कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका अन्र्तगत रहेका सबै सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर वृद्धि गराउन ‘लिडर मावि र फिडर आवि’ को अवधारणा अगाडि सारिएको छ । नगरक्षेत्रका सामुदायिक विद्यालयहहरुको शैक्षिक गुणस्तर कायम गर्नको लागि यस्तो अवधारणा अघि सारिएको हो ।
कोहलपुर नगर शिक्षा शाखा प्रमुख अनन्त कुमार पौडेलले सामुदायिक विद्यालयहरुमो शैक्षिक गुणस्तर वृद्धि गर्न, सामुदायिक विद्यालयहरुमा अध्यापन गराउने शिक्षकहरुको क्षमता विकास गराउनको यस्तो अवधारणा अघि सारिएको जानकारी दिए । उनका अनुसार विषयगत सिकाईलाई प्रभावकारी र गुणस्तर बढाउन तथा सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई ज्ञान, सिप, कला र प्रविधिमा समेत स्तर वृद्धि गराउन यो अवधारणाले सहयोग पु¥याउनेछ । ‘लिडरको अर्थ नेतृत्व गर्ने, फिडरको अर्थ विद्यार्थी तयार गर्ने भन्ने हो’ उनले भने ‘सोही सिद्धान्तमा आधारित भएर लिडर मावि, फिडर आविको अवधारणा अघि सारिएको हो ।’
कोहलपुरमा रहेको त्रिभुवन नमूना माविमा नगर प्रमुख एवं नगर शिक्षा समिति संयोजक लूट बहादुर रावतको प्रमुख आतिथ्यतामा सबै सामुदायिक विद्यालयका प्र.अ. हरुको बैठकमा पौडेलले सो अवधारणा सहितको कार्यक्रम प्रस्तुत गरेका थिए । सो बैठकबाट ‘लिडर मावि अन्तरगतका फिडर आधारभूत विद्यालयहरु तोकिएका छन् । बैठकबाट त्रिभुवन मावि कोहलपुर, श्रीराम मावि हवलदारपुर, सरस्वती मावि पिपिरी, ज्ञानज्योति मावि चपरगौडी, लक्ष्मी मावि बर्दहवा, कृष्ण मावि कौशिलानगर, सगरमाथा ज्ञानकुञ्ज मावि किरणनाला र नेपाल राष्ट्रिय जनता मावि मैटहवालाई लिडर माविको रुपमा तोकिएको छ ।
लिडर माविको सेवा क्षेत्र अन्र्तगत रहेका प्राथमिक तथा आधारभूत विद्यालयहरुलाई फिडर आवि भनिएको छ । सो अवधारणा अनुसार लिडर माविहरुले आफ्नो सेवाक्षेत्र भित्र रहेका अर्थात आफ्नो विद्यालयले फिडर विद्यालयको रुपमा ग्रहण गरेका विद्यालयहरुको समय–समयमा निरीक्षण तथा अनुगमन गर्ने, व्यवस्थापकीय कामलाई प्रणालीगत रुपमा व्यवस्थित गर्न गराउन सिकाई सहयोगी बन्ने, शैक्षिक गुणस्तर वृद्धि गराउन शिक्षकहरुको क्षमता विकासका लागि आवश्यक काम गर्नुपर्ने बताइएको छ ।
लिडर मावि र फिडर आवि सञ्चालन सम्बन्धि कार्यविधि बनाई कार्यान्वयन गरिने भएको छ । नगर शिक्षा समितिले तयार पारेको कार्यविधि मस्यौदालाई अनुमोदनका लागि कोहलपुर नगरकार्यपालिकाको बैठकमा पेस गरिने छ । कार्यापालिकाले अनुमोदन गरे पश्चात सो कार्यविधि लागु हुने र त्यसले नगरपालिको शैषिक गुणस्तरमा राम्रो परिणाम देखाउने विश्वास रहेको शाखा प्रमुख पौडेलले जानकारी गराए । शिक्षकहरुको पेशागत क्षमता विकास गर्न, शिक्षण सिकाई शैलीमा उत्प्रेरणा जनाउन अभ्यासको छलफल गर्न तथा अभ्यासहरुको अनुभव आदान प्रदान गर्न आविहरुमा ‘एक विषय एक सिकाइ केन्द्र’ समेत सञ्चालनमा ल्याउन लागिएको छ ।
त्यस्तै आविहरुमा विषयगत बैठक र सिकाइको जिम्मेवारी समेत तोकिएको छ । साविकको श्रोतकेन्द्रलाई ‘कोहलपुर शिक्षक केन्द्र’ का रुपमा विकास गरिने छ । त्यसका लगि समेत छुट्टै कार्यविधि बनाइने भएको छ । कार्यविधिको प्रारम्भिक मस्यौदा तयार गर्न पनि विद्यालयका प्र.अ. हरुलाई जिम्मा दिइएको छ । सोमबार सम्पन्न प्र.अ.हरुकै बैठकले ज्ञानज्योति मावि चपरगौडीका प्र.अ. विनोद लम्सालको संयोजकत्वमा तीन सदस्यीय मस्यौदा तयारी समिति बनाइएको छ ।
बैठकलाई सम्वोधन गर्दै कोहलपुर नगरपालिका प्रमुख एवं नगर शिक्षा समिति संयोजक लूट बहादुर रावतले सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर वृद्धि गराउने नगर शिक्षा शाखाले ल्याएको अवधारणा राम्रो रहेको भन्दै यसलाई कार्यान्वयन गराउने दायित्व प्रत्येक विद्यालयका प्र.अ.हरुकै भएको बताए ।
नगर प्रमुख रावतले अब कोहलपुर नगरपालिका अन्र्तगतका सबै सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तरमा सुधार ल्याउन र आफनो कर्तव्यप्रति सबै शिक्षकहरु इमान्दार भएर लाग्न समेत निर्देशन दिदै राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र आफ्नो कर्तव्य इमान्दारी पूर्वक पुरा नगर्नेले शिक्षकहरुलाई दण्ड दिने पद्धतिलाई कडाइपूर्वक लागु गरिने निर्देशन दिएको हो ।








प्रतिक्रिया दिनुहोस्