सात महिनादेखि तलबविहीन नगर शिक्षक



रूकुम पश्चिम ।

मुसिकोट नगरपालिकाअन्तर्गतका विद्यालयमा कार्यरत नगर करार शिक्षकले सात महिनादेखि तलब नपाएपछि आन्दोलन थालेका छन् । नियमित रूपमा विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकहरू लामो समयदेखि पारिश्रमिकविहीन भएपछि नगरपालिकाको ध्यानाकर्षण गराउँदै आन्दोलनमा उत्रिएका हुन् । नगर करार शिक्षक समितिका अनुसार मुसिकोट नगरपालिकाभित्र आधारभूत र माध्यमिक तहमा गरी ८५ जना नगर करार शिक्षक कार्यरत छन् । उनीहरूले गत फागुन १५ गतेदेखि तलब पाएका छैनन् ।

लामो समयसम्म पारिश्रमिक नपाउँदा दैनिक गुजारा चलाउनसमेत समस्या भएको भन्दै शिक्षकहरूले तत्काल तलब निकासाको माग गरेका छन् । नगर करार शिक्षक समितिका अध्यक्ष खिमबहादुर ओलीका अनुसार शिक्षकहरूले तीनवटा माग अघि सारेको बताए । जसमा लामो समयदेखि रोकिएको तलब तत्काल उपलब्ध गराउनुपर्ने, साविकको तलब स्केलमा समयानुकूल वृद्धि गर्नुपर्ने र नगर करार शिक्षकलाई पोशाक भत्ता उपलब्ध गराउनुपर्ने माग छ । महिनौँसम्म तलब नपाउँदा पटक–पटक नगरपालिकाको ध्यानाकर्षण गराए पनि समस्या समाधान नभएको शिक्षकहरूको भनाइ छ ।

अध्यक्ष ओलीका अनुसार तलब निकासाको विषयमा पटक–पटक मौखिक तथा लिखित रूपमा नगरपालिकालाई जानकारी गराइएको थियो । उनका अनुसार अन्तिम पटक गत भदौ १३ गते पनि नगरपालिकालाई ज्ञापनपत्र बुझाइएको थियो । त्यसपछि पनि माग सम्बोधन नभएपछि नगर करार शिक्षकहरूको भेलाले आन्दोलनमा जाने निर्णय गरेको हो । आन्दोलनको पहिलो चरणअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा जानकारीसहितको ध्यानाकर्षण पत्र बुझाइएको छ भने नगरपालिकाको कार्यालयमा विरोध तथा धर्ना कार्यक्रमसमेत गरिएको छ ।

अध्यक्ष ओलीले भने, ‘नेपाल सरकारले शिक्षकहरूलाई मासिक रूपमा तलब उपलब्ध गराउने नीति अघि सारेको अवस्थामा स्थानीय तहअन्तर्गत कार्यरत नगर करार शिक्षकले भने सात महिनासम्म पारिश्रमिक नपाउनु गम्भीर समस्या हो ।’ उनका अनुसार शिक्षकहरू नियमित रूपमा विद्यालयमा पुगेर अध्यापन गराइरहेका छन् । तर काम गरेबापत पाउनुपर्ने पारिश्रमिक लामो समयसम्म रोकिँदा शिक्षकहरू आर्थिक समस्यामा परेका छन् । ‘महिनौँसम्म तलब नपाएर पनि हामी विद्यालयमा नियमित रूपमा काम गरिरहेका छौँ । तलबको विषयमा पटक–पटक नगरपालिकाको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएन,’ उनले भने, ‘रोकिएको तलब निकासासँगै पारिश्रमिकलाई समयअनुकूल बनाइनुपर्छ । साविकको तलब स्केल लामो समयदेखि परिमार्जन नभएकाले त्यसलाई समयअनुकूल वृद्धि गर्न आवश्यक छ ।’

त्यस्तै, नगर करार शिक्षकलाई पोशाक भत्ताको व्यवस्था गर्नुपर्ने माग छ । मुसिकोट नगरपालिकामा ८५ जना आधारभूत तथा माध्यमिक तहका नगर करार शिक्षक कार्यरत रहेको समितिले जनाएको छ । यी शिक्षकको तलब व्यवस्थापनका लागि आवश्यक स्रोत जुटाउन नगरपालिकालाई कठिनाइ भइरहेको नगरपालिकाको भनाइ छ । नगरपालिकाका प्रवक्ता समिरजंग मल्लले नगर करार शिक्षकहरूले उठाएका माग समयसापेक्ष रहेको बताएका छन् । तर नगरपालिकाको आन्तरिक स्रोत कमजोर रहेकाले नियमित रूपमा तलब व्यवस्थापन गर्न कठिनाइ भइरहेको उनको भनाइ छ । उनका अनुसार तलब वृद्धि गर्ने विषय कार्यपालिकाको बैठकबाट निर्णय गर्नुपर्नेछ ।

तत्काल कार्यपालिका बैठक बस्न सक्ने अवस्था नरहेकाले तलब स्केल वृद्धिको विषयमा अहिले नै निर्णय गर्न नसकिने नगरपालिकाले जनाएको छ । प्रवक्ता मल्लका अनुसार नगरपालिकासँग पर्याप्त आन्तरिक स्रोत नहुँदा शिक्षकहरूको तलबलगायतका दायित्व नियमित रूपमा व्यवस्थापन गर्न समस्या भएको हो । नगरपालिकाले शिक्षकहरूको तलब व्यवस्थापनका लागि पहल गर्ने बताए पनि शिक्षकहरूले भने आश्वासनभन्दा तत्काल पारिश्रमिक निकासालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शिक्षक समितिले यी माग सम्बोधन नभएसम्म आन्दोलनलाई विभिन्न स्वरूपमा निरन्तरता दिने जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज १९ गते सोमबार