म्याद गुज्रेका सामान नष्ट



सुदीप अधिकारी : बर्दिया/  बजार अनुगमनका क्रममा फेला परेका म्याद गुज्रेका सामान जलाएर नष्ट गरिएको छ । जिल्ला प्रशासनको टोलीले जिल्लाका विभिन्न बजारहरुबाट बरामद गरेको म्याद गुज्रेका सामानहरु मंगलबार नष्ट गरेको हो ।

जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले दुई साता अघि जिल्लाको भुरिगाउँ, बासगढी, ताराताललगाएतका बजारमा बजार अनुगमनका क्रममा विभिन्न पसलमा म्याद ग्रुजेका अखाद्य बस्तु रहेको फेला परेको थियो ।

अनुगमनका क्रममा बजारमा तेल, विस्कुट, चाउचाउ, भुजा, दालमोट, मसला, आलु चिप्स, पानी, सुर्ती जन्य पदार्थ, पेय पदार्थलगाएतका म्याद गुज्रेका सामाग्री फेला परेको थियो । चाडबाडका बेला बजारमा अखाद्य वस्तु बिक्रि वितरण भइरहेको पाइएपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गरेको थियो ।

तेल, विस्कुट, चाउचाउ, भुजा, दालमोट, मसला, आलु चिप्स, पानी, सुर्ती जन्य पदार्थ, पेय पदार्थलगाएतका करिव २ लाख मूल्य बराबरका म्याद नाघेका सामाग्री जलाएर नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए ।

म्याद गुज्रेका सामान बिक्रिका लागि पसलमा राख्ने व्यापारीलाई प्रशासनले केही व्यापारीलाई एक पटकका लागि चेतावनी दिएर छाडिएको छ । भने अनुगमनका क्रममा सबै भन्दा बढी म्याद गुज्रेका सामान फेला परेको ठाकुरबाबा नगरपालिका स्थित सुभाष जनरल स्टोरको पसल र गोदाममा शिल गरिएको जनाएको छ ।

पटकपटक चेतावनी दिँदा पनि अटेर गरेर म्याद गुज्रेका सामान विक्रि गर्ने गरेको पाइएकोले सुभाष जनरल स्टोरको पसल र गोदाममा शिल गरिएको प्रशासकिय अधिकृत अर्जुन सुवेदीले बताए ।

उक्त पसलका संचालक विरुद्ध कालोबजारी गर्ने तथा उपभोक्ता ठगी गर्नेलाई कालोबजार तथा केही सार्वजनिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारवाही प्रकृया अघि बढाइएको प्रशासनले जनाएको छ । सुभाष जनरल स्टोरका संचालकलाई जिल्ला प्रहरी कार्यालयको थुना कक्षमा राखि अनुसन्धान भइरहेको प्रशासकिय अधिकृत सुवेदीले जानकारी दिए ।

अनुगमन टोलीले किराना पसल, मिठाइ पसल, दुग्घ डेरी र होटेल र पेय पदार्थ बिक्री पसलमा अनुगमन गरेको थियो । सबै भन्दा बढी किराना पसलमा म्याद गुज्रेका सामान फेला परेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक २८ गते बुधबार