दाङ ।
घोराही–तुलसीपुर चार लेन सडकमा तिहारलगतै ग्राबेल गर्ने तयारी गरिएको छ । निर्माण कम्पनी श्री दिवा–बन्दना भगवती जेभिका इञ्जिनियर सुनिल ढुङ्गानाका अनुसार अहिले वाल र नाली निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हाल सोही सडकमा १६ प्रतिशत भौतिक प्रगति भएको छ, भने १५ प्रतिशत आर्थिक प्रगति भएको प्राविधिक ढुङ्गानाले बताए । रु ४० करोड बराबरको काम पूरा भएको उनको भनाइ छ ।
‘अहिले स्टकचरको काम भइरहेको छ,’ उनले भने, ‘त्यो तिहारसम्म सकिन्छ, अनि ग्राबेलको काम हुन्छ ।’ करिब १८ किलोमिटर पर्खालको काम पूरा भइसकेको छ भने नालीको काम अन्तिम चरणमा पुगिसकेको छ । त्योसँगै ग्राबेलको काम सुरु हुने प्राविधिक ढुङ्गानाको भनाइ छ । लामो समयदेखि अलपत्र रहेको उक्त सडक पुनः ठेक्का लगाएर हाल काम सुरु भएको हो । विसं २०८२ असारमा सम्झौता भइ निर्माण कम्पनीले काम गरिरहेको छ ।
त्योभन्दा अघि पाँच वर्षसम्म त्यो सडक अलपत्र अवस्थामा थियो । जसका कारण नागरिकमा गुनासो थियो । अहिले पनि काम रोकिना साथ नागरिकमा शङ्का उत्पन्न हुने गर्छ । अहिले काम नरोकिएको सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्र विष्टले बताए । उनले दशैमा सबै कामदार घर अबको एक÷दुई दिनमा नै काम सुरु हुनेछ । सबै मजदुर कामका लागि आउन थालिसकेका छन् । घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवासम्म २१ किलोमिटर ५८ मिटर सडक चारलेन हुनेछ ।
जुन सडकको बीचबीचमा मेडिएन र दुवैतर्फ दुई÷दुई लेनको हुने उनले बताए । जसमा बजार क्षेत्रमा फुटपाथसहितको चार लेन हुनेछ भने अन्य स्थानमा चार लेन मात्रै हुनेछ । सडक सुधार आयोजनाअन्तर्गत मदन भण्डारी सडकमार्ग परियोजनाले ठेक्का सम्झौता गरेर कामअघि बढाएको हो । जुन सडक निर्माण अनुगमनको जिम्मा सडक डिभिजन कार्यालय दाङले पाएको छ । सोही सडकको चौडाइ ३० मिटर हुनेछ । सडक अस्फाल्ड प्रविधिबाट कालोपत्रे हुनेछ । जसमा ढुङ्गा, गिट्टी र बिटुमिन तार मिसाएर कालोपत्रे गरिनेछ ।
सम्झौता भएको मितिले ३६ महिनामा काम सक्ने गरी सम्झौता भएको छ । विसं २०८२ असार २४ मा भ्याटबाहेक रु दुई अर्ब २४ करोड ५६ लाखमा सडक चार लेनको काम भएको हो । सडक २०८५ असारभित्रै सक्नुपर्नेछ । सोहीअनुसार काम पूरा हुने निर्माण कम्पनीका प्राविधिक ढुङ्गानाले बताए । सडक चार लेन बनाउनका लागि यसअघिको निर्माण कम्पनीले काम नगरेपछि ठेक्का रद्द गरिएको थियो । ठेक्का रद्द भएपछि २०८१ साउनदेखि नै प्रक्रिया सुरु गरिएको हो ।
तत्कालीन अवस्थामा अर्थ मन्त्रालयको स्रोत सहमति तथा राष्ट्रिय योजना आयोगको निर्णयानुसार रु तीन करोड ९९ लाख ४९ हजारको बहुवर्षीय ठेक्का गर्ने सहमति भएको थियो । सोहीअनुसार मदन भण्डारी राजमार्ग निर्देशनालयबाट लागत अनुमानका काम भएर फागुन १ गते बोलपत्र आह्वान भएको थियो । उक्त सडकबीचमा पर्ने सेवार खोला, हापुर खोला, ग्वारखोला र कालाखोलामा चार लेनको पुल निर्माणका लागि प्रक्रियाअघि बढिसकेको छ ।









प्रतिक्रिया दिनुहोस्