शेरबहादुर ऐर । कैलाली ।
कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ८ स्थित जनप्रिय माध्यमिक विद्यालयमा आफ्ना निकटका व्यक्तिलाई जागिर खुवाउन विषय रुपान्तरण गरेर सेटिङ गरिन थालिएको छ । माध्यमिक तहमा दुईजना नेपाली विषयका शिक्षक हुँदाहुँदै आफ्ना निकटका व्यक्तिलाई जागिर खुवाउन विद्यालयलाई आवश्यक नभएको विषय रुपान्तरण गर्ने निर्णय गरिएको छ ।
दुई वर्षदेखि रिक्त रहेको समाजशास्त्र विषयको दरबन्दीलाई त्यसै विद्यालयमा कार्यरत एकजना शिक्षकलाई उच्च माध्यमिक तहको जागिर खुवाउन विद्यालय व्यवस्थापन समितिले दरबन्दीलाई नेपाली विषय बनाउने निर्णय गरेको हो । गौरीगंगा नगरपालिकाका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको दबाबमा विद्यालय व्यवस्थापन समितिको नेपाली विषय रुपान्तरण गर्ने निर्णयलाई नगर शिक्षा समितिले सदर गरेको छ।
उक्त विद्यालयमा माध्यामिक तहमा (९–१२) नेपाली विषयका २ जना शिक्षक कार्यरत छन् । यसैगरि अंग्रेजीमा २ जना, विज्ञानमा १ जना, गणितमा १ जना, सामाजिकमा १, स्वास्थ्य तथा जनसङ्ख्यामा १ जना, लेखामा २ जना कार्यरत छन् । तर, अर्थशास्त्र विषयमा भने एकजना पनि शिक्षक छैनन् । कक्षा ९ देखि १२ सम्मको अध्यापनका लागि अर्थशास्त्रको विषय शिक्षक नहुँदा अन्य विषयका शिक्षकलाई कामचलाउन गरि पढाउन लगाइएको छ ।
यसले विद्यार्थीले विज्ञ शिक्षकबाट अर्थशास्त्र विषय अध्ययन नै गर्न पाएका छैनन् । जसले गर्दा गुणस्तरीय शिक्षा प्रणालीमा विद्यालय र नगरमाथि नै प्रश्न चिन्ह खडा गरिदिएको छ । अर्थशास्त्र विषय भने कहिले स्वास्थ्य जनसङ्ख्या पढेका र विज्ञान विषय पढेका तथा कहिले लेखा विषय अध्ययन गरेका शिक्षकलाई काम चलाउ हिसाबले पढाउन लगाइँदै आएको छ ।
उसै पनि कम पिरियड भएको नेपाली विषयमा दुईजना विषय विज्ञ शिक्षक हुँदाहुँदै पनि तेस्रो दरबन्दी पुनः नेपाली विषय नै बदल्न खोज्नु गतल भएको अभिभावकहरू बताउँछन् । ‘हाम्रा नानीबाबुको भविष्यमाथि खेलबाड गर्न खोजिएको छ,’ एक अभिभावकले भने, ‘यदि उक्त विषयलाई बदलेर अर्थशास्त्र राखिदिएको भए नानीबाबुले विज्ञ शिक्षकबाट पढ्न पाउँथे । तर, यहाँ आफ्नालाई जागिर खुवाउन आवश्यकता नै नभएको नेपाली विषयको दरबन्दी कायम गर्ने विद्यालय व्यवस्थापन समितिको निर्णय विद्यालयको हितविपरीत हो । त्यसैलाई जाँचबुझ नै नगरी नगर शिक्षा समितिले पास गर्नु झनै नीतिगत भ्रष्टाचार हो ।’
विद्यालयमा नेपाली विषयका लागि दुईजना शिक्षक हुँदाहुँदै पनि पुनः निमावि तहका नेपाली शिक्षकलाई पनि माध्यमिक तहको पिरियड दिइएको छ । यो समेत गरी माध्यमिक तहमा नेपाली विषय पढाउने शिक्षक सङ्ख्या ३ रहेको छ । तर, पनि पुनः समाजशास्त्र विषयलाई रुपान्तरण गरेर फेरि नेपाली विषय बनाइनु विद्यालय तथा विद्यार्थीको हितविपरीत भएको अभिभावकहरूको गुनासो छ ।
अहिले नेपाली विषयका शिक्षक मंगलबहादुर धामी र छत्र बोहराले नेपाली विषयको पूरा पिरियड पढाउनै पाएका छैनन् । यसबाट पनि के पुष्टी हुन्छ भने त्यहाँ नेपाली विषयका शिक्षक आवश्यकताभन्दा बढी छन् । तर, विषय शिक्षक नै नभएको अर्थशास्त्रलाई भने ध्यान दिइएको छैन । यहाँ एसईई र १२ को बोर्ड परीक्षा पनि अधिकांश विद्यार्थी अर्थशास्त्र विषयमा फेल हुने गरेका छन् ।
विद्यालयको आवश्यकताविपरीत विद्यालय व्यवस्थापन समितिले शिक्षक प्रतिनिधिको असहमति हुँदाहुँदै नेपाली विषय रुपान्तरण गर्ने निर्णयलाई हुबहु नगर शिक्षा समितिले सदर गर्ने निर्णय गर्नु गलत भएको नगर शिक्षा समितिका एक सदस्य बताउँछन् । यसअघि नगर शिक्षा समिति सदस्य विष्णुप्रसाद भाटको संयोजकत्वमा गौरीगंगा नगरपालिकाले नगरभित्र रहेका विद्यालयको सम्पूर्ण गतिविधिको ठोस जानकारीका लागि अध्ययन गरी प्रतिवेदन बुझाउने गरी समिति गठन भएको थियो ।
तर, नगरपालिकाले उक्त समितिले अध्ययनको काम पूरा गर्न नपाउँदै नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको दबाबमा समितिका केही सदस्यहरूको असहमति हुँदाहुँदै जनप्रिय माध्यमिक विद्यालयको नेपाली विषय रुपान्तरण गर्ने निर्णय एकलौटी रूपमा गरेको छ । गौरीगंगा नगरपालिकाको नगर शिक्षा समितिले जनप्रिय माध्यमिक विद्यालयको नेपाली विषय रुपान्तरण विद्यालयको हितविपरीत भएको भन्दै राजनीतिक दलले पनि ध्यानाकर्षण भएको जनाएका छन् ।
शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति आशिष सिंह, नेपाली काँग्रेसका नगर सचिव दिनेश कलेल र नेकपा एमालेका नगर उपाध्यक्ष रोहितप्रसाद भाटले संयुक्त हस्ताक्षर गर्दै विद्यालय र विद्यार्थीको हितविपरीत गरिएको निर्णयमा आफूहरूको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
उनीहरूले विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गरी आवश्यकता नै नभएको विषय राखिनु र आवश्यकता भएको विषयलाई बेवास्ता गरिनु गतल भएको बताउँदै नगर शिक्षा समितिले गरेको एकलौटी निर्णय यथाशीघ्र सच्याउन माग गरेका छन् । गलत निर्णयलाई नसच्याएमा आफूहरू नगरका विरुद्धमा थप आन्दोलित हुने राजनीतिक दलहरूले बताएका छन् ।
जनप्रिय माध्यमिक विद्यालयमा विषय रुपान्तरणसम्बन्धी विवाद झन् जटिल बन्दै गएको छ । यसअघि विद्यालय व्यवस्थापन समिति र नगर शिक्षा समितिको निर्णयमाथि प्रश्न उठिरहेको अवस्थामा अहिले सरोकारवाला निकायका प्रमुख व्यक्तिहरूकै अभिव्यक्ति बाझिँदा निर्णय प्रक्रियामै गम्भीर अन्योल देखिएको हो ।
गौरीगंगा नगरपालिकाका नगरप्रमुख कँडेलले विद्यालय व्यवस्थापन समितिको सिफारिसका आधारमा विषय रुपान्तरणको निर्णय पारित गरिएको बताएका छन् । उनका अनुसार विद्यालयबाट आएको प्रस्तावलाई प्रक्रियाअनुसार अघि बढाइएको हो । तर, नगरप्रमुखको भनाइसँगै प्रमुख प्रशासकीय अधिकृत भक्तराज जोशीको अभिव्यक्ति भने फरक देखिएको छ ।
उनले सो विषय शिक्षा समिति बैठकमा उठेको स्वीकार गरे पनि औपचारिक रूपमा निर्णय सदर नभएको दाबी गरेका छन् । ‘बैठकमा कुरा उठेको हो, तर त्यसलाई अनुमोदन गरिएको छैन,’ जोशीले भने । विद्यालयका प्रअ जयबहादुर बैलाकोटीले पनि आफूहरूलाई हालसम्म कुनै औपचारिक पत्र प्राप्त नभएको बताएका छन् । उनले निर्णय सदर भए–नभएकोबारे स्पष्ट जानकारी नभएको उल्लेख गर्दै प्रक्रिया नै अस्पष्ट रहेको संकेत गरेका छन् ।
तीन प्रमुख जिम्मेवार पक्ष नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र विद्यालयका प्रअका फरक–फरक अभिव्यक्तिले विषय रुपान्तरणको निर्णय वास्तवमै कार्यान्वयनमा आएको हो कि होइन भन्नेमा गम्भीर प्रश्न खडा भएको छ । स्थानीय अभिभावक तथा सरोकारवालाहरूका अनुसार यस्तो विरोधाभासी भनाइले निर्णय प्रक्रियामा पारदर्शिता नभएको स्पष्ट देखाउँछ । ‘यदि निर्णय भएको हो भने कागजी प्रक्रिया किन छैन ? र यदि भएको छैन भने विद्यालयमा किन त्यसको तयारी भइरहेको छ ?’ एक स्थानीयले प्रश्न गरे ।
ध्यानाकर्षण पत्र बुझाइयो 
गौरीगंगा नगरपालिका–८ लम्कीस्थित श्री जनप्रिय माध्यमिक विद्यालयको शिक्षक दरबन्दी परिवर्तन गरिएको विषयमा सरोकारवालाहरूले आपत्ति जनाउँदै ध्यानाकर्षण पत्र बुझाएका छन् । नगरपालिकाले रिक्त रहेको सामाजिक विषयको दरबन्दीलाई परिवर्तन गरी नेपाली विषयमा विज्ञापन खुलाएको विषयमा असन्तुष्टि जनाइएको हो । उक्त निर्णयले आवश्यक अन्य विषयलाई उपेक्षा गरिएको भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको जनाइएको छ ।
पत्रमा सत्यतथ्य जानकारी सार्वजनिक गर्दै आवश्यक प्रक्रिया अघि बढाउन माग गरिएको छ । साथै, उक्त निर्णयलाई बेवास्ता गरी एकलौटी रूपमा प्रक्रिया अगाडि बढाइएमा थप विरोधका कार्यक्रम सञ्चालन गरिने चेतावनी पनि दिइएको छ ।
ध्यानाकर्षण पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति आशिष सिंह, नेपाली काँग्रेसका नगर सचिव दिनेश केरेल र नेकपा (एमाले)का नगर उपाध्यक्ष रोहितप्रसाद भाटको संयुक्त हस्ताक्षर रहेको छ । उक्त पत्र जिल्ला शिक्षा समन्वय इकाइ कैलाली गौरीगंगा नगरपालिकाको कार्यालय चौमाला तथा सम्बन्धित विद्यालयलाई बोधार्थ दिइएको छ ।









प्रतिक्रिया दिनुहोस्