सुदीप अधिकारी : बर्दिया,२६ माघ/ बाँसगढी नगरपालिका–४ मगरटोलमा रहेको जनचेतना समुदायिक वन व्यापक रुपमा फडानी गरिएको हो । सामुदायिक वनमा हरिया सिसौँ र खयरका रुख अन्धाधुन्ध काटिएको छ ।
बस्तीसँगै जोडिएको सामुदायिक वनमा बस्ती कै नजिक सिसौँ र खयरका सयौँ रुख काटिएका छन् । सिसौँका कुनैकुनै रुख काट्दा काट्दै छाडिएको छ । रुख कटान सम्बन्धमा आफुहरुलाई केही थाहा नभएको उपभोक्ताहरु बताउँछन् ।
काटिएका रुखको फेद हेर्दा २÷४ दिन अघिमात्र रुख काटिएको अनुमान गर्न सकिन्छ । आलो काटिएको नदेखियोस् भनेर कतिपय रुखको काटेको भागलाई माटो र झारपातले छोपिएको छ ।
काटिएका प्रायः सिसौँ र खयरका रुखहरु कलिला र हुर्कदै गरेका छन् । खयरको तुलनामा सिसौँका रुखहरु बढी काटिएका छन् । काटिएका रुख नजिकै घर भएका एक उपभोक्ता रुख कटानीबारे आफुलाई केही थाहा नभएको बताउँछन् ।
जनचेतना सामुदायिक वनको क्षेत्रफल करिव ३५ हेक्टर रहेको बताइएको छ । यो वनमा २ सय ५० उपभोक्ता रहेका छन् । उपभोक्ताले वन रेखदेखका लागि वन हेरालु (चौकिदार) पनि राखेका छन् । यतिधेरै रुख काटिदा, चोरी हुँदा पनि उपभोक्ता मौन बसेका छन् ।
चौकिदार कमाने दमाईले वन फडानी बारे आफुलाई केही थाह नभएको बताए । उनले आफु विरामी भएको बेला वन फडानी भएको हुन सक्ने बताए ।
आफु २० गतेदेखि विरामीले थला परेकाले वन फडानीबारे आफुलाई केही थाहा नभएको उनको भनाई छ ।
यसैबिचमा वन फडानी भएको हुन सक्ने वन हेरालु दमाईले आशंका व्यक्त गरे । ‘ म विरामीले थला परेको थिए हजुर । कसले बदमासी ग¥यो केही थाहा छैन,’ चौकिदार कमाने दमाईले भने ।
जनचेतना सामुदायिक वनका अध्यक्ष टंकप्रसाद अधिकारीलाई वन फडानी बारे सोध्दा सुरुमा केही बताउन चाहेनन् । मिसनकर्मीको प्रश्नमा उनले भने, ‘यसबारे म अहिले केही बोल्दैन ।’ अन्य संञ्चारकर्मीहरुले पनि जिज्ञासा राख्दा उनले पटकपटक क्यामेरा बन्द गर्न आग्रह गरेका थिए ।
सञ्चारकर्मीको दवाव पछि अध्यक्ष अधिकारीले घुमाउरो पारामा कसैले रातीको समयमा रुख काटेर चोरेर लगेको बताए । तर कसले चो¥यो भन्ने बारे उनले केही खुलाएनन् । वन फडानीबारे ईलाका वन कार्यालय बाँसगढीमा जानकारी गराएको उनले बताए ।
वन क्षेत्रमा पर्ने बाँसगढी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष रजमान चौधरीले वन फडानीबारे आफुलाई केही थाहा नभएको प्रतिक्रिया दिए । प्रतिक्रिया लिइरहेको बेला वडा अध्यक्ष रजमान फडानी भएको वनको छेवैमा भइरहेको एक कार्यक्रममा उपस्थित थिए । रुख काटिनुमा उपभोक्तकै संलग्नता रहेको धेरैको आशंका छ ।
फडानी भएको वनको छेवैमा खेल मैदान रहेको छ । वनको छेवैमा रहेको खेल मैदानमा मंगलबार राष्ट्रिय स्तरको कबड्डी एकेडेमीको शिलान्यास गरिएको छ । बन्न लागेको कबड्डी एकेडेमीलाई विवादमा ल्याउन केही व्यक्तिले यस्तो काम गरेको केही स्थानीयहरुकोे भनाई छ ।
स्थानीय डिबी थापा भन्छन्, ‘वनको छेवैमा रहेको खेल मैदानमा वन्न लागेको राष्ट्रिय स्तरको कबड्डी एकेडेमीलाई विवादमा ल्याउन केही अराजक व्यक्तिहरुले यस्तो काम गरेको हुन सक्छन् ।’
जनचेतना सामुदायिक वनलाई रुख बुट्यान कटानका सम्बन्धमा जिल्ला वन कार्यालयबाट कुनै पनि आदेश नदिइएको वन कार्यालयका सहायक वन अधिकृत दोर्णप्रसाद शर्माले बताए ।
मनोमानी रुख कटान गरिएको थाहा पाएपछि इलाका वन कार्यालय बाँसगढीको टोली वन स्थलमा गएर कटान गरिएको रुखहरुको तथ्याङ्क संकलन गरिएको सहायक वन अधिकृत शर्माले बताए ।
उनले भने, तथ्याङ्क लिने र रुख काट्नुको कारण के हो भनेर वन समितिलाई स्पष्टिकरण सोध्ने काम भएको छ । अहिले सम्म उताबाट कुनै जवाफ आएको छैन ।’ दोषी देखिए नियमानुसार कारवाही अवश्य हुने सहायक वन अधिकृत शर्माले बताए ।









प्रतिक्रिया दिनुहोस्