नन्दराम जैशी । सुुर्खेत ।
नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर पार्टीको संगठनात्मक संरचना पुनःव्यवस्थित गर्ने योजना बनाएको छ । जनतासँग टुटेको सम्बन्ध जोड्ने र निर्वाचनमा पार्टीको प्रभावकारी उपस्थिति स्थापित गर्ने उद्देश्यसहित पार्टीले व्यापक कार्ययोजना अघि सारेको हो । केन्द्रीय नेतृत्वदेखि गाउँ, वडा र टोल तहसम्मै पार्टी पङ्क्तिलाई परिचालन गर्ने गरी १३ बुँदे निर्वाचन तयारी कार्ययोजना प्रस्ताव गरिएको छ । यसले एमालेको आगामी राजनीतिक कार्यदिशा संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र चुनावी रणनीतिमा केन्द्रित हुने पार्टीको विश्वास छ ।
बुधबारदेखि काठमाडौँमा सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलामा महासचिव शंकर पोखरेलले १३ बुँदे निर्वाचन तयारी कार्ययोजना प्रस्तुत गरेका हुुन् । भेलामा देशभरबाट तीन हजारभन्दा बढी नेता, कार्यकर्ता तथा विभिन्न तहका प्रतिनिधि सहभागी भएका छन् । एमालेले आगामी निर्वाचनलाई सामान्य चुनावी प्रतिस्पर्धाका रूपमा मात्रै नलिई पार्टीको जनाधार पुनर्निर्माण र राजनीतिक प्रभाव पुनःस्थापनाको अवसरका रूपमा लिएको कार्ययोजनामा उल्लेख छ ।
विगतका निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकेको पृष्ठभूमिमा एमालेले यसपटक निर्वाचनको तयारीलाई केन्द्रदेखि टोलसम्म संस्थागत र योजनाबद्ध बनाउने प्रस्ताव अघि सारेको हो । यसले एमालेभित्र चुनावी तयारीसँगै संगठनात्मक कमजोरी सच्याउनुपर्ने आवश्यकता पनि नेतृत्वले महसुस गरेको देखिन्छ । एमालेले आगामी निर्वाचनको मुख्य आधार पालिका, वडा र टोल कमिटीलाई मानेको छ ।
त्यसैले सबैभन्दा पहिले स्थानीय कमिटीहरूको वास्तविक अवस्था मूल्यांकन गर्ने, निष्क्रिय रहेका कमिटीलाई सक्रिय बनाउने र संगठनको उपस्थिति कमजोर भएका क्षेत्रमा विशेष अभियान सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । यसअन्तर्गत वडा तथा पालिका अधिवेशनको तालिका सार्वजनिक गरी कार्यकर्ताको भावना र स्थानीय आवश्यकताअनुसार योग्य, क्रियाशील र जनसम्पर्क भएका नेतृत्व चयनमा सहजीकरण गरिने उल्लेख छ ।
विगतमा वडाकेन्द्रित, जराकेन्द्रित र ग्रासरुट अभियान सञ्चालन गरिए पनि ती अभियान जनतासँगको प्रभावकारी संवादमा रूपान्तरण हुन नसकेको स्वयं महासचिव पोखरेलले स्वीकार गरेका छन् । त्यसैले अब संगठनको संरचना विस्तारसँगै त्यसको सक्रियता र जनतासँगको सम्बन्धलाई परिणाममुखी बनाउने चुनौती एमालेसामु रहेको उनले बताए । ‘प्रत्येक वडामा मतदाता सङ्ख्या, पार्टी सदस्य, समर्थक, शुभेच्छुक, जनसंगठन र स्थानीय मुद्दाहरूको अद्यावधिक अभिलेख तयार पार्ने योजना यसैको हिस्सा हो,’ उनले भने, ‘जनमत सर्वेक्षण, कार्यकर्ताको राय तथा बौद्धिक क्षेत्रको सुझाव संकलन गरी निर्वाचन रणनीति तयार पार्ने विषयलाई पनि कार्ययोजनामा समेटिएको छ ।’
चुनावी प्रतिस्पर्धामा परम्परागत संगठनात्मक शक्तिसँगै तथ्यांकमा आधारित रणनीतिलाई समेत महत्व दिन खोजेको उनले बताए । उनका अनुुसार एमालेको प्रस्तावित कार्ययोजनामा उम्मेदवार छनोटलाई पनि विशेष प्राथमिकता दिइएको छ भने निष्ठा, जनसम्पर्क, सामाजिक प्रतिष्ठा, इमानदारी र जनस्वीकार्यतालाई उम्मेदवार चयनका प्रमुख आधार बनाउने तयारी छ । पार्टीभित्रको पहुँच, व्यक्तिगत निकटता र गुटगत प्रभावका आधारमा उम्मेदवार चयन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने प्रस्ताव गरिएको छ ।
तर उम्मेदवार छनोटमा गुटगत प्रभाव अन्त्य गर्ने प्रतिबद्धता व्यवहारमा कति लागू हुन्छ भन्ने विषय पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनसँग जोडिएको छ । नेतृत्वले तोकेको मापदण्ड र स्थानीय कार्यकर्ताको अपेक्षाबीच तालमेल मिलाउनु एमालेका लागि महत्वपूर्ण चुनौती हुने राजनीतिक विश्लेषकहरू बताउँछन् ।
प्रचारदेखि कानुनी सहायताको संयन्त्र
एमालेले निर्वाचन परिचालनलाई बहुस्तरीय संरचनामार्फत व्यवस्थित गर्ने प्रस्ताव गरेको छ । प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहसम्म निर्वाचन परिचालन कमिटी गठन गरिने उल्लेख छ । ती कमिटीअन्तर्गत प्रचारप्रसार, डिजिटल प्रचार, मतदाता सम्पर्क, जनसंगठन परिचालन, आर्थिक तथा स्रोत व्यवस्थापन, कानुनी सहायता र अनुगमनका लागि छुट्टाछुट्टै उपसमिति बनाउने योजना छ ।
प्रत्येक पालिका र वडामा निर्वाचन कार्यालय स्थापना गरी सूचना व्यवस्थापन, अभिलेख संकलन र स्वयंसेवक परिचालनलाई व्यवस्थित गर्ने प्रस्ताव छ । निर्वाचनलाई संस्थागत व्यवस्थापनको माध्यमबाट सञ्चालन गर्ने एमालेको तयारी छ । स्थानीय जनताका दैनिक सरोकार र आवश्यकतालाई समेटेर कार्यान्वयनयोग्य प्रतिबद्धतापत्र तयार गर्ने प्रस्ताव पनि कार्ययोजनामा छ । विपक्षी दलका कमजोरीमाथि तथ्यपूर्ण टिप्पणी गर्दै आफ्ना नीति र विकासका उपलब्धि जनतामाझ पु¥याउने एमालेको योजना छ ।
भेलामा प्रस्तुत महासचिव पोखरेलको राजनीतिक विश्लेषणले पार्टीको अहिलेको चुनौतीलाई थप स्पष्ट पारेको छ । उनले पार्टीले वडाकेन्द्रित, जराकेन्द्रित र ग्रासरुटलगायतका विभिन्न अभियान सञ्चालन गरे पनि ती अभियानले जनतासँग प्रभावकारी संवाद स्थापित गर्न नसकेको स्वीकार गरेका छन् । उनका अनुसार पार्टीका अभियानहरू कतिपय अवस्थामा औपचारिकता र देखावटी गतिविधिमा सीमित हुन थालेका छन् ।
जनतासँगको संवाद कमजोर हुँदा उनीहरूको बदलिँदो मनोविज्ञान बुझ्न नसकिएको र त्यसको प्रभाव निर्वाचन परिणाममा समेत परेको पोखरेलको विश्लेषण छ ।जनतासँग संवाद नगरी जनाधार पुनःस्थापित गर्न नसकिने स्पष्ट पार्दै पार्टीलाई बलियो बनाउन कार्यकर्ताहरू जनतामाझ पुग्नुपर्नेमा उनले जोड दिए । भेलामा एमाले सचिव पद्मा अर्यालले पनि पार्टीले आगामी राजनीतिक चुनौतीको सामना गर्न पूर्ण रूपमा तयार हुनुपर्ने बताएकी छन् । पार्टी शक्ति र पङ्क्तिलाई निष्क्रिय हुन नदिई थप सक्रिय र सुदृढ बनाउनुपर्नेमा उनको जोड छ ।
जनतामा रहेका जिज्ञासा, प्रश्न र आलोचनालाई पन्छाउनेभन्दा पनि तिनको सामना गर्दै स्पष्ट जवाफ दिनुपर्ने उनको भनाइ छ । ‘जनतासँग प्रत्यक्ष संवाद गर्ने, उनीहरूको कुरा सुन्ने र पार्टीसँग जोड्ने काममा कार्यकर्ताहरू सक्रिय हुनुपर्छ,’ उनले भनिन्, ‘गत निर्वाचनमा भएको क्षतिको पूर्ति आगामी निर्वाचनबाट गर्ने लक्ष्यसहित एकताबद्ध भएर अघि बढ्नुपर्छ ।’
फेरि सरकारको नेतृत्व गर्ने दाबी
राष्ट्रिय भेलाको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनः सरकारको नेतृत्वमा पुग्ने दाबी गरेका छन् । एमाले यसअघि पनि कसैको कृपा वा आशीर्वादबाट नभई जनताको समर्थन र राजनीतिक संघर्षबाट सरकारमा पुगेको उल्लेख गर्दै पुनः सरकारमा जाने उनले दाबी गरे ।
‘फेरि नेकपा एमाले सरकारमा जान्छ । कान खोलेर सुने हुन्छ । एमालेले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणालाई निरन्तरता दिन हामी सरकारमा पुुग्छौँ,’ उनले भने, ‘राष्ट्रिय भेलालाई संगठनात्मक समीक्षा र स्थानीय निर्वाचनको तयारीमा सीमित नराखी पार्टीको राष्ट्रिय राजनीतिक लक्ष्यसँग पनि जोडेका छौँ ।’ सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कार्यकर्तालाई आन्दोलनको तयारी अवस्थामा रहन पनि ओलीले निर्देशन दिएका छन् ।
सरकारबाट राजनीतिक प्रतिशोध हुन सक्ने भन्दै नेताकार्यकर्तालाई गिरफ्तार र पार्टीमाथि आक्रमण हुन सक्ने उनले दाबी गरे । आफू पक्राउ परेको अवस्थामा विगतमा केही हजारको सङ्ख्यामा कार्यकर्ता सडकमा उत्रिएको उल्लेख गर्दै अब लाखौँको सङ्ख्यामा कार्यकर्ता परिचालन हुन सक्ने चेतावनीसमेत उनले दिएका छन् । नयाँ प्रहरी महानिरीक्षकले आफू, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई थुनिदिने कबोल गरेको दाबी पनि ओलीले गरेका छन् । यसरी निर्वाचन तयारी र सम्भावित आन्दोलनको तयारीलाई एउटै राजनीतिक मञ्चबाट अघि सार्नुले एमालेले आगामी राजनीतिक परिस्थितिलाई प्रतिस्पर्धा र दबाब दुवैको कोणबाट हेरिरहेको छ ।
जेलमुक्तपछि भेलामा पुुगे टोपबहादुर
एमालेको राष्ट्रिय भेलामा नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका नेता टोपबहादुर रायमाझीको उपस्थितिले पनि राजनीतिक वृत्तमा ध्यान खिचेको छ ।
रायमाझी कात्तिक २६ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए । ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार उनले २५ प्रतिशत कैद छुट पाएका थिए । काठमाडौँ जिल्ला अदालतले उनलाई उक्त प्रकरणमा चार वर्ष कैद र ४० हजार रूपैयाँँ जरिबाना सुनाएको थियो । उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए ।
कैद छुट पाएर रिहा भएपछि पार्टीको राष्ट्रिय भेलामा उनको सहभागिता एमालेको आन्तरिक राजनीतिक परिदृश्यमा चासोको विषय बनेको छ । एकातिर एमालेले पार्टी शुद्धीकरण, सुशासन, इमानदारी र जनस्वीकार्यतालाई उम्मेदवार छनोटका आधार बनाउने प्रस्ताव गरिरहेको छ भने अर्कोतिर विभिन्न विवाद र कानुनी प्रकरणसँग जोडिएका नेताहरूको राजनीतिक उपस्थिति पनि चर्चामा छ । यसले पार्टीले अघि सारेको शुद्धीकरणको नारालाई व्यवहारमा कसरी लागू गर्छ भन्ने प्रश्नलाई थप सान्दर्भिक बनाएको छ ।
विष्णु पौडेलको २८ पृष्ठे दस्ताबेज
राष्ट्रिय भेलामा एमाले उपाध्यक्ष विष्णु पौडेलले पार्टी नेतृत्वका सरकारले गरेका कामहरूको २८ पृष्ठ लामो दस्ताबेज प्रस्तुत गरेका छन् । ‘नेकपा एमालेले देश र जनताको पक्षमा गरेका महत्वपूर्ण कार्यहरू’ शीर्षकको दस्तावेजमा संविधान कार्यान्वयन, संघीयता व्यवस्थापन, शान्ति सुरक्षा, सुशासन, आर्थिक वृद्धि र पूर्वाधार विकासका उपलब्धि समेटिएका छन् । त्यसैगरी ऊर्जा तथा जलस्रोत, कृषि आधुनिकीकरण, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, विपद् व्यवस्थापन, पुनर्निर्माण र परराष्ट्र सम्बन्ध सुधारका क्षेत्रमा भएका कामलाई पनि दस्ताबेजमा समावेश गरिएको छ ।
पौडेलले प्रस्तुत गरेको सामग्रीलाई एमालेको विगतको शासनकालको राजनीतिक तथा नीतिगत प्रतिरक्षाका रूपमा समेत हेरिएको छ । पार्टीले सरकारमा रहँदा गरेका कामलाई संस्थागत रूपमा अभिलेखबद्ध गर्दै आगामी दिनमा जनतामाझ लैजाने उद्देश्य छ । एमालेले आगामी निर्वाचनमा भविष्यका प्रतिबद्धता प्रस्तुत गर्नुुका साथै विगतमा सरकारको नेतृत्व गर्दा गरेका कामको विवरणसमेत चुनावी बहसको हिस्सा बनाउन खोजेको छ ।
भेलामा प्रस्तुत भएका कार्ययोजना, नेतृत्वका अभिव्यक्ति र दस्ताबेजहरूलाई एकसाथ हेर्दा एमालेले अहिले तीनवटा मुख्य राजनीतिक प्राथमिकता अघि सारेको छ । पहिलो, संगठनको पुनर्संरचना र परिचालन । दोस्रो, जनतासँगको सम्बन्ध सुधार र विगतका राजनीतिक तथा विकाससम्बन्धी कामको प्रतिरक्षा र तेस्रो, आगामी निर्वाचनमार्फत स्थानीय तहदेखि राष्ट्रिय राजनीतिसम्म पार्टीको उपस्थिति विस्तार गर्ने लक्ष्य छ ।
यी तीनवटै विषय एकअर्कासँग जोडिएका छन् । भेलामा बुुधबार महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलको कार्यपत्र प्रस्तुुत भएका छन् भने आज बिहीबार थप कार्यपत्र प्रस्तुुत तथा छलफलको तयारी छ । शुुक्रबार केन्द्रीय कमिटीको बैठक बस्ने कार्यसूूची रहेको छ ।









प्रतिक्रिया दिनुहोस्