कोहलपुर ।
विद्यार्थीलाई ट्रकले ठक्कर दिएर गम्भिर घाइते बनाएपछि बाँकेको कोहलपुर आइतबार दिनभर तनावग्रस्त भएको छ । कोहलपुर नेपालगञ्ज सडक खण्डमा रहेको त्रिभुवन माध्यामिक विद्यालय अगाडि ट्रकले एक छात्रालाई ठक्कर दिएको थियो ।
सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षिय छात्रा प्रकृति चन्दलाई नेपालगञ्जतर्फ गइरहेको ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिएको हो । विद्यालय जान लागि सडक पार गर्ने क्रममा तिव्र गतीमा रहेको ट्रकले चन्दलाई ठक्कर दिएको थियो । गम्भिर घाइते भएकी उनलाई कोहलपुर मेडिकल कलेज पु¥याइएको थियो ।
यहाँ उपचार सम्भव नभएपछि गम्भिर घाइते चन्दलाई दिउँसो नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंको बि एण्ड बी अस्पतालमा लगिएको कोहलपुर प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै आक्रोशित भएका विद्यार्थीहरुले ठक्कर दिने ट्रकमा आगजनी गरेका थिए । आगजनीबाट ट्रक पुर्ण रुपमा जलेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दुर्घटना लगत्तै आक्रोशित भएका विद्यार्थीहरु तथा स्थानीयहरुले गरेको प्रर्दशनका कारण आइतबार दिनभर कोहलपुर बजार क्षेत्र तनावग्रस्त भएको थियो ।
दुर्घटना स्थलमा पुगेका एक सादा पोशाकका प्रहरीले विद्यालयभित्र पुगेर विद्यार्थीहरुलाई धम्क्याउँदै कुटपिटको प्रयास गरेका थिए । विद्यार्थीलाई धम्क्याउँदै कुटपिटको प्रयास गर्ने प्रहरीलाई शिक्षक पुगेर भिडबाट बाहिर निकालेको विद्यालयका शिक्षक ऋषिराज शर्माले जानकारी दिए । त्यस क्रममा शिक्षकमाथि पनि दुर्व्यहार भयो । यो घटनाले विद्यार्थी झन् आक्रोशित भए र दुर्घटना गराउने ट्रकमा आगो लगाइदिए । प्रहरीले भने सवारी चालकमाथि हातपात हुनसक्ने भएकाले सादा पोसाकमा रहेका प्रहरी गएको दाबी गरेको छ । विद्यालय अगाडिबाट विद्यार्थीहरुले प्रहरीहरुलाई ढुंगामुढा गर्दै इलाका प्रहरी कार्यालय अगाडिसम्म पु¥याएका थिए । प्रर्दशनकारीहरुले इलाका प्रहरी कार्यालयमा तोडफोड समेत गरेका छन् ।
उनीहरुले कार्यालयसँगै सटेको क्यान्टिनमा समेत आगजनी गरेका थिए । आगो समयमा नै नियन्त्रणमा लिइएकोले थप क्षती हुन भने पाएन । भीडले ढुंगामुढा गर्न थालेपछि तनाव सिर्जना भएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले बताए । ‘स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास र हवाई फायर पनि गरिएको छ’, उनले भने । नेपाल प्रहरी र शसस्त्र प्रहरीले स्थितीलाई नियन्त्रणमा लिनको लागि ५ सय राउण्ड भन्दा बढी अश्रुग्यास र हवाई फायर गरेका थिए । प्रर्दशनकारीहरुले अन्य २० भन्दा बढी सवारी साधनमा तोडफोड गरेर क्षती पु¥याइदिएका छन् ।
३० बढी घाइते
आइतबार दिनभर भएको आन्दोलनमा प्रहरी र आन्दोलनकारी गरी ३० बढी घाइते भएका छन् । प्रहरीले प्रहार गरेको रबरको गोली लागेर २६ जना बढी आन्दोलनकारी घाइते भएका थिए । जाजरकोट छेडागाँउका नारायण खत्रीको अण्डकोषमा रबरको गोली लागेको छ । महेश आचार्य, श्रीकान्त शर्मा र सृजन चन्दको तिघ्रामा रबरको गोली लागेको छ । त्यसैगरी, दिपेन्द्र शाही, जनक ठकुरी, चित्रबहादुर रिजाल, लिला बडुवाल, ललित बस्नेत, पूजा केसी र लक्ष्मी बुढालाई पनि चोट लागेको छ ।
घाइतेमध्ये नारायण खत्री, सृजन चन्द र श्रीकान्त शर्मा गम्भीर घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ । विद्यार्थीले प्रहार गरेको इँट्टा र ढुंगा लागेर इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीसहित एक दर्जन प्रहरी घाइते बढी शसस्त्र र नेपाल प्रहरी घाइते भएका छन् । घाइते मध्ये केहीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
आज विद्यालय बन्द
आज (सोमबार) कोहलपुर नगरपालिकामा रहेका सम्पुर्ण विद्यालय बन्द आह्वान गरिएको छ । आईतबार सडक दुर्घटनामा परी विद्यार्थी घाईते भएको विषयलाई आन्दोलनको रुप दिएर तोडफोड र क्षति भएको भन्दै अवस्था शान्तिपुर्ण बनाउनको लागि विद्यालयहरुको बन्द आह्वान गरिएको हो । बाँकेको कोहलपुरमा क्रियाशिल सरकारी तथा निजि विद्यालयका विभिन्न संगठनहरुले सवारी दुर्घटनालाई लिएर भएको आन्दोलनको क्रममा निजि विद्यालय गाडी तोडफोड भएको भन्दै गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । सवारी दुर्घटनालाई लिएर विभिन्न पक्षबाट विरोध भईरहदाँ कोहलपुरमा रहेका निजि विद्यालयका संठगनहरुले सवारी दुर्घटना, तोडफोड र धनजनको क्षति समेत दुःखत भएको जनाएका हुन् ।
उनीहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उक्त आन्दोलनको क्रममा डाईनामिक विद्यालयका दुई वटा गाडी, अन्य सवारी साधन तोडफोड र जनजनको क्षति प्रति क्रिसा कोहलपुर, प्यावसन कोहलपुर र नेशनल प्यावसन कोहलपुरद्धारा गम्भिर ध्यानाकर्षण भएको जनाईएको हो । यस्तै घटनालाई लिएर भएको आन्दोलनका घाईतेहरुलाई समेत स्वास्थ्य लाभको कामना गरिएको छ । संयुक्त प्रेस विज्ञप्तीमा क्रिसा कोहलपुरका अध्यक्ष शिव प्रसाद डाँगी, प्यावसन कोहलपुरका अध्यक्ष बेग प्रकाश चन्द र नेशनल प्यावसनका यम रावतको हस्ताक्षर रहेको छ ।
निषेधाज्ञा जारी
आक्रोशित भीड नियन्त्रणमा आउने सम्भावना नदेखिएपछि कोहलपुरमा निषेधाज्ञा जारी गरिएको छ । कोहलपुर बजारलाई केन्द्रमा राख्दै स्थानीय प्रशासनले चार किल्ला तोकेर आइतबार साँझबाट लागु हुनेगरी निषेधाज्ञा जारी गरेको हो । कोहलपुर प्रहरीका अनुसार पुर्वमा चप्परगौडी, पश्चिममा किरणनाला, उत्तरमा मनकामना चोक र दक्षिणमा पिपरी चोकसम्म अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ ।
भिड नियन्त्रणमा आउने
नदेखेपछि प्रहरीले आइतबार दिउँसो तीन बजेदेखि कर्फ्यू जारी भएको नाटक रचेको थियो । प्रहरीले कोहलपुरमा माइकिङमार्फत कर्फ्यू जारी भएको जानकारी दिदै सबैलाई घरभित्र बस्न आग्रह गरेको थियो ।
बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी उपाध्यायले पनि दिउँसो तीन बजेदेखि कर्फ्यू लगाउने तयारी भएको सञ्चार माध्यमलाई जानकारी गराएका थिए । उनले सुरक्षा समितिको बैठक बसिरहेको र केहीबेरमा कर्फ्यू जारी हुनेसमेत बताएका थिए । तर, उनले त्यसको एक घण्टा नबित्दै बोली फेरे । ‘भीड नियन्त्रण गर्न कर्फ्यू जारी गरिएको प्रचार गरिएको हो,’ उनले भने । निषेधाज्ञा भने जारी गरिएको उनले बताए ।
विद्यालय क्षेत्र सुरक्षित बनाऊ
नगर शिक्षा शिक्षक महासंघ कोहलपुरले आईतबार दिउँसो कोहलपुरमा भएको घटनाका घाईतेहरुलाई स्वास्थ्य लाभको कामना गरेको छ । नगरपालिकाको सामाजिक विकास समिति , शिक्षा प्रमुख र महासंघको आकस्मिक बैठकले विभिन्न चार बुँदे निर्णय गरेको हो । सामाजिक विकास समितिका संयोजक नारायणी वलीको अध्यक्षतामा बसेको बैठकले आईतबार भएको घटनामा घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दैे घटनालाई लिएर उत्पन्न आन्दोलनका सम्बन्धमा सम्बद्ध विद्यालयका विद्यार्थी, तथा सरोकारवालाहरुलाई संयमता अपनाउन तथा वार्ताका माध्यमबाट समस्या सामाधन गर्न अनुरोध गर्ने निर्णय गरेको थियो ।
यस्तै विद्यालय आसपासका मुख्य राजमार्गमा विद्यालय समयमा कम गतीमा सवारी गुड्ने व्यवस्था गरिनुपर्ने विषयमा नगरपालिका र सरोकारवाला निकायलाई अनुरोध गर्ने निर्णय गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विनोद भटट्राईले जानकारी दिए । घटनाकोे सन्दर्भमा विद्यालय समयमा रहेका विद्यार्थीलाई विद्यालय समयपछि छुट्टीमा घर फर्किने सुरक्षित वातावरणको व्यवस्था मिलाउन आग्रह गर्ने र अभिभावकलाई समेत आफ्नो बालबालिकाहरुको सम्पर्कमा रहन लगाउने निर्णय समेत गरिएको छ ।
स्वास्थ्य लाभको कामना बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० ले आइतबार घटनाप्रति सबैलाई सजक रहन आग्रह गरेको छ ।
एक प्रेस विज्ञप्ती जारी गर्दै ट्रकको ठक्करबाट छात्रा गम्भिर घाइते तथा प्रर्दशनको क्रममा विद्यार्थीहरु घाइते भएको भन्दै वडा नम्बर १० दुःख व्यक्त गरेको हो । वडा अध्यक्ष निम बहादुर चलाउनेद्धारा हस्ताक्षरित विज्ञप्तमिा विद्यार्थी भयमुक्त वातावरणमा अध्ययन गर्न पाउने नैसर्गिक अधिकार कुण्ठित गर्न नपाईने बताइएको छ । आइतबार दिनभर भएको आन्दोलनको क्रममा घाईते सबैको शिघ्र स्वास्थ्य लाभको समेत कामना गरिएको छ । घटनालाई सबैलाई न्याय हुने गरी समाधान गर्नको लागि सरोकारवाला, राजनितिक दल र नागरिक समाज लगायतलाई आग्रह गरिएको छ ।
यसैबिच छात्रा अध्ययनरत विद्यालय त्रिभुवन माविले एक विप्ज्ञती जारी गरेर आइतबार भएको घटना प्रति दुख व्यक्त गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर राना र प्रधानाध्यापक देवका बस्नेत थापाद्धारा हस्ताक्षरीत विप्ज्ञतीमा प्रहरीले विद्यार्थीमाथि गरेको दमनको भत्र्सना समेत गरिएको छ । सबै घाइते विद्यार्थीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै विद्यालयले दोषिलाई कारबाही गर्न माग गरेको छ ।








प्रतिक्रिया दिनुहोस्