जीतबहादुर शाह
दसैँको अवसरमा चलचित्र हलमै गएर ‘आबाट आमा दोस्रो’ हेरियो । चलचित्रको कथावस्तुभित्र प्रवेश गर्दा अवस्था यस्तो छ कि एउटा परिवारमा बाआमाका दुईजना छोराहरू हुन्छन् । जेठो छोरा पठनपाठनमा ध्यान दिने किसिमको हुन्छ भने कान्छो छोरा पढाइतिर भन्दा व्यवहारतिर बढी ध्यान दिने किसिमको हुन्छ । आमाले कान्छो छोरालाई जेठोलेजस्तै पढाइमा अलि ध्यान दिनु दिनुपर्छ भनेर बारम्बार सल्लाह दिने गर्छिन् । कान्छो छोराले भने आमालाई भन्ने गर्छन् – ‘आमा, दाई पढेर जागिर खान घर छोडी जानुपर्ने हुन्छ । मैले पनि त्यसरी नै पढेँ भने मैले पनि घर छोडेर हिँड्नु पर्ने हुन्छ । त्यसैले मैले बाबाआमाको सेवा गर्ने हो । बाबाआमाको सेवा गर्न धेरै पढ्नु पर्दैन ।’ हुन्छ पनि त्यस्तै । कान्छो छोराले भनेजस्तै । जेठो छोरा पढेर विदेश जान्छ । उसको जागिर उतै हुन्छ । उसको पत्नी पनि विदेशमै हुन्छ । जब कि जेठो छोरा विद्यालय उमेरमै पढ्ने क्रममा बिरामी हुँदा मृर्गौलामा समस्या देखिएको कारण आमाले नै आफ्नो मृगौला दिएर जेठा छोराको उपचार गरिन्छ । अन्ततः मृगौलाकै समस्याको कारणले आमाको मृत्यु हुँदासमेत जेठो छोरा साथमा हुँदैन र मृत्युपश्चात् भेट्न पनि आउँदैन । यत्तिसम्म कि जेठा छोराको निम्ति बाआमाभन्दा काम महŒवपूर्ण लाग्छ । बाबाआमाको जीवनमा मन, वचन र कर्मले योगदान गर्ने अन्ततः कान्छो छोरा नै हुन्छ र चलचित्रको नायक पनि त्यही कान्छो छोरा हुन्छ । अहिलेसम्म विज्ञानले अनुसन्धान गरेको प्रमाणिक ज्ञानका आधारमा भन्नुपर्दा मानिसमा भएका तीनवटा मस्तिष्क (बायाँ, दायाँ र पछाडिको)मध्ये अहिलेका विद्यालय र विश्वविद्यालयहरूले बायाँ मस्तिष्कको विकास हुने गरी मात्र शिक्षा दिइरहेका छन् जसले सूचना र दक्षताको क्षेत्रमा काम गर्दछ । मानवताको क्षेत्रमा काम गर्ने भनेको दायाँ मस्तिष्क हो जसको सदुपयोग विद्यालय र विश्वविद्यालयहरूको योगदानले भन्दा पनि व्यक्ति आफ्नै रुचि र पहलको कारणले काम गरिरहेको अवस्था छ, जसमा साहित्यकार, कलाकार, सङ्गीतकार, दार्शनिक, वैज्ञानिक, अन्वेषक, सामाजिक र आध्यात्मिक व्यक्तित्व आदिले गरेका मानवीय र सामाजिक कामलाई यसअन्तर्गत राख्न सकिन्छ । त्यसैगरी कतिपय पछाडिको मस्तिष्क (मेडुला ओब्लागाटा)लाई प्रयोग गर्न सक्ने मानिसहरूले आफूलाई मानवबाट महामानव बनाउन सफल भएका छन् । गौतम बुद्ध, रजनीश, यशू ख्रिष्ट, अल्लाह, कविर, नानक आदिजस्ता सन्तपुरुषहरू यसअन्तर्गत पर्दछन् । यीमध्ये कतिपयलाई त संसारले दैवीशक्ति भएका भगवान भनेर पनि चिन्ने गर्दछ ।
बायाँ मस्तिष्कलाई सक्रिय बनाउनका लागि घोक्ने, सम्झिने, कण्ठ गर्ने, पढ्ने, तर्क गर्ने, संश्लेषण गर्ने, विश्लेषण गर्ने, मूल्यांकन गर्नेजस्ता पक्षहरू पर्दछन् । यसमा प्रयोग गर्ने कार्यभन्दा पनि मानसिक क्रियाकलापहरू बढी पर्दछन् । विद्यालयले यस्ता क्रियाकलापहरूलाई प्रश्रय दिएर अध्यापन कार्य सञ्चालन गरेमा विद्यार्थीहरू पनि क्रमशः यस्तै क्रियाकलापहरूतिर प्रवृत्त हुन्छन् । यस कार्यले मानिसको बायाँ मस्तिष्क सक्रिय हुन थाल्छ । बायाँ मस्तिष्क सक्रिय हुने विद्यार्थीहरूको दायाँ मस्तिष्क त्यत्ति सक्रिय हुँदैन । जे कामतिर लाग्यो व्यक्तिको त्यतैतिर रुचि र दक्षता पनि बढ्दै जाने भएकोले धेरै अध्ययन र लेखपढ गर्नेहरूको दायाँ मस्तिष्क त्यत्ति सक्रिय हुँदैन । अभ्यास जता ग¥यो अभ्यस्त त्यसैमा हुने सिकाइको स्वभाविक प्रक्रियाले काम गर्छ । कुनै विद्यार्थीले मन, वचन र कर्मले अहोरात्र खटेर कुनै परीक्षाको तयारी गरिरहेको छ भने उसलाई कसैको माया, करुणा, दया, माया, सहयोग, परोपकार जस्ता कुराले छुन सक्दैनन् । हाम्रा शिक्षा प्रणालीबाट उत्पादन हुने जनशक्ति पनि त्यस्तै प्रकृतिको हुने गर्दछ । बायाँँ मस्तिष्क सक्रिय बनाएर धेरै पढेको मानिसले जागिर त खाला, पैसा पनि कमाउला तर करुणाको हिसाबले ऊ कमजोर हुन्छ । किनभने उसको दायाँ मस्तिष्क सक्रिय हुनका लागि विद्यालय र शिक्षण सिकाइले अपेक्षित योगदान गर्न सकेन । व्यक्तिको दायाँ मस्तिष्कलाई सक्रिय बनाउनका लागि विद्यार्थीलाई गरेर सिक्ने, चिन्तनमनन् गर्ने, घटना र अवस्थाहरूको प्रत्यक्ष अवलोकन गर्ने, समस्याहरूको समाधान गर्ने लगायत योग, साधना, सामाजिक र मानवीय कार्यसँगको सहभागिताले योगदान गर्ने गर्दछ । हामी वयष्क र प्रौढ अवस्थामा पुगिसकेका व्यक्तिहरूलाई पनि विद्यालय जीवनका त्यस्ता घटनाहरूको मात्रै धेरै सम्झना हुने गर्दछ, जुन घटनाहरूमा ऊ आफै संलग्न भएको थियो, जुन घटनाले उसलाई प्रत्यक्ष असर पारेको थियो र जुन घटनाको एउटा पात्र ऊ आफैँ थियो । यसरी सिकेको कुरा अविस्मरणीय सिकाइको रूपमा मस्तिष्कको अवचेतन मनमा गएर बसेको हुन्छ र परिवेश मिल्ने विमतिकै चेतन मनमा आएर प्रस्तुतयोग्य हुने गर्दछ । कवि, कलाकार र स्रष्टाहरूले केही हदसम्म यो मस्तिष्कलाई सक्रिय बनाउँछन र त्योभन्दा पनि बढी सक्रिय सामाजिक र मानवीय कार्यमा काम गर्नेहरूले यो मन र मस्तिष्कलाई बढी सक्रिय बनाउँछन् ।
दायाँ मस्तिष्क सक्रिय भएकाहरूको बायाँ मस्तिष्क त्यत्ति सक्रिय हुँदैन । पढाइमा बुद्धु भनेर विद्यालयबाट अपमानित भएका अल्बर्ट आइन्स्टाइन, थोमस अल्बा एडिसन, रविन्द्रनाथ टैगोर, महात्मा गान्धी आदि यस्तै वर्गमा पर्छन् । जसको बायाँ मस्तिष्क त सक्रिय भएन तर उनीहरूको दायाँ र पछाडिको मस्तिष्कले विश्व नै हल्लाउने गरी काम गरेको देखियो । अहिले हाम्रा विद्यालय र विश्वविद्यालयहरूबाट दिक्षितहरू बायाँ मस्तिष्कको हिसाबले त सम्पन्न छन् तर दायाँ मस्तिष्कको हिसाबले भने त्यत्ति सम्पन्न छैनन् जति हुनु पथ्र्यो । प्राकृतिक हिसाबले भएको दायाँ मस्तिष्कमा सुधार त के यथावत् रहन पनि सकेको देखिँदैन । त्यसैले हाम्रो शिक्षाले मस्तिष्कको सन्तुलित रूपमा विकास गरेर पूर्ण मानव र पूर्ण व्यक्तित्वको विकास गर्न सकेको देखिँदैन । पण्डित्याइँ गर्नेहरू त उत्पादन ग¥यो तर पथपदर्शक र आदर्श व्यक्तित्वहरू निर्माण गर्न सकेन । आबाट आमा चलचित्रमा एउटा सामान्य पढेलेखेको छोराले जन्मदिने बाबुआमाप्रति जति योगदान गर्न सक्यो, पढेलेखेको व्यक्तिबाट त्यत्ति पनि योगदान गर्न सकेन । किनकि गणित र विज्ञानका सिद्धान्त र फर्मुलाहरू कण्ठस्थ गर्न थालेपछि करुणामा खडेरी पर्नु अन्यथा पनि होइन । भन्नुको मतलब विज्ञान र गणित पढेकाहरू सबै त्यस्तै हुन्छन् भन्ने आसय पटक्कै होइन । अध्ययन गरेको सिद्धान्त र फर्मुलाहरूलाई व्यवहारमा अन्तर्घुलन गर्ने गरी शिक्षा र सिकाइलाई अर्थपूर्ण प्रयोग गर्न सकियो भने त्योजस्तो मानवीय र परापकार पुण्यायमा आधारित अरु शिक्षा हुन सक्दैन । अहिले हाम्रो मात्र नभइ अन्य मुलुकलगायत समग्र विश्वकै शिक्षा बायाँ मस्तिष्कमा आधारित भएर अघि बढिरहेको छ । दायाँ मस्तिष्क त जीवनको उत्तरार्धतिर मात्रै जीवनका भोगाइहरूको परिणामस्वरुप अन्तर्दृष्टिका कारणबाट स्वउत्प्रेरित हुन थाल्छ । जसरी बिलगेट्सको भयो । जसरी रतनटाटाको भयो । जसरी अल्बर्ट आइन्सटाइनको भयो र जसरी महाकवि देवकोटाको भयो । महात्मा गान्धीले त भनेका पनि छन् – ‘शिक्षाका साथ जीवनको आदर्श उच्च हुँदैन भने पढ्नु व्यर्थ छ ।’ आदर्श उच्च हुनु भनेको ठूलो महल र आरामदायी गाडीमा चढ्नु भनेको होइन । बरु यो भनेको मानवताको प्रवर्धन गर्नु हो । औषतभन्दा मुनि रहेका मानिसको स्तरोन्नतिका लागि गरिने प्रयत्न हो । न्यूनतम मानवोचित सेवा र सुविधाबाट वञ्चितीकरणमा परेका समूहको लागि गरिने सेवासुविधाको विस्तार हो ।
नेल्सन मण्डेलाले भनेझैँ शिक्षामात्र एउटा त्यस्तो हतियार हो जसले संसार बदल्न योगदान गर्दछ । मानिस सरकार र सत्तामा पुगेको एउटा महत्वपूर्ण हतियार भनेको पनि पहिलो कुरा त शिक्षा नै हो । तथापि सरकारमा पुगेकाहरूले यसलाई नबुझेझैँ गरेकोबाट भने कहिलेकाहीँ शिक्षा क्षेत्र अप्ठ्यारोमा पर्छ र परिरहेको छ । शिक्षा हामीले चाहेजस्तो र महात्मा गान्धीले भनेजस्तो किन आदर्शतम् हुन सकेन त ? कुरा स्पष्ट छ, शिक्षामा सर्वसाधारणको पहुँच बढाउने नाममा जागिर र जिम्मेवारीमा पहुँच बढाउने कार्य ग¥यौँ । यसले गर्दा शिक्षाको सेवाप्रदायक क्षेत्रलाई कमजोर बनायौँ । सामान्य क्षमता र हैसियत भएका मानिसहरू पनि शिक्षक र शैक्षिक व्यवस्थापनमा बहाल भए । यसले गर्दा शिक्षामा गुणस्तर अपेक्षित किसिमले बढ्न सकेन । सिसेरोले भनेझैँ शिक्षामा अध्यापन गर्नेहरूको अधिकार सुनिश्चित भयो भने अध्ययन गर्नेहरूको अधिकार अनिश्चित हुने स्थितिको सिर्जना भयो । यही मौकामा शिक्षामा राजनीतिले अनावश्यक रूपमा चलखेल गर्ने स्थितिको सिर्जना भयो । विश्वमा एकछत्र हस्तक्षेप गरिरहेको पूँजीवादले पनि शिक्षालाई व्यापारीकरण गर्ने काममा अग्रणी भूमिका निर्वाह ग¥यो । यसले गर्दा शिक्षित मानिसहरू मानवीय सेवातिर भन्दा पूँजी संकलन र अभिवृद्धितिर प्रवृत्त भए । यसले गर्दा मानवता धरापमा प¥यो । चलचित्र आबाट आमामा धेरै पढेको भन्दा सामान्य लेखपढ गरेको छोरा मानवीय सेवाको मामलामा श्रेष्ठ देखियो । आज व्यवहारमा पनि त्यस्तो अनुभूत भइरहेको छ । विश्वप्रसिद्ध लेखक डि.एच. लरेन्सले भनेका पनि छन् ः ‘यदि धरतीलाई बचाउनु छ भने दुईसय वर्षसम्म सम्पूर्ण शिक्षणसंस्थाहरू बन्द गर्नुपर्छ ।’ लरेन्सको भनाइको व्याख्या गर्ने क्रममा योगी विकासानन्दको भनाइ रहेको छ ः ‘मानवजातिको इतिहासमा सबैभन्दा बढी शिक्षित मान्छे हाम्रो युगमा छन् तर दुःखको कुरा, आत्महत्या, नसालु पदार्थ सेवन र अपराध गर्ने पनि अहिले जति इतिहासमा कहिल्यै थिएनन् । अर्को लाजमर्दो कुरो त यस्ता गलत काम गर्ने अधिकांश मान्छेहरू शिक्षित हुन्छन् । यसबाट प्रष्ट छ कि शिक्षाद्वारा सम्पत्ति तथा सुविधाप्राप्त भई बाह्य समस्याहरू त समाधान भए तर आन्तरिक समस्या भने झन् झन् जटिल हुँदै गइरहेको कुरो त्यत्तिकै स्पष्ट छ । हाम्रो पूर्वीय दर्शनले ‘या विद्या सा विमुक्तेय’ अर्थात् ज्ञान वा विद्या भनेको समस्याहरूबाट मुक्ति हुने साधन हो भनेको त झन् समस्याहरूमा बल्झिदै जाने साधन बन्दै गएको देखिन्छ । सारमा मलाई यस्तो लाग्छ कि यो दुनियाँमा मानिस बाँच्नका लागि मात्र बाँचेको छैन । उसले कसैलाई प्रेम गर्छ वा उसलाई कसैले गर्छ, त्यसकारण ऊ बाँचेको छ । उसको प्रेम कुनै व्यक्तिसँग हुन सक्छ, कुनै कर्मसँग हुन सक्छ, कुनै वस्ती वा समुदायसँग हुन सक्छ, कुनै उद्देश्य विशेषसँग हुन सक्छ आदि आदि । यदि उसको जीवनमा प्रेमको अन्त हुन्छ भने उसलाई यो धर्ती नै अप्रिय लाग्छ र ऊ आफैँ आफूलाई समाप्त गर्ने यात्रामा लाग्छ । मान्छेलाई प्रेमपूर्ण वातावरण प्रदान गर्नका लागि बाल्यावस्थादेखि नै शिक्षाले अहम् भूमिका निर्वाह गर्न सक्नुपर्दछ । यसका लागि हाम्रा शिक्षणसिकाइ क्रियाकलापहरू सिकारुको दायाँ मस्तिष्क र पछाडिको मस्तिष्क पनि सक्रिय हुने गरी डिजाइन गरिनु आवश्यक छ । शिक्षा र शिक्षण सिकाइ क्रियाकलापहरू यसरी अघि बढ्न थाले पनि जहाँ शिक्षित मानिसहरू बस्छन् त्यो बस्ती मानव मूल्ययुक्त हुनेछ, प्रेमील हुनेछ र परोपकार पुण्यायमा आधारित हुनेछ । यत्ति भएपछि ‘आबाट आमा दोस्रो’ चलचित्रमाजस्तै बाआमालाई प्रेम गर्नका लागि शिक्षालाई स्थगन पनि गर्नु पर्ने छैन । बाँकी जो हजुरहरूको मर्जी !









प्रतिक्रिया दिनुहोस्