बाँसगढीमा खुल्यो सिकलसेल परिक्षण प्रयोगशाला



रावन बिश्वकर्मा, बाँसगढी ।

बर्दियाको बाँसगढी नगरपालिकामा सिकलसेल एनिमिया रक्त परिक्षण सेवा प्रयोगशाला सञ्चालनमा आएको छ । जिल्ला मै पहिलो पटक बाँसगढी नगरपालिकाले प्रयोगशाला स्थापना गरेको हो । थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोग पत्ता लगाउन मोतिपुर स्वास्थ्य चौकीमा ‘ईलेक्ट्रोफोर्सिस टेष्ट’ मेसिन जडान गरिएको छ ।

नगरपालिकाले झण्डै २१ लाख रुपैयाँ खर्च गरेर ल्याएको मेसिनको सिकलसेल रोग विशेषज्ञ डा. राजन पाण्डले आइतबार उद्घाटन गरेका थिए । नगरपालिकाले सिकलसेल बिरामी पहिचानको लागि वडा नम्बर ६ का १ हजार १ सय ५० जनाको रगतको नमुना परिक्षण गरेको थियो ।

रगत परिक्षण गरेका मध्ये १ सय ८५ जनामा पोजिटिभ देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । ति मध्ये १ सय २० जनामा पुर्ण निदानका लागि ईलेक्ट्रोफोर्सिस जाँच गर्दा ८ जनामा सिकलसेल डेजिज, ३ जनामा थालेसेमिया र ७८ जनामा सिकलसेल टे«ड देखा परेको हो । सिकलसेल रोग विशेषज्ञ डा.पाण्डेले सिकलसेल सामाजिक समस्याको रुपमा देखा परेको भए पनि अन्य रोग जस्तै निको बनाउन सकिने बताए । नगरपालिकाले रोग निदानका लागि नमूना कामको सुरुवात गरेकाले महिनामा एक पटक बिना पारिश्रमिक सेवाका लागि उपस्थित हुने उनले प्रतिबद्धता जनाए ।

बिशेषज्ञ डा.पाण्डेले सिकलसेल बेलैमा पहिचान गर्न सके न्युनिकरणका लागि उपचार गर्न सकिने दाबी गरे । बाँसगढीका नगर प्रमुख सालिकराम अधिकारीले सिकलसेल एनिमिया न्युनिकरणको प्रारम्भिक चरणमा रहेकाले सबैको सहयोग हुनुपर्ने आवश्यकता औल्याए । रोग न्युनिकरणका लागि गर्भवती महिला र बालबालिकाको रगत परिक्षण आवश्यक भएकाले स्वास्थ्य संस्थामा गर्भ परिक्षण गर्न आएका महिलाहरुको सिकलसेल एनिमियाको पनि परिक्षण गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत उनले दिए ।

‘बाँसगढी क्षेत्रमा सिकलसेलको न्युनिकरणका लागि सचेतना मुलक अभियान सञ्चालन गरिरहेका छौं’ उनले भने, ‘अबका दिनमा बारबर्दिया नगरपालिकाले लागु गरेको पाठ्यक्रमलाई अनुसरण गर्दै विद्यालयहरुमा पनि सञ्चालन गर्नेछौं ।’ सिकलसेल एनिमिया रक्त परिक्षण सेवा प्रयोगशालाको निरन्तरताको लागि नगरपालिकाले कुनै कसर बाँकी नराख्ने नगर प्रमुख अधिकारीले बताए ।

उद्घाटन बोल्ने सहभागिहरुले बाँसगढी क्षेत्रमा नै सिकलसेल रोग पहिचानका लागि नगरपालिकाको कदम नमूनाको रुपमा रहेकोमा खुसी व्यक्त गरेका थिए । उनीहरुले सिकलसेल पहिचानको लागि स्थानीय सरकारले अग्रसरता देखाएमा आगामी पुस्ता सम्म रोग न्युनिकरणको दिशामा जान सक्ने बताए ।

प्रयोगशालाको उद्घाटन मात्रै नभएर यसको निरन्तरताको लागि नगरपालिकालाई ध्यान दिन समेत उनीहरुले आग्रह गरेका थिए । कार्यक्रममा नगरपालिकाले सिकलसेल न्युनिकरणका लागि गरेको प्रगती सहितको प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत अम्मरराज खत्रीले प्रस्तुत गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर १० गते मंगलबार