कोहलपुर ।
इलाका प्रहरी कार्यालय कोहलपुरले ठूलो परिमाणमा हातहतियार, गोली र विभिन्न वन्यजन्तुका अंगहरु बरामद गरेको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिका, ५ जवरपुरबाट प्रहरीले शनिवार बिहान ठूलो परिमाणमा हातहतियारका साथै गोली, बम बनाउने विभिन्न कच्चा पदार्थ लगायतका साम्रगीहरु बरामद गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको बिशेष प्रहरी टोलीले त्यहाँका विभिन्न घरमा खानतलासी गर्दा हातहतियार लगायतका साम्रगीहरु बरामद गरेको थियो ।
हातहतियारसहित एक पुरुषलाई नियन्त्रणमा समेत लिइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालले जानकारी दिए । स्थानीय लाल बहादुर थारु, ऋषिराम थारु र ओम प्रकाश थारुको घरबाट हतियारसहित गोली तथा कच्चा पदार्थ समेत बरामद गरिएको उनले बताए । ऋषिराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने लाल बहादुर र ओम प्रकाश भने फरार रहेका छन् । डिएसपी खनालका अनुसार लाल बहादुर घरबाट कुटुवा पेस्तोल १ थान, लाईभ बुलेट ३ थान, भरुवा बन्दुक बनाउने पाईप १ थान, फलामको छर्रा ६ वटा, भरुवा बन्दुकमा प्रयोग हुने चाँप १ थान र गन्धक धुलो २ वटा सिसिको बोत्तल बरामद गरिएको थियो । पक्राउ परेका ऋषिरामको घरबाट भरुवा बन्दुक १ थान र भरुवा बन्दुकको नाल १ थान बरामद गरिएको डिएसपी खनालले जानकारी दिए ।
त्यसैगरी ओम प्रकाशको घरबाट दुई नाले बाह्रबोर बन्दुक १ थान, भरुवा बन्दुक १ थान, सटगनको खोका ३८ वटा, सटगनको आधा काटेको खोका १२ वटा, सटगनको जंगी राउण्ड १ वटा, फलामको छर्रा १ किलो, बारुद्ध १०० ग्राम तथा केभ र छर्रा ५०० ग्राम बरामद गरिएको थियो । उनकै घरबाट विभिन्न वन्यजन्तुका अंगहरु समेत बरामद भएको कोहलपुर प्रहरीले जनाएको छ । चित्तलको सिङ ४ वटा, बदेलको दाँत १ वटा र दुम्सीको खाक १ मुठा बरामद गरिएको थियो । ‘यो भन्दा पनि ठूलो परिमाणमा आधुनिक हतियार भएको सूचनाको आधारमा हामीले त्यहाँ छापा मारेका थियौं’ कोहलपुरका डिएसपी खनालले भने, ‘हामीलाई केही भएपनि सफलता मिलेको छ ।’
पक्राउ परेका ऋषिराम मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय स्तरका नेता रहेको बताइएको छ । उनी २०७४ सालको स्थानीय निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट गाउँपालिका अध्यक्ष र बाँके क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ बाट प्रदेश सांसदका उम्मेदवार थिए । हातहतियार किन घरमा राखेको हो भन्नेबारे अनुसन्धान जारी रहेको कोहलपुरका डिएसपी खनालले जानकारी दिए । ‘घरमा हातहतियार राख्नु नै कानून विपरितको कार्य हुन आउँछ’ उनले भने, ‘आपराधिक क्रियाकलापमा यी हतियार प्रयोग भए कि भएनन् भन्नेबारे हाम्रो अनुसन्धान जारी छ ।’
इलाका प्रहरी कार्यालय कोहलपुरका मुद्दा फाँट इन्चार्ज प्रहरी निरीक्षक सुबराज बमले अन्य फरार दुई जनाको खोजी भइरहेको जानकारी
दिए । ‘हामीले फरार रहेका दुई जनालाई खोजी कार्य तिव्र बनाएका छौं’ उनले भने, ‘हातहतियारबारे समेत सुक्ष्म रुपले अनुसन्धान गरिरहेका छौं ।’ इलाका प्रहरी कार्यालय कोहलपुरले एक दशकयता ठूलो मात्रामा पहिलोपटक हातहतियार बरामद गरिएको बताइन्छ ।