कैलाली ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले खेलकुद क्षेत्रको विकास र नयाँ खेल प्रतिभाको पहिचानमा जोड दिनुपर्ने बताएका छन् । उनले खेलकुदले खेलाडीको क्षमता विकास गर्नुका साथै प्रदेश र देशको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले धनगढी रंगशालामा आयोजना गरेको दसौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय छनोट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले प्रदेशमा खेलकुदको प्रशस्त सम्भावना रहेको बताए । यहाँका प्रतिभावान् खेलाडीको पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन आवश्यक रहेको उनले बताए ।
खेलकुद स्वास्थ्य, अनुशासन र आपसी एकतासँग पनि जोडिएको भन्दै उनले खेलाडीलाई आवश्यक अवसर, प्रोत्साहन र खेल पूर्वाधार उपलब्ध गराउनुपर्ने बताए ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा दसौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुँदैछ । उक्त प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोट गर्न प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरिएको हो ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का अनुसार छनोट प्रतियोगिताअन्तर्गत कैलाली, कञ्चनपुर र डडेल्धुरामा विभिन्न खेल विधाका प्रतियोगिता सञ्चालन गरिनेछ । प्रदेशस्तरीय छनोटले यहाँका खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिने अपेक्षा गरिएको परिषद्ले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्