मधेशदेखि हिमालसम्म फैलिँदै छठ



वीरेन्द्र जैसी । नेपालगन्ज ।

विशेषगरी पूवी नेपालको मैथली समुदायले श्रद्धापूर्वक मनाउने छठ पर्व पछिल्लो समय पूर्वदेखि पश्चिमसम्म बिस्तार हुँदै गएको छ । पश्चिमको कैलाली कञ्चनपुरमा समेत छठको अवसरमा अहिले छठघाटमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ । सुदूरपश्चिममा छठपर्व मनाइन थालिएको नै करिब तीन दशक भएको छ । मिथिलाञ्चलबाट मानिसहरू व्यापार तथा जागिरको शिलशिलामा पश्चिम नेपालमा आउने क्रमसँगै छठ पनि मनाउन थालिएको धनगढीका मैथली समुदायका अगुवाहरू बताउँछन् ।

२०५० सालसम्म पनि जागिर वा व्यापारको शिलशिलामा आएका मैथली समुदायका मानिसहरू छठको अवसरमा पूर्वी तराईको गाउँमै पुग्ने गरेकोमा सुरुमा एक दुई परिवारले स्थानीय मोहना नदीमा छठ मनाउन सुरु गरेका जानकारहरू बताउँछन् । बिस्तारै छठ मनाउनेहरू बढेसँगै अहिले धनगढीको मोहना नदी किनार र महेन्द्रनगरको महाकाली नहर किनारमा छठ मनाउनेहरूको घुइँचो लाग्ने गर्दछ । धनगढीको मोहना नदी किनार त मुख्य छठघाटकै रूपमा स्थापित भइसकेको छ ।

जहाँ पहाडी समुदायका मानिसहरूले पनि श्रद्धापूर्वक छठ पर्वको विधि पूरा गर्ने गरेका छन् । करिब दुई दर्जन बढी मैथली समुदायका मानिसहरूको बसोबास रहेको कञ्चनपुरको बेलौरीमा पनि छठ धुमधामले मनाइन्छ । उनीहरूले बेलौरीस्थित स्याली नदीको तटमा छठ मनाउने गर्दछन् । अवध क्षेत्रमा पर्ने बाँकेको नेपालगन्जमा पनि सुरुसुरुमा मैथली समुदायले मात्रै छठ मनाउने गरेकोमा अहिले अन्य समुदायले पनि छठ मनाउन थालेका छन् ।

नेपालगन्जस्थित महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादव आफू सप्तरीबाट जागिरको शिलशिलामा २०३६–०३७ सालतिर बाँके आउँदा एकदुई परिवारले मात्रै छठ मनाएको देखेको बताउँछन् । ‘घरबारीटोलमा वीरगन्जबाट आएका एक दुई परिवारले मात्रै यहाँ छठ मनाएको देखेको हुँ । अहिले त छठको अवसरमा बागेश्वरी मन्दिरमा खुट्टा राख्ने ठाउँसमेत पाउन मुस्किल हुन्छ,’ यादवले भने । यादवका अनुसार पहिले नेपालगन्जका अवधि समुदायकाले पनि छठ नमाउने गरेकोमा अहिले छठ मनाउनेहरूमा अवधि समुदायकाहरू पनि उल्लेखनीय रूपमा बढेका छन् ।

उनले भने, ‘मेरो सम्झनामा घरबारीटोलका पहाडी समुदायको एउटा परिवारले धेरै पहिलेदेखि नै छठ मनाउने गरेकोमा अहिले छठ मनाउँदा बागेश्वरी तलाउको पश्चिमपट्टिको घाटमा घरबारी टोलका पहाडी समुदायकै मानिसहरूको बाहुल्यता देखिन्छ ।’ छठ पूजा समिति नेपालगन्जका अध्यक्ष जितेन्द्र ठाकुर पनि अहिले मैथली समुदायमा मात्रै सीमित नरहेर छठ सबै समुदायको साझा पर्व बनिसकेको बताउँछन् ।

विहेबारी र साँस्कृति आदानप्रदानसँगै यो पर्व अरु समुदायमा पनि बिस्तार भएको उनको भनाइ छ । साथै छठ पर्वमा व्रत बस्दा लाभ मिल्ने धार्मिक विश्वासले पनि धेरै मानिसहरू छठको व्रत बस्न थालेका उनी बताउँछन् । अहिले सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लामा पनि मधेशी समुदाय पुगेका ठाउँमा छठ मनाउन थालेका पूर्व प्रधानाध्यापक समेत रहेका यादवले बताए । हिमाली जिल्लामा सुचीकृत म्याग्दीमा पनि छठ पर्व मनाउने गरिन्छ । म्याग्दीको बेनीबजारमा बसोबास गर्दै आएका केही सङ्ख्यामा रहेका मैथली समुदायका परिवारहरूले कालीगण्डकी नदी किनारमा छठ पूजा गरेर मनाउने गरेका छन् ।

त्यहाँ २०७७ सालदेखि छठ मनाउन थालिएको थियो । उता पूर्वको पहाडी जिल्ला इलाममा पनि छठ मनाइने गरिन्छ । इलाम सदरमुकामस्थित नारायणस्थानमा मैथली समुदायका मानिसहरू भेला भएर छठ मनाउने गर्दछन् । देशको राजधानी काठमाडौँमा पनि २०४६ सालयतामात्रै छठ मनाउन थालिएको बताइन्छ । अहिले काठमाडौँका करिब डेढ दर्जन स्थानमा छठघाटहरू बनाएर छठ मनाउने गरिएको छ । त्यहाँ छठ मनाउनेहरूमा मैथली र मधेशीबाहेकका समुदायको पनि सहभागिता बढ्दै गएको पाइएको छ ।

पोखरामा पनि आधा दर्जन स्थानमा छठ पर्व मनाउने गरिन्छ । त्यहाँ फेवाताल, सेती नदी, कालीखोला र भद्रकाली मन्दिर र माछापोखरी लगायतका स्थानमा छठ मनाउने गरिन्छ । पहिले सेती नदी किनारमा मात्रै छठ मनाउने गरिएकोमा छठ मनाउनेहरूको सङ्ख्या बढेसँगै स्थानहरू पनि थपिँदै गएका हुन् । पूर्वी नेपालको मधेश प्रदेश र कोशी प्रदेशका तराईंका जिल्ला त छठ पर्व अभिन्न धार्मिक तथा साँस्कृति हिस्सा नै हो । मैथिल समुदायले छठलाई निकै श्रद्धापूर्वक मनाउने यो पर्व मानव सभ्यताको सुरुदेखि नै मनाउन थालिएको विश्वास गरिन्छ ।

पाण्डवहरूले चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । छठ पर्वमा हिन्दुहरूले आराध्यदेव मान्ने सूर्य र सूर्यकी बहिनीको रूपमा छठी मैयाको आराधान गरी पूजा गरिन्छ । छठ पर्व विधिपूर्वक मनाएमा सूर्य र छठी मैयाँको आशिर्वादले छालासम्बन्नि रोग निराकरणदेखि सन्तान प्राप्तीसमेत हुने विश्वास गरिन्छ । यसैगरी व्रतको प्रभावले अभाव र दरिद्रता नहुने तथा परिवारमा सुख हुने जनविश्वास रहीआएको छ ।

प्रतिनिधिसभा सदस्य तथा अध्येता मनिष झा छठ पर्वले पर्यावरण संरक्षणदेखि सामाजिक समानतासम्मको पाँच वटा महत्वपुर्ण सन्देश दिने बताउँछन् । उनले छठ पर्वले पर्यावरण संरक्षण, कृषि उत्पादनको प्रवद्र्धन, सामाजिक समानता, अनुशासन र पारिवारिक एकताको सन्देश दिने बताएका छन् । पर्वका क्रममा पोखरी, जलाशय तथा पानीका स्रोतहरू सफा गर्ने परम्पराले वातावरण संरक्षणमा योगदान गर्ने उनको भनाइ छ ।

छठमा पूजाका सामग्री तथा प्रसादका रूपमा कृषि उपजको प्रयोग हुने भएकाले यसले कृषि उत्पादनको महत्व बढाउने उनले बताए । यसैगरी, जात, समुदाय र आर्थिक अवस्थाका आधारमा भेदभाव नगरी सबै मानिस एउटै पोखरीमा समान रूपमा उभिएर पूजा गर्ने परम्परा यस पर्वको विशेषता रहेको उनको भनाइ छ । पाँच दिनसम्म व्रतालुहरूले निश्चित विधि र अनुशासन पालना गर्दै छठ पर्व मनाउने परम्पराले अनुशासनको महत्वलाई दर्शाउने र पारिवारिक तथा सामाजिक सम्बन्धलाई समेत नजिक ल्याउने उनको भनाइ छ ।

छठ मनाउन मधेश पुग्दै नेताहरू

छठका अवसरमा नेताहरू पनि मधेश प्रदेश जाँदैछन् । विशेगरी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति गगन थापा छठ मनाउन मधेश जाने खबर छ । प्रधानमन्त्री वालेन्द्र शाहलाई पनि छठ पर्वका अवसरमा जनकपुर र वीरगन्जबाट निम्तो गरिएको खबर आएपनि उनी मधेश जाने नजानेबारे यो समाचार तयार पार्दासम्म कुनै जानकारी आएको छैन ।

रास्वपाका सभापति रवि लामिछाने र उनकी धर्मपत्नी निकिता पौडेलले यस वर्षको छठ पर्व जनकपुरधामस्थित गंगासागरमा मनाउँदै जनाएका छन् । रास्वपाका नेता तथा प्रतिनिधिसभा सदस्य मनिष झाका अनुसार लामिछाने दम्पती जनकपुरधाममा कुनै सर्वसाधारण नागरिकको घरमा बसेर छठ पर्व मनाउनेछन् । यसले स्थानीय जनजीवन र मिथिलाको मौलिक संस्कृतिसँग प्रत्यक्ष जोडिने अवसर प्रदान गर्ने उनको भनाइ छ ।

झाका अनुसार लामिछानेको जनकपुरधाम बसाइ राजनीतिक भेटघाटभन्दा छठ पर्व र धार्मिक अनुष्ठानमा केन्द्रित रहनेछ । यस क्रममा जनकपुरधामका विभिन्न पोखरी तथा धार्मिक स्थलहरूको महत्वबारे पनि उनलाई जानकारी गराइनेछ । यसैगरी, नेपाली काँग्रेसका सभापति गगनकुमार थापा पनि छठ पर्व मनाउन उनले प्रतिसनभि सभाको निर्वाचनमा उम्मेदवारी दिएको क्षेत्र सर्लाही–४ पुने भएका छन् ।

थापाको सचिवालयका अनुसार उनले त्यसक्रममा सर्लाहीका विभिन्न स्थानमा रहेका छठ घाटमा पुगेर पूजाआजामा सहभागिता जनाउनेछन् । साथै स्थानीय नागरिक, मतदाता तथा पार्टीका नेता–कार्यकर्तासँग भेटघाट गरी पर्वको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको पनि जनाइएको छ । पछिल्लो समय मधेश प्रदेश राजनीतिका लागि निर्णायक रहेका बेला दुई प्रमुख नेताहरूको छठ पर्वका अवसरमा हुने मधेश भ्रमणलाई राजनीतिक लाभ लिने अभ्यासमा रूपमा पनि हेरिएको छ । पछिल्लो निर्वाचनमा मधेशका सबै सिटहरू रास्वपाले जितेको थियो । जसले राष्ट्रिय सत्ता राजनीतिमा निर्णायक भूमिका खेलिरहेको छ ।

छठमा थप एकदिन सार्वजनिक बिदा 

सरकारले छठ पर्वका अवसरमा थप एकदिन सार्वजनिक बिदा दिएको छ । छठका अवसरमा यसअघि कात्तिक २९ गते आइतबार मात्रै सार्वजनिक बिदा पूर्वनिर्धारित रहेकोमा गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कात्तिक ३० सोमबार पनि सार्वजनिक बिदा दिने घोषणा गरेको हो । छठपर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठपर्व मनाइसकेपछि अर्काेदिन बिहान उदाउँदो सूर्यको पूजा गर्ने धार्मिक विधि छ ।

यसवर्ष अस्ताउँदो सूर्यलाई अर्घ आइतबार दिइनेछ भने उदाउँदो सूर्यलाई सोमबार बिहान अघ्र्य दिएर छठ समापन गरिनेछ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा यही धार्मिक विधिलाई उल्लेख गर्दै सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।

छठ पाँच दिनसम्म मनाइने भएपनि विशेषगरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने दिन व्रतालुहरू दिनभर निराहार उपवास बस्ने गर्दछन् । अर्काेदिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि छठ व्रत समापन हुन्छ । तर, समापनपछि व्रतालुहरूले परिवारजन तथा इष्टमित्रलाई प्रसाद वितरण गर्ने परम्परा छ । जसका लागि दुई दिन बिदा दिनुपर्ने माग लामो समयदेखि गरिँदै आएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक २९ गते शनिबार