कोहलपुरका दुई वडा बालविवाह मुक्त घोषणा



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका दुई वडाहरु बालविवाह मुक्त घोषणा भएका छन् । बिहीबार ‘हामी सबैको ऐक्यबद्धता, बालविवाह विरुद्धको साझा प्रतिबद्धता’ भन्ने मुल नाराका साथ एक औपचारिक कार्यक्रम गरी कोहलपुरका १२ र १३ वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले सो कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटनको क्रममा बोल्दै लुट बहादुर रावतले कोहलपुर नगरपालिकाले बालविवाह मुक्त पालिका घोषणा गर्नका लागि विभिन्न रणनीतिहरु विगत दुई वर्षदेखि निरन्तर रुपमा लागि रहेको बताए । कोहलपुरमा विभिन्न समयमा बालविवाह रोकथाम परियोजना मार्फत विभिन्न कामहरु गर्दै जाँदा राम्रो परिणाम आएको उनले बताए ।

अझै यस्ता परियोजनाले हाम्रो समाजले केही परिवर्तन भएको महशुस गर्ने उनको भनाइ छ । कोहलपुरमा पनि आगामी एक वर्षभित्रमा सबै पालिका नै बालविवाह मुक्त घोषणा गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

यस्तै कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जु कुमारी चौधरीले कोहलपुर नगरपालिकाले ऐतिहासिक काम गरेको भन्दै खुसी व्यक्त गरिन् । उनका अनुसार कोहलपुरको भौगोलिक अनुसार विकसित वडा भनेको १३ नम्बर वडा हो । जसको बालविवाह मुक्त वडा घोषणा भयो भने अन्य वडा पनि घोषणा गर्ने सक्ने उनले विश्वास व्यक्त गरिन् ।

यस्तै कोहलपुर नगरपालिकाका वडा नम्बर १२ का कार्यवाहक अध्यक्ष नैन बहादुर शाही र १३ का वडा अध्यक्ष ओमप्रकाश वलीले बालविवाह मुक्त वडा बनाउनका लागि धेरै मिहेनत गरेको बताएका थिए । उनीहरुका अनुसार प्रत्येक घरधुरीको सर्वेक्षण गर्दा निकै समस्या हुँदो रहेछ । यहाँका अभिभावक, धार्मिक गुरु, जनप्रतिनिधि र सामाजिक अगुवा, किशोरी क्लब, बाल क्लब र अन्य बालबालिकाहरुको सहयोगमा बालविवाह मुक्त वडा घोषणा गर्दै उनीहरुले सबैलाई धन्यवाद ज्ञापन व्यक्त गरे ।

यस्तै कोहलपुर नगरपालिकाका सामाजिक विकास शाखाका संयोजक नारायणी वली कोहलपुरका अन्य वडाहरु भने २०७९ साल बैशाखमा बालविवाह मुक्त वडा घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरिएको बताइन् । पहिलो चरणमा कोहलपुर नगरपालिका वडा नम्बर १२ र १३ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ भने अन्य वडाहरुमा समेत सर्वेक्षणका कामहरु तिव्र रुपमा अगाडि बढाइएको उनको भनाइ थियो ।

यस्तै कार्यक्रममा किशोरी क्लबका अध्यक्ष, बाल क्लबका अध्यक्ष र सरोकारवालाहरु समेत सम्मानित भएका थिए । यस्तै उक्त कार्यक्रममा स्याक नेपालका प्रमुख शिवलाल पाण्डे, जनज्योति स्कुलका प्रधानाध्यपक विनोद शर्मा, कोहलपुर नगर शिक्षा शाखाका प्रमुख अन्नत कुमार पौड्याल लगायत अभिभावक, शिक्षक, विद्यार्थी, समाजसेवी, बृद्धबृद्धा समेत उपस्थित रहेको थियो ।

यसकारण, बालविवाह मुक्त घोषणा

कोहलपुर नगरपालिका वडा नम्बर १३ का १४ वटा टोलहरुमा नमूना सर्वेक्षण संकलन गरिएको थियो । बालविवाह परियोजनाका प्रबन्धक जगदिश थापाले सर्वेक्षण गरेको तथ्यांक प्रस्तुत गरेका थिए । सो तथ्यांक अनुसार वडा नम्बर १३ मा ४ हजार ५ सय ७७ मध्ये १ सय ५० घरधुरीको सर्वेक्षण गरिएको थियो ।

बालविवाह बारे थाहा पाइएको ७३.३३ प्रतिशत, विवाह उमेर २० वर्ष हो भन्ने थाहा पाएको ९५.३३ प्रतिशत, बालविवाह नभएको बताउने ८९ प्रतिशत, बालविवाहको जन्ती भोज भेतरमा जान छोडेको ५६ प्रतिशत रहेको छ ।

यस्तै बालविवाह भागेर गरेको ८७ प्रतिशत र मागेर १२.५ प्रतिशत, अभिभावक बालविवाह विरुद्ध उजुरी दिनुपर्नेमा सर्तक रहेको ६५.३३ प्रतिशत रहेको सर्वक्षणको तथ्यांकले देखाएको छ । यस्तै तथ्यांक अनुसार एक वर्षको अवधिमा १५ जनाले बालविवाह गरेको पाइएको छ । जसको कुल संख्याको १६.४८ प्रतिशत रहेको छ । एउटा पालिका, वडा बालविवाह मुक्त वडा घोषणा गर्नका लागि २० प्रतिशत भन्दा कम बालविवाह गरेको हुनुपर्दछ ।

यस्तै वडा नम्बर १२ का ११ टोलमा गरिएको नमूना सर्वेक्षण अनुसार ७ हजार ५ सय ५२ मध्ये २ सय घरधुरीको सर्वेक्षण गरिएको थियो । यस्तै बालविवाह बारे थाहा पाइएको ८५.५ प्रतिशत, विवाह उमेर २० वर्ष हो भन्ने थाहा पाएको ९७ प्रतिशत, बालविवाह नभएको बताउने ९३.५ प्रतिशत र बालविवाहको जन्ती भोज भेतरमा जान छोडेको ७३ प्रतिशत रहेको छ ।

यस्तै विवाह दर्ता गरेको १०० प्रतिशत, बालविवाह गराउनेलाई कारवाही १०० प्रतिशत, विभिन्न संस्था, समुह र सञ्जालहरु ८९ प्रतिशत सक्रियता देखिएको सर्वक्षणले देखाएको छ । यस्तै तथ्यांक अनुसार एक वर्षको अवधिमा ७ जनाले बालविवाह गरेको पाइएको छ । जसको कुल संख्याको १३.८८ प्रतिशत रहेको छ ।

मिसनकर्मी शाही सम्मानित

बाँकेको कोहलपुरबाट प्रकाशित हुने मिसन टुडे राष्ट्रिय दैनिकका समचारदाता डिल्ली शाही सम्मानित भएका छन् । कोहलपुर नगरपालिकाको वडा नम्बर १२ र १३ बालविवाह मुक्त वडा घोषणा हुने कार्यक्रममा शाही सम्मानित भएका हुन् ।

बिहीबार बाल अधिकार समितिको आयोजनामा भएको कार्यक्रममा कोहलपुर नगरपालिकाका लुट बहादुर रावतले शाहीलाई धन्यवाद ज्ञापन गर्दै सम्मान पत्र हस्तान्तरण गरेका थिए । यस्तै उनी समाज सेवा संस्था नेपालले पत्रकारीताको माध्यमबाट लागुऔषध प्रयोग न्यूनिकरणमा महत्पूर्ण भूमिका खेलेको भन्दै सम्मानित गरेको थियो ।

यस्तै झगरीलाल वाग्ले युवा पत्रकारिता पुरस्कारबाट समेत शाही पुरस्कृत भइसकेका छन् । शाही झण्डै आधा दशकदेखि मिसन टुडे दैनिकमा कार्यरत छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ चैत २० गते शुक्रबार