देउसीभैलोको रकम शिक्षा र स्वास्थ्यमा लगानी



वीरेन्द्रनगर ।

तिहारमा देउसीभैलो खेल्ने, रमाइलो गर्ने र दक्षिणा संकलन गर्ने परम्परा नेपाली समाजमा पुरानै हो । तर, यही सांस्कृतिक परम्परालाई सामाजिक उत्तरदायित्वसँग जोड्दै केही समुदायले तिहारमा संकलन गरेको रकम विद्यालयको शैक्षिक विकास र स्वास्थ्य संस्थाको पूर्वाधार निर्माणमा लगानी गरेका छन् । मनोरञ्जन र उत्सवमा सीमित हुन सक्ने देउसीभैलोबाट संकलित रकमलाई सामुदायिक आवश्यकतासँग जोड्ने यो अभ्यासले सकरात्मक सन्देश दिएको छ भने स्थानीय स्तरमा विकासका लागि नागरिक सहभागिताको महत्वसमेत उजागर गरेको छ ।

हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्चस्थित देबल आधारभूत विद्यालयले देउसीभैलोबाट संकलन गरेको दुई लाख १७ हजार ५७५ रूपैयाँँ माध्यमिक तहका कक्षा सञ्चालनमा खर्च गर्ने भएको हो । उता सल्यानको छत्रेश्वरी गाउँपालिका–२ दहखोलास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको भौतिक संरचना निर्माण तथा सेवा विस्तारका लागि स्थानीय युवासहितका समूहले ५६ हजार सहयोग गरेका छन् । यी दुई स्थान फरक भए पनि स्थानीय आवश्यकता पूरा गर्न समुदाय आफैँले स्रोत जुटाउने र विकासका काममा आफ्नो हिस्सेदारी सुनिश्चित गर्ने उद्देश्य एउटै छ ।

देबल आधारभूत विद्यालयका लागि देउसीभैलो मनोरञ्जनसँगै माध्यमिक तहको पठनपाठनलाई निरन्तरता दिने आर्थिक आधार जुटाउने माध्यम बनेको हो । विद्यालयको शैक्षिक विकासका लागि खेलिएको देउसीभैलोबाट जैर, छिडीनात्ता, लुम र तुम्च क्षेत्रका स्थानीयवासी तथा सहयोगदाताले दुई लाख १७ हजार ५७५ प्रदान गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक मदन बुढाका अनुसार संकलित रकम माध्यमिक तहका कक्षा सञ्चालन र शिक्षक व्यवस्थापनमा खर्च गरिनेछ ।

अभिभावकको मागअनुसार विद्यालयले गत फागुनदेखि कक्षा ९ र १० सञ्चालन गर्दै आएको छ । तर, त्यसलाई नियमित र गुणस्तरीय रूपमा सञ्चालन गर्न आवश्यक जनशक्ति तथा आर्थिक स्रोतको व्यवस्थापन गर्न विद्यालयलाई निकै चुनौती छ । ‘विशेषगरी भौगोलिक विकटता, सीमित आर्थिक स्रोत र शैक्षिक पूर्वाधारको अभावले प्रभावित हिमाली जिल्लाका सामुदायिक विद्यालयमा माथिल्लो तहको शिक्षा सञ्चालन गर्नु सहज छैन,’ प्रधानाध्यापक बुुढाले भने, ‘यस्तो अवस्थामा स्थानीय समुदायबाट संकलित रकम विद्यालयका लागि महत्वपूर्ण सहयोग बनेको छ ।’

उनका अनुुसार विद्यालय व्यवस्थापन समितिले माध्यमिक तहको पठनपाठनलाई निरन्तरता दिनकै लागि देउसीभैलो कार्यक्रम आयोजना गरेको हो । विद्यालयको शैक्षिक उन्नति र माध्यमिक तहको सञ्चालनलाई दिगो बनाउन थप सहयोग आवश्यक रहेको भन्दै उनले जिल्लाभरका सहयोगदातालाई सहयोगका लागि आग्रह गरेका छन् ।स्थानीय स्तरमै माध्यमिक शिक्षा उपलब्ध गराउने प्रयास सफल भए विद्यार्थीले आधारभूत तहपछि अध्ययनका लागि टाढाका विद्यालय धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा छ । यसले आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाको शिक्षामा पहुँच बढाउन सहयोग पु¥याउने विद्यालयले जनाएको छ ।

स्वास्थ्य सेवामा युवाको चासो

सल्यानको छत्रेश्वरी गाउँपालिका–२ दहखोलास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको अवस्था पनि स्थानीय समुदायका लागि चिन्ताको विषय छ । दुर्गम बस्तीमा रहेको स्वास्थ्य संस्थाबाट सबै प्रकारका स्वास्थ्य सेवा उपलब्ध छैन । सामान्य उपचारका लागि समेत कतिपय स्थानीयवासी जिल्ला अस्पताल सल्यान तथा दाङ र नेपालगञ्जका अस्पतालसम्म पुग्न बाध्य छन् । यही समस्यालाई मध्यनजर गर्दै छत्रेश्वरी गाउँपालिका–२ गुराँसे र रोल्पाको गंगादेव गाउँपालिका–३ झ्यामका स्थानीय युवाहरूले तिहारमा देउसीभैलो खेलेर संकलन गरेको रकम स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेका हुन् ।

संयुक्त लहरे पैसेरी देउसीभैलो समूह, सहिद प्रतिष्ठित युवा समूह र खोरबारे लहरे नाच समूहले भौतिक संरचना निर्माण तथा थप सेवा विस्तारका लागि ५६ हजार सहयोग गरेका छन् । स्थानीय विजय घर्तीका अनुसार स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधार र सेवा विस्तार नहुँदा स्थानीयले उपचारका लागि गाउँबाहिर जानुपर्ने बाध्यता छ ।सामान्य स्वास्थ्य समस्या हुँदा पनि टाढाका अस्पताल धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले देउसीभैलोबाट संकलित रकम स्वास्थ्य संस्थालाई प्रदान गरिएको उनले बताए ।

उनका अनुसार उक्त रकम पर्याप्त नभए पनि अन्य व्यक्ति, समूह र निकायलाई सहयोगका लागि प्रेरित गर्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको हो । यस अभियानमा स्थानीयको व्यक्तिगत सहभागिता पनि उल्लेखनीय देखिएको थियो । आफ्नै गाउँको स्वास्थ्य संस्था व्यवस्थित भए सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता कम हुने अपेक्षासहित बेलबहादुर घर्तीले व्यक्तिगत रूपमा ११ हजार सहयोग गरेका छन् ।

उनका अनुसार गाउँमा राम्रो स्वास्थ्य संस्था नहुँदा स्थानीयले सामान्य उपचारका लागि समेत मेडिकल तथा अस्पताल धाउनुपर्ने अवस्था छ । सामूहिक प्रयासबाट स्वास्थ्य संस्थाको भौतिक संरचना निर्माण र सेवा विस्तार गर्न सके गाउँमै सहज उपचार पाउने वातावरण बन्ने उनको विश्वास छ । आधारभूत स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मी चुडामणि बस्नेतका अनुसार गुराँसे–झ्याम लहरे भैलो नाच समूहले ३० हजार, सहिद प्रतिष्ठित युवा समूहले पाँच हजार, खोरबारे लहरे नाच समूहले १० हजार र डिग्रे निवासी बेलबहादुर घर्तीले ११ हजार सहयोग गरेका छन् ।

यसरी संकलित रकमले स्वास्थ्य संस्थाको भौतिक संरचना सुधार तथा सेवा विस्तारको प्रयासलाई प्रारम्भिक टेवा पुग्ने अपेक्षा गरिएको छ । अन्य व्यक्ति तथा समूहले पनि सहयोग गर्ने तयारी गरेको बस्नेतले जानकारी दिएका छन् । तर, स्थानीय नागरिकको सहभागिताले सार्वजनिक संस्थाप्रतिको अपनत्व बढाउन र सम्बन्धित निकायलाई जवाफदेही बनाउन मद्दत गरेको छ । देउसीभैलोमा उठेको रकमको सामाजिक उपयोगले तिहारको सांस्कृतिक महत्वलाई थप अर्थपूर्ण बनाएको छ । दक्षिणा र मनोरञ्जनमा खर्च हुन सक्ने रकम विद्यालयको भविष्य र गाउँको स्वास्थ्य सेवामा लगानी हुँदा त्यसको प्रतिफल एक व्यक्तिमा मात्र सीमित नरही सिंगो समुदायले प्राप्त गर्ने विश्वास छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर ३ गते बुधबार