स्कूल पढ्ने साना नानी बाबुलाई भविष्यमा के बन्ने हो भनी सोँध्दा अनेकाँै उत्तर आए । पहिले डाक्टर, इन्जिनियर, पाइलट नामका शब्द आए भने सरकारी जागिर, व्यपार जस्ता शब्द दोस्रोमा । यस पङ्तिकारले ५० जना बालबालिकामा गरेको सर्वेक्षणमा म किसान बन्छु, भन्ने एउटा पनि उत्तर पाउन सकेन । न त कुनै किसानले आफ्नो सन्तानलाई भोलीका दिनमा आफू जस्तै किसान बनेको देख्न चाहेको पायो । कृषि प्रधान देश भनेर चिनिने हाम्रो मुलुक कृषि क्षेत्र कति उपेक्षित छ भन्ने सानो उदाहरण हुन सक्छ यो सानो अध्ययन ।
कुनै दिन खाद्यान्न निर्यात गरी अन्य देशलाई सहयोग गरेको कुरा अहिले इतिहास मात्र बन्न पुगेको छ । गाउँघरका धेरै उर्वर खेत बारी बाँझै हुने क्रम बढ्दो छ । भूमिपुत्रको नाममा खेती किसानीमा रमाउने थारु जाति विभिन्न कारणले कृषिबाट विमुख छन् । सिचाइको अभाव, कमजोर प्रविधि, समयमा मल र बीऊ नपाइनु र पाइएमा पनि गुणस्तरीय नहुनु जस्ता समस्या झेल्दै आएको यो क्षेत्र पलायनको शिकार बन्दै आइरहेछ ।
कडा शारीरिक परिश्रम, सामाजिक उपेक्षा, कृषि मजदूरको अभाव र लगानी अनुसारको प्रतिफल नहुनाले पनि यस्तो भएको देखिन्छ । बैदेशिक रोजगारबाट फर्केर आएका युवा छिट्फुट रुपमा केही गरौ भनी कृषिमा लागे पनि त्यसको पूर्ण परिणाम भने आउनै बाँकी छ । सधैभरी घाम पानी नभनी कृषि क्षेत्रलाई आफ्नो कर्म संझिने किसानको संख्या घट्दै छ । यस्तो अवस्थामा पनि निरन्तर कृषि पेशालाई अँगालिरहेका एक किसान हुन्् कोहलपुर १३, भरैयाका शिव प्रसाद थारु ।
आगनको डिलमा चर्दै गरेका कुखुरा । अलि पर सानो लशुन बारी । तरकारी कहिल्यै किन्न नपर्ने अभ्यास । एक वर्षसम्म खान पुग्ने अन्न भंडार । अर्कोतिर घाँसमा रमाइरहेका बाख्रा । अनि घाम तापेर बसेका भैसी । एउटा ट्रयाक्टर । कुट्ने र पिस्ने मील पनि आफनै । भाडामा लिएको ९ बीघा जमिनमा रमाइरहेको थारु परिवार ।
उमेरले ५० वर्ष पार गरेका थारुको परिवारमा ४ छोरी सहित ६ जनाको परिवार छ । तरकारी खेती र कुखुरा पालेर छोरीहरु आफ्नो कलेजको पढाई खर्च आँफै जुटाउँछन् । शिव ९ बीघा जमिनमा आफ्नै ट्रयाक्टरबाट खेती गर्छन् । एकले अर्कोलाई सकेसम्म सहयोग गर्दन् । साँझको खाना खाने समयमा दिनभरीको कामको लेखाजोखा हुन्छ । “भारतले नाकाबन्दी गर्दा सबै नेपालीलाई खाने लाउने समस्याले दुःख दियोे तर हामीलाई भने कुनै असर परेन । किनकि वर्षभरीलाई पुग्ने खाद्यान्न भण्डारण गरेका थियौ हामीले । ” मुस्कुराउँदै
सुनाउछन् शिव ।
शिवको परिवारमा देखिएको यो खुशी भने एक्कासी आएको होइन । विगतमा गरेको कडा परिश्रमको परिणामले यो अवस्था ल्याएको हो । पहिले उनको परिवार कोहलपुरको चटारमा बस्थ्यो । खान लाउन सधै धौधौ हुन्थ्यो । गरिवीले एउटै सानो घरको भप्रो पनि खर, खपडा र टायलले छाएको । भित्रबाट आकाश देखिन्थ्यो । पानी पर्दा रातभरी छाता ओढेर बस्नुको विकल्प थिएन । कामको खोजीमा सुर्खेतदेखि दाङसम्म पुगे शिव । तैपनि समस्या समाधान हुन सकेन । “हात मूख जोर्न सजिलो हुन्छ कि भनेर कामको खोजीमा जान्थेँ तर घर फर्किदा कमाई र खर्च बरावर ।” विगत सुनाउँछन् उनी ।
समस्याको समाधान कतै देखिएन । अब के गर्ने भन्ने कुराले पिरोल्न लाग्यो । केही गर्न सकिन्छ कि भन्ने आशामा २०५७ सालमा चटारबाट भरैमा बसाई सारियो । तर पनि उही पुरानै समस्याले सताउन छाडेनन् । गाउँमा युवाहरु विदेश जाने लहर नै चलेको थियो । विदेशबाट फर्किएको परिवार अलि सुखी जस्ता देखिन्थे । आधुनिक सामानको प्रयोग गर्थे । पहिरन पनि राम्रो थियो । यो कुराले शिवको नि मन तान्यो । केही आर्थिक सुधार गर्नका लागि बिदेश जाने बाध्य भएको अनुभव गरे । उनी गाउँघरबाट ऋण खोजे । उनी ४ वर्ष विदेशमा बसे ।
आखीर सोँचे जस्तो कहाँ पो हुन्छ र बिदेशमा । दिनमा १२ देखि १८ घण्टा काम गर्दा शरीर पुरै लखतरान हुने । अर्काको मुलुक । चर्को गर्मी । न दुःख पर्दा सहयोग गर्ने कोही । नेपालको हावा पानी संझना आयो । फर्कौ भने साहुको ऋण । बसाँै भने गर्मीमा काम नै गर्न नसकिने । यतिको काम नेपालमा गरेको भए त कमाउन यहाँ आउनै पर्ने थिएन । मनभरी कुरा खेले । घरको संझना आयो । जे जस्तो काम गर्न परे पनि आफ्नै देशमा गर्छु । यहाँ त बस्दै बस्दिन भन्ने सोँच पलायो । जसो तसो ऋण तिर्ने पैसा जुटाएर कतारबाट फर्किए । “यहाँ त म २४ घण्टा काम गर्न परे नि गर्न सक्छु । तर त्यहाँ त गर्मीले काम नै गर्न नसकिने । ” कतारमा दुःख पाएको अनुभव संझिन्छन् शिव ।
कतारको गर्मीमा काम गरेका शिवलाई नेपालको हावा पानीमा काम गर्न निकै सजिलो लाग्यो । त्यसैले शुरुमा ६ बीघा जमिन भाडामा लिई खेतिको काम शुरु गरे । आफ्नै परिवारका सदस्यसंग मिलेर काम गर्नुको मजा नै बेग्लै । घरमा कोही दुख विमारी पर्दा पैसा भन्दा पनि साथले धेरै काम गर्देारहेछ । खर्च कटाएर वर्षमा १० लाख भन्दा बढि आम्दानी आएपछि त हौसला पनि थपियो । उनले अरु थप ३ बीघा जमिन समेत भाडामा लिई खेति शुरु गरे । “भैसी र बाखा्रको दाना मिलबाट आउँछ । पढाइको समय बाहेक छोरीहरु कृषिको काम गरी आफ्नो खर्च जुटाउँछन् । यसले उनीहरुलाई गरी खाने सँस्कार पनि सिकाएको छ । पहिले ऋण माग्न जाँदा नपत्याउनेहरु अहिले म संंंग ऋण माग्न आउँदा आनन्द र खुशी लाग्छ । अनि सकेजति सहयोग गर्छु ” प्रफुल्लित मुद्रामा सुनाउँछन् उनी ।