
“वर्षातपछि जङ्गलको रूप नै फेरिएको छ । चारैतिर हरियाली र ताजा हावा छ,” गाभर भ्यालीका अध्यक्ष चौधरीले भने, “जङ्गल सफारी पुनः सुरु भएसँगै पर्यटकको आगमन बढ्न थालेको छ । हामी उहाँहरूलाई स्थानीय परिकार र संस्कृतिले स्वागत गर्न आतुर छौँ ।” पश्चिम नेपालमा सुलभ मूल्यमा साहसिक र प्राकृतिक यात्रा गर्न चाहनेका लागि बाँके राष्ट्रिय निकुञ्ज र गाभर भ्याली अहिले उत्कृष्ट गन्तव्य बनेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी वलीले बताए ।
“सहरी कोलाहलबाट मुक्त भई प्रकृति र स्थानीय संस्कृतिको नजिक पुग्न चाहने पर्यटकका लागि यो मौसम उपयुक्त अवसर हो,” उनले भने, “वर्षायामको हरियाली र ओसिलो जङ्गलको आफ्नै आकर्षण हुन्छ भने हिउँदमा जङ्गलको दृश्य, वन्यजन्तको गतिविधि नियाल्ने अवसर र खुला मौसमले सफारीलाई फरक अनुभव दिन सक्छ ।” जीपमा बसेर जङ्गलका घुमाउरा बाटा पार गर्दै वन्यजन्तुको खोजी गर्नु, चराचुरुङ्गीको आवाज सुन्नु, प्राकृतिक वनस्पति नियाल्नु र जङ्गलको विशालतालाई महसुस गर्नु आफैमा एउटा विशेष अनुभव हुने अध्यक्ष वलीले बताए ।
बाँके राष्ट्रिय निकुञ्जप्रति पर्यटकको आकर्षण बढ्न थालेको छ । आर्थिक वर्ष २०८२/०८३ मा निकुञ्जमा एक हजार ४६६ पर्यटक पुगेका थिए । अघिल्लो आर्थिक वर्ष यो सङ्ख्या ६२० र २०८०/०८१ मा ४४४ थियो । बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धनको लागि निजी क्षेत्रसँग समन्वय गरेर विशेष योजनाका साथ अगाडि बढेको निकुञ्जका प्रमुख वार्डेन वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।








