कोहलपुर
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ८ मा रहेको बिन्ध्या बासिनी सामुदायिक वन उपभोक्ता समूहको १९ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच समूहको वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको हो । उक्त अवसरमा सामुदायिक वन उपभोक्ता समूहको २०७६ श्रावण देखि २०७७ को आम्दानीको खर्च विवरण सार्वजिनक गरिएको थियो ।
आम्दानी वितरण तर्फ गत आर्थिक वर्षको अन्तिम मौज्दात, नगद मौज्दात खयर बिक्री, नबप्रवेशी शुल्क, दण्ड जरिवाना, बचत खाताको व्याज लगायत गरेर कुल २० लाख,८२ हजार ५ सय ५२ रुपैयाँ २२ पैसा रहेको छ ।
उक्त अवसरमा बोल्दै सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अमर बहादुर बस्नेतले वन क्षेत्रको संरक्षणको लागि निरन्तर लागि परेको बताए । उनका अनुसार बिन्ध्या बासिनीले वन संरक्षण, वृक्षारोपण तथा घाँस उत्पादन गर्दै आएको छ । हरियो वन, नेपालको धन भन्ने मूल नाराका साथ वन जोगाउने अभियानमा सक्रिय रुपमा सहभागी हुन उनले उपभोक्ताहरुलाई आग्रह गरेका छन् ।
अध्यक्ष बस्नेतले बिन्ध्या बासिनीले केही संख्यामा रोजगारी समेत सिर्जना गरेको बताएका थिए । अहिले त्यहाँ मासिक पारिश्रमिक दिएर वन पाले राखिएको छ । यस्तै कोहलपुर वन सब डिभिजन कार्यालयका निमित्त सहायक वन अधिकृत मानबहादुर थापाले सामुदायिक वनहरु विधि, पद्धति र नियम अनुसार चल्नुपर्ने बताए ।
स्थानीय जनतामा वन संरक्षणका लागि सक्रिय हुन राम्रो सन्देश भएको उनको भनाइ छ ।
अहिले कोहलपुर नगरपालिकामा ३२ वटा सामुदायिक वन उपभोक्ता समूह रहेका छन् । उनीहरुलाई कार्यालयले वर्षेनी क्षमता वृद्धि तथा रोजगारमुलक तालिम प्रदान गर्दै आइरहेको जानकारी दिए ।
‘कोहलपुरमा वन क्षेत्र धेरै रहेको छ । त्यसको संरक्षणको लागि स्थानीय स्तरबाट राम्रा प्रयास भएका छन् । कार्यालयले समेत ती समूहलाई सहयोग गर्दै आएको छ । वन क्षेत्र जोगाउनको लागि हामी सबैले सहकार्य गर्नुपछ ।’ उनले भने ।
यस्तै नेपाली काँग्रेस वडा नम्बर ८ का सभापति बेलबहादुर क्षेत्रीले सामुदायिक वन र राजनीतिक दल बीच सहकार्य बढी भएको उनको भनाइ छ ।उक्त अवसरमा सामुदायिक वनका सदस्यहरु, स्थानीय, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।