचार र आस्थाभन्दा माथि उठेर सबैको अपनत्व हुने गरेर अघि बढे संस्थाको भविष्य राम्रो छ ।
सेयर सदस्यले तपाईँ अध्यक्ष पदको उम्मदावर हुँदा केही आशा र भरोसा राखेका पक्कै होलान्, तपाईँले त्यसलाई पूरा गर्न र विश्वास दिलाउन कस्ता योजनाहरू अघि सार्नु भएको छ ?
पहिलो कुरा शीतभण्डारमा श्रमिक तथा मजदुरबाट ढुवानी गर्ने प्रथाको अन्तय गरेर लिफ्टको जडान गर्ने, स्थानीय सरकारसँगको समन्वयमा शीतभण्डारलाई व्यवस्थित बनाउने, मल्टी प्रपोजको च्याम्बर निर्माण, कृषकको उत्पादनको सुरक्षित भण्डारण, बैठक भत्ता नलिने लगायतका मैले गरेका वाचा र प्रतिबद्धता पूरा गर्नेछु ।
भेरी शीतभण्डार अहिले आर्थिक रूपमा कस्तो अवस्थामा छ ?
हामी त्यहाँ प्रवेश गर्दा सहकारी विकास बैंकमार्फत लिएको ३५ लाख ऋण थियो । अन्य तिर्नुपर्ने दायित्व ८५ लाख थियो । अहिले हामीले ऋण तिरेर करिब डेढ करोड बराबरको रकम खातामा छ । त्यतिले मात्रै हामी सन्तुष्ट छैनौँ । अहिलेको निर्वाचनभन्दा पनि सहमति गरेर जानुपर्छ भन्ने थियो । तर, सहमति हुन नसक्दा निर्वाचनमा जानुपर्ने बाध्यता आयो । अर्काे नेतृत्वमा रहेका साथीहरू गठबन्धन गरेर निर्वाचनमा होमिनु भएको छ । हामी चाहीँ किसानलाई नितान्त साथमा लिएर जानुपर्छ भनेर साथमा लिएर निर्वाचनमा हुमिएका छौँ । हामीलाई के विश्वास छ भने आम सेयर सदस्य र उपभोक्ताहरूले हाम्रो कार्यसमितिलाई निर्वाचन गराउनेमा विश्वसत छु ।
निवर्तमान अध्यक्ष र उपाध्यक्ष अहिले प्रतिस्पर्धामा उत्रिनुको रहस्य के हो ?
विविध कारणले निर्वाचन ढिलो हुँदा करिब ५ वर्ष हामीले सँगै काम ग¥यौँ । हामी बीचमा योजनामा कहीँ विमति रहेन । तर, एउटा समस्या कहाँ देखिएको भने उहाँले स्थापनाकालदेखि संस्थालाई दलको भ्रातृ संस्थाको रूपमा प्रयोग गर्ने खालको मानसिकता देखियो । किनभने निर्वाचनभन्दा अन्तिम अवस्थामा पनि सहमति र सहकार्यका लागि पहल गर्दा नभएपछि बाध्यात्मक रूपमा निर्वाचनमा गएका छौँ । मलाई लाग्छ अब आम सचेत सेयर सदस्य र उपभोक्ताले विवेक प्रयोग गरेर निर्वाचित गराउनेमा विश्वसत छु ।
भेरी शीतभण्डार सहकारी संस्था किसानसँग जोडिएर काम गर्ने संस्था हो । तर, त्यहाँका सेयर सदस्यहरू किसान मात्रै छन् या अरु पनि छन् ?
एकदम सान्दर्भिक प्रश्न गर्नु भो । किसानहरू पनि सेयर सदस्य हुनुहुन्छ । तर, किसानहरू भन्दा बाहिरका धेरै छन् । किनभने त्यो संस्थालाई आफ्नो हातमा राख्ने उद्देश्यले एउटै घरको पाँच जनासम्म सदस्य बनाइएको छ । त्यसैले शीतभण्डारलाई नितान्त किसानहरूको संस्था बनाइनुपर्छ भन्ने मेरो मान्यता हो । म पनि एक किसान हुँ । किसानहरूको संस्था रहेकाले त्यसलाई सुधार्दै लैजानुपर्छ । त्यहाँ ठूलो जरा गाडिएको छ । त्यसलाई न्यूनीकरण गर्न मेरो प्रयास रहन्छ । अबको दिनहरूमा नितान्त किसानलाई मात्रै सदस्यता वितरण गरिनेछ ।
सधैँजसो साधारणसभा र बैठकमा किन सेयर सदस्यहरूको उपस्थित न्यून हुने गर्छ ? के अब ती सेयर सदस्यहरू भोट हाल्न आउने विश्वास गर्नु भएको छ ?
दलहरूबाट जनता अहिले वाक्क छन् । त्यो विगतका निर्वाचनले पनि परिणाम देखाइसकेको छ । सबै सेयर सदस्यहरू र उपभोक्ताहरू मतदान गर्न आउनुहुन्न । जसलाई नयाँ नेतृत्वबाट केही हुने आशा गर्नुभएको छ । उहाँहरू त पक्कै आउनुनै हुन्छ र मताअधिकार प्रयोग गर्नुहुन्छ । अब आउने ४ वर्षभित्र यो संस्था किसानको हो । किसानहरूको बाहुल्यता छ र हाम्रो संस्था हो भन्ने बनाउनुपर्नेछ ।
किन तपाईँलाई सबैले सर्वसम्मत रूपमा अध्यक्षको रूपमा स्वीकार्न सकेनन् ?
विगतमा पनि केही सहमति भएका थिए । तर, अहिलेको परिस्थिति फरक छ । विगतमा भएका सहमति सबैलाई जगजाहेर नै छ । निर्वाचनभन्दा अघि नै मैले सल्लाह गर्दा उहाँले केही विचार छैन भनेपछि मैले म उपाध्यक्षको हिसाबले अब अध्यक्षमा दाबेदार रहने बताएँ । तर, अन्तिममा नोमिनेसमा आएर उहाँले नोमिनेसन गर्नु भयो । अहिलेको सबैभन्दा ठूलो दलले पवित्र भावना राखेर यस्ता संस्थाहरूमा राजनीतिक प्रतिस्पर्धा नगर्ने र सहमतिमा जान सुझाव दिएका थिए । पछि पनि सहमतिको लागि प्रयास भयो । तर, प्रयास नभएपछि बाध्यात्मक रूपमा निर्वाचनमा जानुपर्ने भयो ।
विपक्षी दलबाट तपाईँलाई सहयोग गर्ने वातावरण बनाउनु भएको छ ?
म त के कुरामा विश्वसत छु भने यो दलीय निर्वाचन होइन् । नितान्त सहकारी संस्थाको उन्नति, प्रगति गरेर यसको लक्ष्य पूरा गर्नु हो । निर्वाचन गर्नुहुँदैन, सहमति मै जानुपर्छ भनेर अन्तिम समयसम्म लडेकाले मैले सहजै सबैको मन जितेर निर्वाचित हुनेमा विश्वासमा छु । कुनै पनि दलमा आबद्ध र विचार राख्ने सेयर सदस्यलाई के भन्न चाहन्छु भने यो कुनै दलको निर्वाचन होइन् । नितान्त किसानको हकहितमा काम गर्न सही व्यक्ति चुन्ने समय हो । त्यसैले मेरो विजय नै किसानको विजय हो ।
अन्तिममा के भन्न चाहनुहुन्छ ?
म दुईहात जोडेर के भन्न चाहन्छु भने यो कुनै राजनीतिक दलको निर्वाचन होइन् । राजनीतिक दलको चुनाव चिन्ह लिएर पनि लड्ने होइन् । यो नितान्त भेरी शीतभण्डारको विकास र उद्देश्य प्राप्त गर्नका लागि हो । अझ भनौँ जुन उद्देश्यले हाम्रा अग्रजहरूले स्थापना गरेका हुन् त्यस लक्ष्यको गन्तव्यसम्म पुग्नलाई मेरो नेतृत्वलाई निर्वाचन गराउन आग्रह गर्दछु । अर्काे कुरा दलभन्दा माथि उठेर शीतभण्डारको लक्ष्य पूरा गर्न र कमीकमजोरी सुधार्नका लागि पनि मेरो उम्मेदवारी हो । उपाध्यक्ष भएर मैले थुप्रै अनुभव लिनुका साथै समस्या समाधान गर्ने उपायहरू पनि मसँग छन् । अर्काे निर्वाचनसम्म साँच्चिकै सेयर सदस्य र उपभोक्ताहरूले अनुभूति हुने गरेर काम गर्ने छु ।









प्रतिक्रिया दिनुहोस्