चौधरी ग्रुपको मोटरसाइकल एसेम्ब्ली व्यापारमा वृद्धि



काठमाडौँ ।

चौधरी ग्रुपअन्तर्गत हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर एसेम्ब्ली गर्दै आएको सीजी फ्युचर फ्याक्ट्री प्रालिले चालू आर्थिक वर्ष २०८२–०८३ को पहिलो १० महिनामा ४ अर्ब १० करोड रूपैयाँँबराबरको कारोबार गरेको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको अल्पकालीन ऋण रेटिङ (आईसीआरएएनपी) ए–४ लाई यथावत् राख्दै दीर्घकालीन ऋण रेटिङ फिर्ता लिएको छ ।

साथै कम्पनीलाई यसअघि राखिएको ‘इस्युअर नट कोअपरेटिङ’ श्रेणीबाट पनि हटाएको छ । इक्रा नेपालले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कम्पनीले अप्रिल २०२४ देखि व्यावसायिक उत्पादन सुरु गरेको हो । नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको एसेम्ब्ली प्लान्टमार्फत हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटरको एसेम्ब्ली गर्दै आएको कम्पनीले उत्पादन गरेका सम्पूर्ण सवारीसाधन आफ्नै भगिनी संस्था सीजी मोटर्स प्रालिमार्फत बिक्री गर्दै आएको छ ।

कम्पनीको आम्दानी तीव्र रूपमा बढिरहेको देखिएको छ । सञ्चालन सुरु गरेको पहिलो तीन महिनाको अवधिमा ६८ करोड ७० लाख रूपैयाँँको कारोबार गरेको कम्पनीले आर्थिक वर्ष २०८१–०८२ मा ३ अर्ब ३६ करोड ९० लाख रूपैयाँँको कारोबार गरेको थियो । चालू आर्थिक वर्षको पहिलो १० महिनामै कारोबार बढेर ४ अर्ब १० करोड ५० लाख रूपैयाँँ पुगेको छ ।

चौधरी ग्रुपको बलियो व्यावसायिक पृष्ठभूमि, नेपालको अटोमोबाइल क्षेत्रमा रहेको अनुभव, हिरो ब्रान्डको स्थापित पहिचान तथा कम्पनीले सुरुवाती वर्षमै देखाएको सशक्त बिक्री वृद्धिले रेटिङलाई सकारात्मक आधार प्रदान गरेको छ । कम्पनीले भारतको अग्रणी दुईपांग्रे सवारी निर्माता हिरो मोटोकर्पसँग प्राविधिक सहकार्य सम्झौतामार्फत एसेम्ब्ली सञ्चालन गरिरहेको छ । हिरो मोटोकर्प भारतीय बजारको सबैभन्दा ठूलो मोटरसाइकल निर्माता कम्पनीमध्ये एक हो ।

यद्यपि कम्पनीको वित्तीय संरचना अझै दबाबमा रहेको इक्रा नेपालले जनाएको छ । मे २०२६ सम्म कम्पनीको कूल ऋण र खुद सम्पत्तिबीचको अनुपात ३.३ गुणा रहेको छ । यो अनुपात जुलाई २०२४ मा ४.१ गुणा थियो । सुधार देखिए पनि ऋणको स्तर अझै उच्च रहेको प्रतिवेदनले औँल्याएको छ । कम्पनीको कार्यशील पूँजी आवश्यकता पनि उच्च छ । चालू आर्थिक वर्षको पहिलो १० महिनामा कम्पनीको नेट वर्किङ क्यापिटल सञ्चालन आम्दानीको ५१ प्रतिशत बराबर पुगेको छ ।

विशेषगरी सीजी मोटर्सबाट रकम उठाउन औसत १२१ दिन लाग्ने गरेकाले कम्पनीको नगद चक्र लम्बिएको इक्रा नेपालले विश्लेषण छ । यही कारण कम्पनीले कार्यशील पूँजीका लागि बैंक ऋणमा ठूलो निर्भरता राख्नुपरेको छ । मध्य मे २०२६ सम्म कम्पनीले बैंकबाट प्राप्त कर्जा सीमाको करिब ९६ प्रतिशत उपयोग गरिरहेको थियो । कमजोर तरलता अवस्थाका कारण कम्पनीले केही ऋण भुक्तानीमा ढिलाइ समेत गरेको भए पनि ती ढिलाइ ३० दिनभित्रै सीमित रहेकाले डिफल्टको श्रेणीमा नपरेको इक्रा नेपालले जनाएको छ ।

कम्पनीको नाफा सूचकमा भने सुधार देखिएको छ । सञ्चालन नाफा मार्जिन तीन महिनाको अवधिमा ६ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१–०८२ मा ६.२ प्रतिशत र चालू आर्थिक वर्षको पहिलो १० महिनामा ८.७ प्रतिशत पुगेको छ । ब्याज तिर्ने क्षमता सूचक (इन्ट्रेस्ट कभरेज रेसियो) पनि १.८ गुणाबाट बढेर ४.२ गुणा पुगेको छ । ऋण सेवा क्षमता अनुपात (डीएससीआर) १.७ गुणाबाट बढेर ३.६ गुणासम्म पुगेको छ ।

तर कम्पनी अझै प्रतिस्पर्धात्मक जोखिममा रहेको इक्रा नेपालले जनाएको छ । नेपालमा बजाज, होन्डा, यामाहा र टिभिएसजस्ता स्थापित ब्रान्डसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ भने विद्युतीय मोटरसाइकल तथा स्कुटरको बढ्दो लोकप्रियताले पनि बजारमा चुनौती थपिरहेको छ । त्यसैगरी कम्पनीको आम्दानी सीमित मोडेलमा केन्द्रित हुनु अर्को जोखिमका रूपमा औँल्याइएको छ । कम्पनीको कूल आम्दानीमध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा ‘सुपर स्प्लेन्डर’ मोटरसाइकल र ‘जुम जेडएक्स’ स्कुटरबाट मात्रै आउने गरेको छ ।

कम्पनीको व्यवसाय सरकारी नीतिमा पनि निर्भर रहेको जनाएको छ । नेपाल सरकारले स्थानीय रूपमा एसेम्बल गरिएका सवारीसाधनका लागि पूर्ण रूपमा विघटन गरिएका (सीकेडी) पार्टपुर्जामा हाल उपलब्ध गराउँदै आएको भन्सार तथा अन्तःशुल्क सहुलियतका कारण यस्तो व्यवसाय आर्थिक रूपमा सम्भव भएको हो । भविष्यमा यस्ता सहुलियत घटे वा हटाइए कम्पनीको आम्दानी र नाफामा प्रत्यक्ष असर पर्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२३ मेमा स्थापना भएको कम्पनीमा सारिका चौधरीको ६० प्रतिशत र निर्वाण कुमार चौधरीको ४० प्रतिशत स्वामित्व रहेको छ । निर्वाण चौधरी कम्पनीका अध्यक्षसमेत हुन् । चौधरी ग्रुपले नेपालमा हिरो ब्रान्डका मोटरसाइकल र स्कुटरको बिक्री तथा वितरण वर्षौँदेखि गर्दै आएको छ भने सीजी फ्युचर फ्याक्ट्री त्यसैको स्थानीय एसेम्ब्ली इकाइका रूपमा स्थापना गरिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १६ गते मंगलबार