
तस्बिरः सामाजिक सञ्जाल
काठमाण्डौ ।
नेपाल भौगर्भिक समाजको आयोजनामा १२औँ नेपाल भौगर्भिक सम्मेलन आजदेखि शुरु हुँदैछ । समाजका महासचिव शिवकुमार बाँस्कोटाले आजदेखि पर्सि ५ गतेसम्म सम्मेलन चल्ने बताउनुभयो । अन्तरराष्ट्रिय सम्मेलनमा विभिन्न २७ देशबाट ३५० भन्दा बढी भूगर्भविद्, वैज्ञानिक, अनुसन्धानकर्ता तथा विज्ञको सहभागिता रहने महासचिव बाँस्कोटाले बताउनुभयो ।
हिमालय क्षेत्रको भूगर्भीय अवस्था, भूगर्भ विज्ञानका नवीनतम अनुसन्धान तथा उपलब्धि, प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण, जलवायु परिवर्तन, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन तथा पर्वतीय क्षेत्रको दिगो विकाससम्बन्धी वैज्ञानिक ज्ञान र अनुभव आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा विभिन्न विषयगत क्षेत्रका १७० वैज्ञानिक प्रस्तुति, सातवटा मुख्य सत्र, पाँचवटा विशेष वैज्ञानिक सत्र सञ्चालन हुनेछन् । सम्मेलनमा विश्वविद्यालय, सरकारी निकाय, विकास साझेदार संस्था, व्यावसायिक तथा प्राज्ञिक समाजका प्रतिनिधिको सहभागिता रहने समाजले जनाएको छ ।
सम्मेलनले हिमालय क्षेत्रको भूगर्भीय अनुसन्धानलाई थप सुदृढ बनाउनाका साथै भू–विपद् जोखिम न्यूनीकरण, पूर्वाधार विकास, खनिज तथा प्राकृतिक स्रोतको दिगो उपयोग र नीतिगत निर्णय प्रक्रियामा वैज्ञानिक ज्ञानको प्रभावकारी उपयोगमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा छ ।









प्रतिक्रिया दिनुहोस्