कर्णालीका छाडापशु ब्यवस्थापन गर्न कार्यदल



सुर्खेत ।

कर्णालीमा रहेका छाडापशुको ब्यवस्थापन गर्न कार्यदल गठन गरिएको छ । भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अगुवाइमा बुधवार मन्त्रालयमा आयोजना गरिएको सर्वपक्षिय छलफल पश्चात ७ सदस्यीय कार्यदल गठन गरिएको हो । जसमा पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डाक्टर टंक प्रसाद प्रसाईको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यमा मन्त्रालयका पशुपन्छी विकास महाशाखाका प्रमुख, पशुपन्छी रोग अन्वेषन प्रयोगशालाका प्रमुख, सुर्खेतका स्थानीय तहका पशुपन्छी शाखाका प्रमुख मध्य वीरेन्द्रनगर पालिकाको प्रतिनिधि सदस्य रहेको मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीले जानकारी दिए ।

सचिव भारीका अनुसार सदस्यमा पशुपन्छी ब्यवसायी मध्येवाट एक जना, कानुन ब्यवसायी एक जना र वन उपभोक्ता महांसंघ सुर्खेतका प्रतिनिधि रहने छन् । सुर्खेत लगाएत प्रदेशका अन्य ठाँउमा वेवारिसे रुपमा छोडिएका छाडापशुहरुको दिर्घकालीन ब्यवस्थापन गर्न कार्यदल गठन गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भुमि ब्यवस्था,कृषि तथा सहकारीमन्त्री विमला केसीले बताईन् । मन्त्री केसीका अनुसार कार्यदलले गठन भएको १५ दिन भित्र आफनो राय सहितको प्रतिवेदन मन्त्रालयलाई पेश गर्ने छ । मन्त्री केसीका अनुसार छाडापशुको समस्यालाई अल्पकालीन र दिर्घकालीन रुपमा समस्या समाधान गर्न कार्यदल गठन गरिएको हो । कार्यदलको प्रतिवेदनपछि मन्त्रालयले आवश्यक निर्णय लिनेछ ।

भाद्र १२ गते राती सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको १४ कटकुवा तथा आसपासका सडक छेउछाउका क्षेत्रमा बेबारिसे छोडिएका ३९ वटा गाईहरु मरेका थिए । नेपालगञ्जबाट ८ ओटा ट्रकमा ल्याइएका २९१ गाईहरुमध्ये ३९ वटा गाईमरेका थिए । भने दुइ सय ३३ वटा गाईहरु नेपालगञ्ज फिर्ता पठाइएको थियो । उक्त कार्यमा सग्लग्न भएको आरोपमा ५ वटा ट्रक सहित ५ जना चालक , २ जना सहचालक तथा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक र गाईको सप्लायर्स गर्ने सञ्चालकलाई पक्राउ गरि अनुसन्धान भैरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ २७ गते शुक्रबार