बाँकेमा क्षेत्रीय जुनियर युवा रेडक्रस शिविर शुरु



नेपालगन्ज,२६ माघ/ नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको आयोजनामा तथा जुनियर रेडक्रस सर्कल बागेश्वरी एकेडेमी कोहलपुरको आतिथ्यमा क्षेत्रीय जुनियर युवा रेडक्रस शिविर कोहलपुरमा शुरु भएको भएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै नेपाल रेडक्रस सोसाइटीका का.बा. अध्यक्ष अजीतकुमार शर्माले मानवमा परोकारको भावना विकास गर्न रेडक्रस एक महत्वपूर्ण माध्यम हो भन्दै जुनियर रेडक्रस सर्कलका स्वयंसेवकहरु विभिन्न मानवीय सेवा कार्यमा परिचालन हुने गरेको कुरा उल्लेख गरे ।

उनले नेपाल रेडक्रसको विश्वमा छुट्टै पहिचान रहेको जानकारी गराउदै यसको उचाइँ कायम राख्न सबै स्वयंसेवकहरुको दायित्व रहेको धारणा राखे । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले युवाहरुसँग भएको ज्ञान सीपलाई मानवीय कार्यमा प्रयोग गर्न रेडक्रसमा आवद्ध हुन आग्रह गरे ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका उपसभापति एवं जुनियर युवा रेडक्रस समितिका संयोजक सुरेन्द्रनाथ सापकोटाले विद्यालयमा रहेको सर्कलहरुले गरेको कामको प्रतिवेदन सम्बन्धित शाखामा अनिवार्य रुपमा पठाउनु पर्ने कुरामा ध्यानाकर्षण गराए ।

बागेश्वरी एकेडेमीका संस्थापक सदस्य यामबहादुर रावतले स्वागत मन्तव्य राख्दै बालबालिकाहरुमा मानवीय भावनाको विकास गर्न विभिन्न प्रकारका सामाजिक कार्य सर्कलले गर्दै आएको जानकारी गराए ।

उक्त शिविरमा रेडक्रस अभियान, जुनियर युवा रेडक्रस नीति, रेडक्रसको दृष्यत्माक एकरुपता सम्न्धिी जानकारी, प्राथमिक उपचार, स्वास्थ्य सरसफाई, आपत्कालीन कार्यसञ्चालन केन्द्रको जानकारी,रक्तदान उत्प्रेरणा लगायत सीपमूलक गतिविधिहरुको बारेमा छलफल भइरहेको छ भने सहभागी जिल्लाहरुले आ–आफ्नो जिल्लाको जुनियर गतिविधिहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

२ दिनसम्म सञ्चालन हुने शिविरको दोश्रो दिन माघ २७ गते सीप मूलक गतिविधि हुनुका साथै बाँके घोषणा पत्र जारी हुने जानकारी प्राप्त भएको छ ।  शिविरमा बाँके, बर्दिया, दाङ्ग, सुर्खेत, सल्यान, प्युठान जिल्लाका जुनियर रेडक्रस सर्कलका शिक्षक नायक र सर्कल सदस्य÷विद्यार्थीहरुको सहभागिता रहेको छ भने कार्यक्रमको उद्देश्य माथि प्रकाश नेरेसो बाँके शाखाका कार्यालय प्रमुख निरञ्जना मल्लले पारेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २६ गते शुक्रबार