दाङ ।
घोराही उपमहानगरपालिका–१ सुकाखोलाका बमबहादुर थापाले दैनिक ९५ लिटर दूध उत्पादन गर्छन् । उनलाई पछिल्लो समय दूध कहाँ बिक्री गर्ने भन्ने चिन्ता छैन । यहीँ कात्तिक १ गतेबाट घोराही उपमहानगरपालिका–२ रामपुरमा रहेको साना किसान कृषि सहकारी संस्थाले दूध किनेर बिक्रीको प्रबन्ध मिलाएको छ । जसले गर्दा संस्थाका सदस्य तथा वडा नं १, २ र ४ का पशुपालक किसानलाई सहज भएको उनी बताउँछन् ।
थापालाई मात्र होइन उनीजस्तै धेरै किसानलाई दूध बिक्रीका लागि घोराही आउनुपर्ने बाध्यता हटेको छ । “आफू नै आवद्ध भएको सहकारी संस्थामा दिन्छौँ”, थापाले भने, “सहकारीमार्फत दूध बेच्न निकै सजिलो भएको छ ।” मासिक करिब रु दुई लाखको दूध घरनजिकैबाट बिक्री गर्न पाउँदा उनी खुसी छन् । मासिक रूपमा एक लाख ८० हजारदेखि दुई लाखसम्मको कारोबार गर्दै आएको र त्यसबाट आधा रकम बचत गर्ने गरेको उनले बताए ।
विसं २०७७ बाट सुकाली गाई फार्म सञ्चालन गरेर गाईपालन गर्दै आएका थापाको फार्ममा अहिले सानाठूला गरेर २१ वटा गाई छन् । उमेरले ४२ वर्ष पुगेका उनले दूध बिक्रीका लागि घोराही आउनुपर्ने बाध्यता अन्त्य हुँदा पैसा र समयको बचत भएकाले यो कार्यलाई सहकारीले आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए ।
पछिल्लो समय गाउँमै सहकारीले दूध सङ्कलन गर्न थालेपछि बजारका डेरीहरूले दूध नपाइने चिन्ताले पशु सुत्केरी भत्ताबापत रु दुई हजार ५०० दिने कार्य यहीँ कात्तिक १ गतेबाट सुरु गरेको हुँदा यसले अन्य किसानलाई फाइदा पुगेको उनले बताए ।हाल सहकारीले किसानबाट दैनिक ७५० लिटरभन्दा बढी दूध सङ्कलन गर्दै आएको संस्थाका अध्यक्ष गुरुप्रसाद खनालले बताए । संस्थाका सदस्यलाई अनिवार्य र अन्य किसानले चाहेमा दूध लिने गरिएको उनको भनाइ छ । अध्यक्ष खनाल स्वयंले पनि पशुपालन गर्दै आएका छन् । उनले दैनिक १०० लिटरभन्दा बढी दूध उत्पादन गर्दै आएको बताए । उनको फार्ममा अहिले सानाठूला गरेर २० वटा गाई छन् ।
“किसानबाट भैँसीको ८० रुपैयाँ र गाईको दूध ७० रुपैयाँ लिटर खरिद गर्दै आएका छौँ”, अध्यक्ष खनालले भने, “आफूहरूले होलसेलमा भैँसीको ८५ रुपैयाँ र गाईको दूध भने ७५ रुपैयाँ लिटर बिक्री गर्ने गरेका छौँ ।” यसअघि किसानले भैँसीको ७५ र गाईको ६३ रुपैयाँ लिटरमा बिक्री गर्दै आएका थिए । किसानबाट खरिद गरिएको दूध सहकारीमा आबद्ध सदस्यले सञ्चालन गरेको डेरीमै दिने र बाँकी अन्य डेरीलाई पनि दिने गरिएको उनको भनाइ छ ।
चैतदेखि तिहारसम्म डेरीहरूले जति पनि दूध सङ्कलन गरिदिने र त्यसपछि दूध बिक्री गर्न समस्या हुने भएकाले सहकारीमार्फत यो कार्यक्रमको थालनी गरिएको उनले बताए । भोलिका दिनमा सहकारीकै डेरी सञ्चालन गरी बिक्री गर्ने योजनासमेत रहेको उनको भनाइ छ । अझै पनि किसानले पर्याप्त मूल्य नपाएको हुँदा भविष्यमा किसानलाई फाइदा हुने हिसाबले काम गर्ने उनले बताए । दूध एनालाइजर मेसिन लिएर त्यसअनुसार किसानलाई मूल्य दिने योजना रहेको उनले सुनाए ।
हाल यस सहकारी संस्थामा एक हजार ३०० सदस्य रहेका छन् । जसमा ४०० सदस्यले सहकारीबाट दूध बिक्री गर्ने गरेका छन् । घरैपिच्छेका किसान दूध बेच्न घोराही बजार आउँदा समस्या भएपछि सहकारीले दूध सङ्कलन गरेर बिक्री गर्दा सहज भएको किसान बताउँछन् । रासस









प्रतिक्रिया दिनुहोस्